हामी सुनको थाली बोकेर विदेशमा माग्न गइरहेका छौं: पुष्प व्यवसायी तामाङ

जन्मदेखि मृत्युपर्यन्त शुभ अशुभ सबै ठाउँमा चाहिन्छ फूल । फूललाई मन नपराउने मान्छेहरू सायदै होलान् । कामका लागि विदेशी जानुभन्दा नेपालमै बसेर केही गर्ने अठोट गरेर विगत एक दशकभन्दा बढी समयदेखि काठमाडौंमा फूल (पुष्प) व्यवसाय गरिरहेका छन् नुवाकोटका युवा राजु तामाङ । शिक्षाशास्त्र संकायमा स्नाकोत्तर र एलएलबीसमेत गरेका एक उदाहरणीय पात्र पुष्प व्यवसायी राजु तामाङसँग नवकान्तिपुर संवाददाताले गरेको पुष्प–संवाद:

तपाईले पुष्प व्यवसायमा कसरी प्रवेश गर्नुभयो ?
आजभन्दा १२ वर्ष पहिले मलाई पुष्प व्यवसाय गर्ने रूचि थियो । त्यो बेला रूचि भएकोले त्यही अनुसार काम गर्न थालें । तर पछि गएर यसैमा झनझन रूचि बढ्दै गयो र आफूलाई पनि केही व्यवसाय गरौं भन्ने लाग्यो । त्यसपछि मैले यसलाई नै व्यवसायका रूपमा गर्न थालेँ । र, आफैले पाँच लाख लगानी लगाएर व्यवसायिक रूपमा आरम्भ गरें ।



अहिले तपाईले यो व्यवसाय कति ठाउँमा विस्तार गर्नु भएको छ ?
मैले यो व्यवसाय शुरुमा कमलादीमा गरेको थिएँ । अहिले कमलादीलगायत पुल्चोक र महाराजगञ्जमा पनि गरेर यसका तीन ठाउँमा शाखाहरू रहेका छन् ।

तपाई फूलहरू कहाँबाट ल्याउनु हुन्छ ?
समर टाइममा आवश्यकताको लगभग सत्तरीदेखि असी प्रतिशत इण्डियाबाट नै हो ल्याउँछौं र बाँकी चाहिँ तेस्रो मुलुकबाट पनि ल्याउँछौं ।

अहिले कति जनाले रोजगार पाइरहेका छन् ?
यसमा आफ्नै घरपरिवारबाट पनि कतिजनाले सघाइरहनु भएको छ । त्यसैले सबै ठाउँमा समेत गरेर १४ जना जतिले रोजगार पाएका छन् ।

पुष्प व्यवसायको अहिले बजार कस्तो छ ?
पहिले पहिले मान्छेहरू फूल हो, के काम लाग्छ र ? भनेर यसलाई त्यति धेरै महत्व दिंदैनथे । तर अहिले आएर प्रायः अधिकांश मान्छेहरू ‘फूलले दिने आनन्द अरू वस्तुले दिन सक्तैन’ भन्न थालेका छन्, जसले गर्दा फूलको माग पनि बढ्दो छ ।

यो व्यवसायमा पहिले र अहिलेमा तपाई के फरक पाउनु हुन्छ ?
पहिले र अहिलेमा भन्ने हो भने त धेरै नै फरक छ । अहिले धेरै जसो मान्छेहरू देश विदेश पनि घुमफिर गर्ने भएकाले पनि फूलको महत्व बुझेका छन् । चेतनाको कमीले गर्दा पनि मान्छेहरू पहिले फूल व्यवसायमा खास्सै लगानी गर्दैनथे भने पछिल्लो समयमा यस व्यवसायमा पनि लगानी बढ्दो छ ।

व्यवसायबाट मासिक कति आम्दानी हुन्छ ?
मासिक यति नै भन्ने हुँदैन । सिजनअनुसार तलमाथि भइरहन्छ तर लगभग एक लाखसम्मको व्यापार हुन्छ । त्यसमा आफूलाई फाइदा हुने भनेको साठी हजार हो ।

त्यसो भए व्यवसायमा सन्तुष्ट नै हुनुहुन्छ ?
म एकदम सन्तुष्ट नै छु । यदि सन्तुष्ट हुँदैनथेँ भने यत्रो वर्ष यस व्यवसायमा टिकिरहन सकिँदैनथ्यो होला, विदेश गइँन्थ्यो होला वा नेपाल सरकारको जागिर खाइन्थ्यो होला ।

