मेलम्चीको पानी मुख्य सुरुङमा पठाइयो, ९५ प्रतिशत काम सम्पन्न

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमबार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड ५०० लीटर पानी पठाएर गरिएको परीक्षण सफल भएको आयोजनाले बताएको छ ।

आयोजना निर्माणको काम अन्तिम चरणमा पुग्दै गर्दा त्यहाँ भएका विभिन्न संरचनाको परीक्षण भइरहेको आयोजनाले बताएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले सुरुङ परीक्षण गर्दा कतै पनि समस्या नदेखिएको बताए । ‘अब अन्य अडिटमार्ग पनि हामी परीक्षण गर्छौं,’ उनले भने, ‘हालसम्म आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।’



आयोजनाको बाँधस्थलदेखि काठमाडौंको सुन्दरीजलसम्म २६ किमी सुरुङ रहेको छ । अब आयोजनामा चारओटा अडिटमार्गमा गेट र सुरुङभित्र भेन्टिलेशनको काम मात्रै बाँकी छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार