उधारो लिएको सामानको भुक्तानी माग्दा गोली ठोकियो : विज्ञप्ति

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले एक विज्ञप्ति प्रकाशन गरी ‘यही २०७६ कात्तिक ६ गते बिहान प्रदेश नं. २ को राजधानी जनकपुरस्थित मुख्य बजार क्षेत्रभित्र जनकपुरधाम उपमहानगरपालिका–१, मुजेलियामा शिव आयल स्टोरका सञ्चालक मनोज शाहको हत्याले सिङ्गो पेट्रोलियम क्षेत्रलाई स्तब्ध बनाएको छ । यस जघन्य हत्याकाण्डको एशोसिएशन घोर भत्सर्ना गर्दछ’ भनिएको छ । अगाडि भनिएको छ– ‘उधारोमा खरिद गरिएको पेट्रोलियम पदार्थको रकम भुक्तानीको माग गर्दा व्यवसायीमाथि नै गोली प्रहार गरी हत्या गर्नु अपराधिक प्रवृत्तिको उच्चतम नमूना हो ।’

चौविसै घण्टा सेवा गर्नुपर्ने पेट्रोलियम पदार्थजस्तो संवेदनशील वस्तुको कारोबारमा सुरक्षा चुनौती बढ्दै गएको उल्लेख गर्दै विज्ञप्तिमा यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गरिएको छ ।



नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले हालै वितरण गरिएको र महासचिव विश्वप्रसाद अर्यालको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा यस्ता अपराधिक र जघन्य कार्यबाट सम्पूर्ण निजी क्षेत्र नै त्रस्त बनेकोले नेपाल सरकार, प्रदेश सरकार, गृह मन्त्रालय तथा शान्ति सुरक्षासँग जोडिएका सबै निकायहरूलाई भविष्यमा यस्ता कार्य दोहोरिन नदिन गम्भीर भई कार्य गर्न ध्यानाकर्षण गर्दै प्रहरी नियन्त्रणमा रहेका अपराधी भनिएका व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गरिएको छ भने मृतक व्यवसायी मनोज शाहको आत्माको चिरशान्तिको कामनासमेत गरिएको छ ।

सम्बन्धित समाचार