त्यसो भए तपाईलाई कहिले पनि विदेश गएर पैसा कमाउनु पर्छ भन्ने सोच आएन ?
म आफ्नो पढाइ सकेर जे गर्नु पर्छ नेपालमै गर्नु पर्छ भन्ने मानसिकताबाट प्रेरित भएर नै यस व्यवसायमा आएको हुँ । नत्र भने मैले २०६४ मा स्नाकोत्तर सकिसकेको थियो, त्यतिबेलादेखि नै राजनीतिमा लाग्न सक्थें होला वा अन्य विकल्पमा लाग्थें होला । अर्थात् विदेशमा गएरै भए पनि पैसा कमाउन सक्थें होला । तर मलाई विदेश जाने सोच कहिले पनि आएन ।

पुष्प व्यवसाय सञ्चालन गर्नको लागि अहिले तपाई कस्तो वातावरण देख्नु हुन्छ ?
व्यवसाय सञ्चालनको लागि आन्तरिक वातावरण त केही गाह्रो नै छ । तर वाह्य वातावरण भने सहज नै छ । व्यवसाय पनि जसरी देशको परिस्थिति चल्छ त्यसरी नै चल्छ भनौं ।

तपाईले अहिले गरिहनु भएको यो व्यवसायलाई कुन रूपमा विस्तार गर्ने सोच बनाउनुभएको छ ?
अवश्य पनि मैले यसलाई बढाउँने नै सोच बनाएको छु । यसलाई एउटा ब्राण्डको हिसाबले नै खडा गर्ने सोच बनाएको छु । सधैं एउटै प्रकारको काम गरेर त्यही अवस्थामा बसिरहनु हुँदैन । यसलाई समय र परिस्थितिअनुसार परिर्वतन गर्दै लैजानु पर्छ । देश विदेशमा कस्तो कस्तो विकास भइसकेको छ भनेर त्यसलाई आत्मसात गर्न सकेनौं भने हामी पेसाबाट पलायन हुन सक्छौं । त्यसैले समय अनुसार आफ्नो व्यवसायलाई पनि विकासित गर्दै लैजानु पर्छ र गर्छु पनि ।

यो व्यवसायमा लागिसकेपछि तपाईलाई कहिलेकाहीं यो पेशा छोडेर अर्को पेशातिर लागौं कि भन्ने कहिल्यै लागेन ?
अहँ, मलाई त्यस्तो कहिले पनि लागेन । व्यवसायमा घाटा लाग्यो भने पनि उकास्न सकिन्छ तर घाटा लाग्यो भनेर व्यवसाय नै छोडेर अर्को व्यवसाय गर्न लाग्यो भने त जिरोबाट शुरुवात गर्नु पर्छ । त्यो भनेको समय बर्बाद गर्नु हो र दशवर्ष पछाडि फर्किनु हो । त्यसैले भएको व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ ? त्यतातिर ध्यान केन्द्रित गर्नुपर्छ । व्यापारमा घाटा लागेमा नीति परिर्वतन गर्न सकिन्छ तर व्यवसाय नै परिर्वतन गर्ने होइन ।

पुष्प व्यवसायिहरूका लागि पुष्प व्यवसायीहरूको छाता संस्था ‘फ्लोरिकल्चर एशोसिएशन नेपाल’ ले के कस्तो कार्य गरिरहेको छ ?
फ्लोरिकल्चर एशोसिएशन नेपाल व्यवसायहरूको हक हितका लागि नै कामहरू गरिहेको करिब पच्चीस वर्ष भयो । अहिले पनि लगातार व्यवसायहरूको हक हितका लागि लागिपरेको छ । यदि कुनै पनि व्यक्ति कुनै पनि व्यवसाय गर्छु भनेर आउँछ भने उनीहरूलाई त्यो व्यवसायसँग सम्बन्धित ज्ञान दिने नै हो । त्यसपछि उनीहरूले कसरी गर्न व्यवसाय सञ्चालन गर्छन्, त्यही अनुसार संगठनले सहयोग गर्छ । त्यति मात्र नभएर नेपाल सरकारबाट प्राप्त हुने अनुदानहरूको विषयमा पनि एशोसिएशनबाट लबिङ गरेर व्यवसायमा लगानी गरिरहेका छौं । यसले सिटिइभिटिसँग सहकार्य गरेर विभिन्न तालिमहरू पनि दिने गरिएकोे छ । व्यवसायीलाई आएको समस्यामा संगठनले दिनरात नभनेर सहयोग गरिरहेको छ ।

पुष्प व्यवसायमा समस्याहरू के देख्नु हुन्छ ? साथै यसमा सरकारको तर्फ व्यवसायिहरूको के अपेक्षा छ ?
सरकारबाट हामीले अपेक्षा गर्ने भनेको प्रविधिको हो । प्रविधिको सर्पोट हामीले पाएपछि भनेको आर्थिक पाटोको कुरा हो । त्यो भनेको सरकारले व्यवसाय गरिरहेका व्यवसायीहरूलाई सर्वसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्छ ।

