धाविका राईलाई विजनेस प्रेसिडेन्सियल स्कुलद्वारा मानार्थ विद्यावारिधि प्रदान

नेपालमा उकालीओराली दौड खेल (ट्रेल रनिङ) प्रवद्र्धन तथा सो खेलको अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त धाविका मीरा राईलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ । अमेरिकास्थित विश्वप्रसिद्ध विश्वविद्यालय प्रोभोस्ट वेस्टक्लिफ युनिभर्सिटिले धाविका राईलाई सो उपाधि प्रदान गरेको हो ।

काठमाडौंस्थित प्रेसिडेन्सियल विजनेस स्कुलद्वारा आज यहाँ आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सो विश्वविद्यालयका प्रा डा डेभिड मेकेनीले राईलाई संयुक्तरुपमा सो उपाधि प्रदान गरे ।



“मैले जीवनमा कति कोश दौडेँ, अझै कति दौडिनेछु । यो उपाधि पाउँला भन्ने साचेको थिइन् । उच्च शिक्षा अध्ययन गर्ने सपना सपना नै बन्यो । तर उपाधि पाएँ । योभन्दा अरु के खुशी हुन सक्छ”, उपाधि पाइसकेपछि उनले भनिन् । उनको थप भनाइ थियो, “जीवनदेखि हार मान्नु हुँदैन, केही गर्छु भन्ने आँट चाहिन्छ । म कक्षा ७ मा अध्ययन गर्दागर्दै विद्यालय छाड्नुपर्यो । जीवनदेखि हार नखाई अगाडि बढिरहेँ । अन्तरराष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान भएँ । अझै केही गरुँ जस्तो लागिरहेको छ ।”

सो अवसरमा उपराष्ट्रपति पुन र प्रा डा मेकेनीले अमेरिकाको सो विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको त्यस स्कुलबाट स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गरेका ९५ छात्रछात्रा दीक्षित गराउँदै प्रमाणपत्र प्रदान गरिएको थियो । स्कुलका निर्देशक लक्ष्मण केसीले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न आफ्नो स्कुलले पहिलो प्राथमिकता दिएको र आफ्ना उत्पादन बजारमा अब्बल रहेको दाबी गरे ।

प्रोभोस्ट बेस्टक्लिफ युनिभर्सिटिका प्राडा मेकेनीले बजारको आश्यकता र मागअनुसार आफ्नो विश्वविद्यालयले पठनपाठन गरिरहेको चर्चा गर्दै नेपाली छात्र÷छात्राको अध्ययन उत्कृष्ट रहेको छ भने । स्कुलका शैक्षिक कार्यक्रम निर्देशक कल्पना गुरुङले स्कुलमा सैद्धान्तिक तथा व्यावहारिक अध्ययन हुने बताए ।

सम्बन्धित समाचार