नेपालमा सडक दुर्घटना र रोकथामका उपायहरू

सडक यातायात नेपालीहरूको अपरिहार्य माध्यम हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको खासै विस्तार भइनसकेको र हवाई मार्ग अधिकांश नेपालीको क्षमता र पहुँचबाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो र अनिवार्य यात्राको माध्यम रहिआएको छ । तर दिनप्रतिदिन सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष नागरिकले अकाल मृत्युवरण गर्नु परेको छ । कति अपांङ्ग भएर बाँच्न बाध्य छन्, धनको क्षति त्यत्तिकै छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठूलो क्षति भइरहेको छ ।

नेपालमा घटेका दुर्घटना अनगिन्ति छन् । केही घटेका दुर्घट्नाहरूको उल्लेख गर्नु पर्दा गएको कात्तिक १७ गते दिउँसो १ः०० बजेतिर सुकुटे र त्यसपछि साँझ पख म्याग्दीमा बस दुर्घटना भएको थियो । सुकुटेमा भएको बस दुर्घटनामा १७ जनाको मृत्य भएको थियो भने म्याग्दीमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । त्यसैगरी दर्जनौं घाइते भएका थिए । वर्षेनी यस किसिमका दुर्घटना सधैँ भैरहने गरेका छन् । गुल्मीबाट हिंडेको यात्रुबाहक जीप बागलुङ जिल्लाको बडीगाड गाउँपालिकामा मंसिर १७ गते दुर्घट्ना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । जीपमा चढेका यात्रुहरू कुलपूजाको लागि बागलुङको निसीखोलातिर गइरहेको बताइएको थियो । यसरी नै मंसिर २९, २०७६ मा सिन्धुपाल्चोकमा भएको बस दुर्घट्नामा १५ जनाले ज्यान गुमाएका थिए । उक्त बस कालिन्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कदै गर्दा बिहान ८ः१५ बजे दुर्घट्ना भएको थियो । बस सडकबाट अन्दाजी ५०० मिटर तल खसेको थियो ।



वर्ष ०७२ असोजदेखि मंसिरसम्मकै मात्र कुरा गर्ने हो भने सडक दुर्घटनाकै कारण यसअवधिमा करिव ३ सयभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएका छन् । ठूला दुर्घटनालाई सर्सती हेर्दा ०७२ असोज २० गते डोटीमा बस दुर्घटना भयो । यसमा ३० जना यात्रीको दुःखद निधन भएको थियो । असोज २३ गते नुवाकोटमा भएको बस दुर्घटनामा १८ जनाको ज्यान गयो । असोज २७ गते बबरमहलमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भयो । त्यस्तै ०७२ कै कार्तिक १० गते ओखलढुङ्गामा जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो । कार्तिक १६ गते मकवानपुरको शान्तिपुरमा भएको बस दुर्घटनामा १० र १८ गते मकवानपुरमै ट्रक दुर्घटनामा ७ जनाको मृत्यु भयो । मंसिर ४ गते जाजरकोटमा भएको बस दुर्घटनामा पनि ठूलो मानवीय क्षति भयो । यहाँ करिब ५० जना मानिसको ज्यान गएको थियो । मंसिर ५ गते खोटाङ्गमा भएको अर्को दुर्घटनामा ७ जनाको मृत्यु भयो । ०७३ साउन ३१ मा काभ्रे जिल्लाको विर्तादेउरालीमा भएको बस दुर्घटनालाई पनि भुल्न सकिंदैन । सडकबाट १५० मिटर तल बस खसेर भएको यो दुर्घटनामा २७ जनाको निधन भएको थियो भने ४० भन्दा धेरै घाइते भएका थिए । सोही दिन बैतडीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो ।

अस्ति मात्रै दुईवटा बस दुर्घट्ना भयो । भलै मानिस मरेनन् तर घाइते भए । त्यस्तै टिपरको ठक्करबाट २ जनाको मृत्यु भयो । यो टिपर आतंकले पनि गर्नुगरेको छ । कहिले दुध बेच्न हिंड्दै गरेको महिलालाई हानेर मान्छे मारेको हुन्छ भने कहिले मोटरसाइकललाई ठक्कर दिन्छ, कहिले बाटोमा हिंड्दै गरेको पैदल यात्रुलाई । तर सरकारले वा सम्बन्धित सरोकारवालाहरूले यसलाई रोक्न कुनै ठोस कदम चालेको पाइँदैन । हिजै सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा जीप दुर्घट्ना हुँदा तीन जनाको मृत्यु भयो । हिजो मात्र गोरखामा जीप दुर्घट्ना हुँदा वडा सचिवको मृत्यु भयो भने अन्य सात जना गम्भीर घाइते भए । यस्ता दुर्घटनाको श्रृङ्खला त अनगिन्ती छन् ।

