पुल्चोक क्याम्पसलाई सेनाको हेलिकोप्टर ‘उपहार’

नेपाली सेनाले सर्भिस लाईफ पूरा भएको एउटा हेलिकोप्टर पुल्चोक इन्जिनियरिङ क्याम्पसलाई हस्तान्तरण गरेको छ ।

सेनाले अलाउटे–३ नामक हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरेको हो । प्रयोगको अवधि पूरा भएको उक्त हेलिकोप्टर अब क्याम्पसका विद्यार्थीको अध्ययन प्रयोजनमा प्रयोग गरिने छ ।



पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपालमै पहिलोपटक एरोस्पेस इन्जिनियरिङ अध्ययन शुरु भएकोमा त्यसको व्यवहारिक ज्ञानका लागि उक्त हेलिकोप्टर क्याम्पसलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । सेनाले हेलिकोप्टरसँगै त्यससँग सम्बन्धित विभिन्न पाट–पूर्जाहरु समेत प्रदान गरेको छ ।

रक्षा मन्त्रालयबाट प्राप्त स्वीकृतिका आधारमा नेपाली सेनाका संभाररथी उपरथी प्रभुराम शर्माले बुधबार क्याम्पसलाई हेलिकोप्टर हस्तान्तरण गरेका हुन् ।

सेनाले २३ जेठ २०४७ बाट उक्त हेलिकोप्टर सञ्चालनमा ल्याएको थियो हेलिकोप्टरले ४ हजार १ सय २१ घण्टा उडान गरेको थियो भने ९ हजार ७ सय ५२ पटक ल्याण्डिङ गरेको थियो । हेलिकोप्टरको अन्तिम उडान २ चैत २०७५ मा भएको थियो ।

सम्बन्धित समाचार