कतिपय युवायुवतीहरू आफ्नो देशमा केही गर्दैन् तर विदेशमा गएर जे काम नी गर्छन् भन्ने सुनिन्छ नि । उनीहरूलाई के भन्न चाहानु हुन्छ ?
खासमा यो एकदम नकारात्मक पक्ष हो । यसमा अभिभावकहरूले नै आफ्ना छोराछोरीहरूलाई सकरात्मक रूपमा सचेत बनाउनु पर्छ । त्यसपछि भनेको सबैले कामको सम्मान गर्नु पर्छ । नेपालमा कामलाई सानो ठूलो भनेर हेर्ने गरिन्छ, यो गलत हो । विदेश जानेहरू कतिपय त रमाइलोका लागि पनि जाने गर्छन् भने कतिपय राम्रोसँग पढाइ गर्न र कमाउन पनि गएका हुन्छन् । तसर्थ विदेशमा पढेर सिकेर आफ्नै देशमा आफूले आर्जन गरेकोे ज्ञान र सिपको सदुपयोग गर्नु राम्रो हो । आफूसँग भएको सिपलाई विदेशमा भन्दा पनि नेपालमा प्रयोग गर्नु पर्छ । एक जनाले त्यस्तो कामको आरम्भ गर्दा कम्तीमा दुई जनाले भए पनि रोजगारी पाउँछन् र बाहिर विदेशतिर जाने अवस्था पनि रहँदैन । विदेशतिर जाने भनेको गालामा रगत र पाखुरामा तागत हुँदासम्म मात्रै हो । त्यही भएर पनि जे काम गरे नि नेपालमै गर्दा राम्रो हुन्छ । अहिले हामीे अरूले मारिदिएको माछा खान्छौं, तर आफैं माछा मार्न सिक्दैनौं । यस्तो खालको गलत प्रवृतिलाई त्याग्नु पर्छ ।

सरकारले पनि युवाहरूलाई रोजगारी दिनेखालको नीति ल्याउनु पर्छ र युवाहरूले पनि विदेशमा गएर मात्र बढी पैसा कमाउन सकिन्छ भन्ने सोच त्याग्नु पर्छ । युवाहरूलाई विदेश जानबाट रोक्नु पर्छ भन्ने मेरो मान्यता हो । वास्तवमा भन्ने हो भने हामी सुनको थाली लिएर मागिरहेका छौं । सुनको थाली लिएर विदेशमा माग्न जाँदै छौं । स्वदेशमा गर्ने हो भने यहाँ के हुँदैनर ? असम्भव भन्ने कुरा नै केही छैन । यहाँ जे पनि गर्न सकिन्छ । हामीसँग सबै कुराहरू छन् । प्राकृतिक रूपमा पनि भरिपूर्ण छौं ।
त्यसैले नेपालमा बसेर केही पनि हुँदैन भन्ने मानसिकता हटाउनु पर्छ । अर्को कुरा भनेको चुनौतीहरूसँग भाग्नु पनि हँुदैन बरू त्यसको सामना गर्न सिक्नु पर्छ । चुनौतीहरूको सामना गर्न सके पो मज्जा आउँछ । आज हामीले व्यवसाय राम्रोसँग अघि बढाउन सक्यौ भने पछिल्लो पुस्ताले जिरोबाट शुरूवात गर्नु पर्दैन ।

अन्तमा पुष्प व्यवसाय गर्न चाहानेहरूका लागि तपाई के भन्न चाहनु हुन्छ ?
यो व्यवसाय भनेको धेरै लगानी लगाउनु पर्ने व्यवसाय पनि होइन । त्यस्तो गाह्रो काम पनि होइन । फूल भनेको त फेरि मान्छे जन्मदिन मृत्युर्पन्तसम्म शुभ अशुभ सबै कार्यका लागि चाहिने वस्तु हो । बिहान–बिहानै फूल हेर्न पाउँदाको आनन्द बेग्लै हुन्छ । तर पनि यो व्यवसायमा चुनौती भने नभएको होइन । शुरुमा आफू के गर्ने भन्ने कुरा टुङगो लगाउनु पर्छ अनि त्यही अनुसारको विज्ञ अर्थात् जाने बुझेकाहरूसँग राय–सल्लाह लिनु पर्छ । त्यसपछि बजारको सम्भावना पनि हेर्नु पर्छ । यति बुझेर व्यवसाय आरम्भ गर्ने हो भने असफल हुने सम्भावना नै रहँदैन ।

सम्बन्धित समाचार