यस किसिमका दुर्घट्नाका खबरहरू हामीले सञ्चार माध्यममा र टेलिभिजनमा दैनिक जसो पढ्ने र सुन्ने गर्दछौं । दैनिक जसो धेरै मानिस ज्यान गुमाउन बाध्य छन्, कैयौं घाइते जीवन बिताउन बाध्य छन् भने अरू कैयौं अंगभंग भएर जीवनभर कष्टमय जीवन बिताउन बाध्य छन् । यो कष्ट जो दुर्घटनामा प¥यो उसमाथि त छँदैछ, यतिमात्र नभएर उसका परिवार र उमाथि निर्भर रहने सबैले भोग्नुपर्दछ । नेपालमा वर्षेनी हजारौं मानिसहरूले बस दुर्घटना, मोटरसाइकल÷स्कुटर दुर्घटना, पैदल यात्रु दुर्घटना आदिले ज्यान गुमाउने गरेको तथ्य हाम्रो सामु छर्लङ्ग छ ।

हामीलाई थाहा भएकै कुरा हो, मानिसको जीवन अमूल्य छ । विज्ञानका अनुसार त यो एकचोटी मात्र पाइएको हो तर आध्यात्मलाई विश्वास गर्ने हो भने पनि ८४ लाख योनीपछि मानव जीवनको चोला पाइएको हो । यो अमूल्य जीवनलाई अरूको हेलचेक्र्याइँ वा गल्तीको कारणले गुमाउनु राम्रो होइन ।

दुर्घटनाका कारणहरू

नेपालमा दैनिक सडक दुर्घटनामा ८ जनाको ज्यान जाने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने दुर्घटनाबाट मर्ने मानिसहरूको संख्या वर्षेनी बढिरहेको छ । यदि दुर्घटनाको कारणहरूलाई केलाउने हो भने दुरावस्थामा रहेका सडक, सम्बन्धित निकायहरूबाट सडक नियमको कडा रूपमा पालना नगराउनु, नियमहरू बनाए पनि समयसापेक्ष रूपमा कार्यान्वयन नगराउनुु र कानुनको अनुगमन नहुनु’ आदि हुन् । भवितव्य अर्थात् मानिसको पहुँच र सामथ्र्यभन्दा बाहिरको अवस्थाका कारण हुने दुर्घटनाको सूची पनि लामै छ । तर यी सबैभन्दा सर्वोपरि कारण चाहिं लापरवाही र हेलचेक्र्याइँलाई कसैले पनि नकार्न सक्दैन । मदिरा सेवन गरेर सवारी चलाउने, मनोवैज्ञानिक रूपमा स्वस्थ नहुने, सवारी साधन पुरानो हुने, चालकले आफ्नो जिम्मेवारीलाई हल्का रूपमा लिनु, यान्त्रिक गडबडीलाई नजरअन्दाज गर्नु आदि पनि सवारी साधनको दुर्घटनाका कारणहरू हुन् ।

चालकको समाजमा प्रतिष्ठित पहिचान नभए पनि उनीहरूको उत्तरदायित्व र जिम्मेवारीको कुरा गर्ने हो भने उनीहरू ५०–६० जनाको जीवनलाई हातको स्टेरिङमा लिएर हिँडिरहेका हुन्छन् । धेरै मानिसहरूको जीवन उनीहरूको स्टेरिङमा हुन्छ । उनीहरूको सानो लापरवाही वा मनोवैज्ञानिक कमजोरी वा हेलचेक्र्याईले ५०–६० जनाको जीवन क्षणभरमै खतम हुन सक्छ । त्यसकारण चालकहरूलाई उनीहरूको जिम्मेवारी बोध गराउने खालका सचेतनामूलक कार्यक्रम संचालन गर्नु आवश्यक छ । साथसाथै उनीहरूलाई बेलाबेलामा आवश्यक परामर्श पनि दिनुपर्दछ ।

एउटै रूटका अर्को गाडीलाई उछिन्ने प्रवृत्ति, यात्रु लिनलाई अर्को गाडीलाई ओभरटेक गर्ने प्रवृत्ति, ब्रेक तथा अन्य यान्त्रिक गडबडीको जाँच नगरिनु, क्षमताभन्दा बढी यात्रुहरू गुन्द्रुक खाँदे झैं खादेर राख्नु, मदिरा सेवन जस्ता केही कारणहरूलाई नियन्त्रण गर्न सकिन्छ । मलाई लाग्दछ ८० प्रतिशत दुर्घटना यस्तै कारणले भएका हुन्छन् । २० प्रतिशत दुर्घटना मात्रै भवितव्य र मानिसको नियन्त्रणभन्दा बाहिरका हुन्छन् । यसको नियन्त्रणको लागि सरकार, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूको ध्यान जानु अत्यावश्यक छ ।

रूट सिण्डिकेटलाई तोडन नसक्दा नयाँ र सुविधा सम्पन्न गाडीको उपयोगबाट यात्रु वञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । पहाडी रूटमा गाडी चलाउन चालकलाई बढी अनुभवको आवश्यकता पर्छ । यसैगरी चालकले मादक पदार्थ सेवन गरी गाडी चलाउने कारण धेरै दुर्घटना भएका छन् । विश्वव्यापी सडक दुर्घटनाको अनुपातलाई हेर्ने हो भने नेपाल घातक सडक दुर्घटना हुने मुलुकमध्ये पर्छ । विकसित मुलुकको तुलनामा नेपालमा सयौँ गुणा दुर्घटना हुन्छन् ।

सडकको स्तरोन्नति नहुनु, सवारी चालकहरू कर्तव्यनिष्ठ नहुनु, सम्बन्धित निकायहरू कडा रूपमा प्रस्तुत नहुनु , सर्वसाधारणमा चेतनाको स्तर कमी हुनु र भए पनि बेवास्ता गर्ने प्रवृत्तिले गर्दा यस्ता घटनाहरू बारम्बार हामीले सुन्नु वा भोग्नु परिरहेछ । यसको दीर्घकालीन रूपमा निराकरणका उपायहरू अपनाउन सबै सजक र जागरूक हुन जरूरी छ ।

सडक दुर्घटनाको प्रमुख कारकमा सडकको संरचना पनि हो । कच्ची बाटोमा हुनुपर्ने जति चौडाइ नहुने, घुम्तीमा मोड सानो बनाइने, बाटोको छेउमा सुरक्षा खम्बा नराखिने आदिका कारण दुर्घटना भयानक बनेको छ । यसैगरी थोत्रा गाडी ग्रामीण क्षेत्रमा कुदाउन अनुमति दिनुले सवारी दुर्घटनामा वृद्धि भएको हो । खासगरी कच्ची सडक र पहाडी बाटोमा भएको सवारी दुर्घटनाहरू बढी क्षतिजन्य बन्दै आएका छन् ।

यातायात श्रमिक (चालक) ले तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिस्पधा गर्र्ने, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयाँ र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठूला सवारी चलाउने, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुने आदि पनि दुर्घटनाका कारणहरू हुन् ।

पुराना र पाका चालकहरू सुरक्षित भविष्य र राम्रो ज्यालाको खोजीमा खाडी मुलुकतर्फ लागेर जाने गरेको पाइएको छ । अहिले नयाँ चालकहरूको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरू प्रायः युवा भएकाले पनि दुर्घटना बढेको छ ।

सार्वजनिक यातायात सेवामा निजी लगानीका कारण सेवामुखीभन्दा नाफामुखी भएको छ । धेरै कमाउन क्षमताभन्दा बढी यात्रु चढाउने, प्राविधिक तथा यान्त्रिक रूपमा ठीक नभएका सवारी मर्मत नगरी गुडाउने, मिस्त्रीले सामान फेर्न सल्लाह दिए पनि जबरजस्ती त्यस्तै अवस्थामा चलाउने, कलेक्शन (पैसा) थोरै हुँदा रिसाउने, सेवामुखी समयसारिणी बनाउनुभन्दा पैसामुखी, सेवाभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित हँुदै कमाउ मानसिकताका कारण सडक दुर्घटना निम्तिएका हुन् ।

चार पाङग्रे हुन् वा दुई पाङ्ग्रे, भएभरका सबै सवारी साधनले प्रयोग गर्ने सडक नै हो । सडक साझा सम्पति हो तर त्यसलाई प्रयोग गर्नेहरूले कहिलेकाहीं त्यो कुरा बिर्सने गरेका छन् । आफुलाई सहज खोज्दै अरूको सडक प्रयोग गर्ने अधिकारलाई हनन् गर्ने गर्दछन्, जसको कारणले पनि दुर्घटना हुने गरेको छ ।

यात्रु पनि झुण्डिएर, कोचिएर, हुडमा चढेर यात्रा गर्नुहुँदैन भन्ने चेतना नहुनु, आफुलाई सहज हुनेगरी घरकै छेउमा, भनेकै ठाउँमा, भन्ने बित्तिकै सवारी रोक्न लगाउन चालकलाई दबाब दिनु हुँदैन भन्ने चेतना नहुनु दुर्घटनाका अरू कारणहरू हुन् । कसरी सडक पार गर्ने भन्ने चेतना नहुनु, कुदिरहेको सवारीलाई रोक्न कति लामो ठाउँ चाहिन्छ भन्ने नबुझी अटेर गरी सडक पार गर्न खोज्नु, यान्त्रिक गडबडी हुँदा तत्काल ब्रेक लाग्दैन भन्ने नबुझ्नु, फुटपाथमा हिड्नु पर्छ, सडक मोटर गुड्ने ठाउँ हो भन्ने नबुझ्नु पाि दुर्घटनाका कारणहरू हुन् ।

अर्कोतर्फ जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यवहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठूला सवारी साधनहरू थोरै आयातले यात्रुहरूले कोचिएर यात्रा गर्नु पर्ने अवस्था भयो । निजी सवारी साधनहरू मोटरसाइकल तथा कारहरू अनियन्त्रित रूपमा भित्रिनाले सडकमा भीड सिर्जना भयो र दुर्घटनाको सम्भावना बढ्दै गयो ।

प्रहरीको अभिलेख अनुसार आ.व. २०७३–७४ मा दुई हजार ३८४ (दैनिक औसत ६.५३) जनाले ज्यान गुमाएका थिए । त्यस्तै आव २०७४–७५ मा सवारी दुर्घट्नाका कारण दुई हजार ५४१ (दैनिक औसत ६.९६) जना र आव २०७५–७६ मा त्यो संख्या बढेर दुई हजार ७८९ (औसत ७.६४) पुग्यो । यसमा चार हजार भन्दा बढी घाइते भएका छन् ।

सडक दुर्घट्नाको हवाई दुर्घटना जस्तो अनुसन्धान हुँदैन र भइहाले पनि विज्ञहरू राखेर हुँदैन । हवाई दुर्घट्ना हुँदा त्यसले सबैको ध्यान आकृष्ट गरेको हुन्छ र विभिन्न समिति गठन गरेर जाँच पड्ताल गर्ने काम हुन्छ । तर सडक दुर्घट्नालाई राज्यले पनि त्यति प्राथमिकतामा राखेको देखिँदैन । सरकारले पनि सडक दुर्घट्नामा पनि गम्भीर भएर यसलाई रोक्न आवश्यक कदम चाल्नु जरूरी छ । मानिसको ज्यानको मूल्य त उही हो, हवाई दुर्घट्नामा मारिनेको मूल्य बढी र सडक दुर्घट्नामा मारिने मानिसको जीवन मूल्य कम भनेर भन्न त कदापि मिल्दैन ।

दुर्घट्ना कम गर्न तल उल्लेख गरिएका केही उपायहरू अपनाउनु उचित हुन्छ ।
– सवारी साधनको जाँच तथा गति नाप्ने (स्पीड कन्ट्रोलर) उपकरणको व्यवस्था गर्नुपर्दछ ।
– सवारी साधनहरूमा पहेंलो उज्यालो रंगको प्रयोगलाई प्रोत्साहित गर्नुपर्दछ ।
– पहाडी क्षेत्रका साँघुरा तथा कच्ची सडकमा तीनवटा साफ्टा भएका लामा सवारी साधन सञ्चालनमा रोक लगाउनु पर्दछ । फोर ह्विल अनिवार्य गरिनु पर्दछ ।
– सवारी साधनको अवस्थाको जाँच भेहिकल फिटनेस केन्द्रहरू स्थापना गरिनु पर्दछ ।
– रूट तथा सवारी क्षमता अनुसार सञ्चालन अनुमति दिइनुपर्दछ ।
– सडकको लगत राखी प्राविधिक परिक्षण गरिनु पर्दछ ।
– सडकको प्राविधिक परिक्षण नगरी सवारी सञ्चालनको अनुमति दिइनु हुन्न ।
– सडक विस्तार कार्य तीव्र बनाइनु पर्दछ । सडकलाई बलियो र फराकिलो बनाउनु पर्छ ।
– पैदल यात्री तथा दुई पाङग्रे सवारीका लागि छुट्टै सडक लेन बनाउनु पर्छ ।
– हाई–वे भनिएका सडकलाई हाई–वेको मापदण्ड अनुसार तत्काल व्यवस्थित गरिनु पर्छ ।
– सडक आसपासका घुम्तीहरू, ढाटहरू, जिकज्याकहरू हटाइनु पर्दछ ।
– सवारी संचालनका लागि आवश्यक सबै पूर्वाधार भएपछि मात्र सडक खुल्ला गरिनु पर्दछ ।
– सवारी चालक अनुमति पत्र लिनु अघि वा लिइसकेपछि सिटिईभिटि वा नेपाल सरकारको मान्यता प्राप्त संस्थाबाट तालिम लिनु पर्ने र त्यस्ता तालिम लिएपछि मात्र व्यवसायिक रूपमा सवारी चलाउन योग्य मानिने व्यवस्था गरिनु पर्छ ।

सम्बन्धित समाचार