महरालाई अर्को झड्का, यौन दुर्व्यवहारको मुद्दा उच्च अदालतमा लैजाने तयारी

आफ्नै सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको अभियोग लगाएपछि कृष्णबहादुर महराको हुँदाखाँदाको सभामुख पद मात्रै गएन, जीवनभर पौरख गरेर उचालेको राजनीतिक उचाइसमेत गर्ल्यामगुर्लुम ढल्यो ।

पुर्पक्षका लागि डिल्लीबजार कारागारमा केही महिना गुजारेका महरालाई काठमाडौं जिल्ला अदालतको आदेशले राहत मिलेको छ । जिल्ला अदालतको फैसलाबाट सफाइ पाएका महरा उत्साहित भए पनि उनी अहिलेसम्म संसद् गएका छैनन् । बरु उनी श्रीमतीसहित आफ्नो निर्वाचन क्षेत्रको दौडाहामा छन् ।



निर्वाचन क्षेत्रका मतदातामाझ उभिएर महराले भनिरहेका छन्, ‘काठमाडौं जिल्ला अदालतले गरेको फैसला मेरो नभएर जनताको जीत हो ।’ महरा जिल्ला अदालतको फैसलाबाट बढी नै उत्साहित छन् भन्ने उनका पछिल्ला अभिव्यक्तिले प्रष्ट हुन्छ । तर, महराको राजनीतिक स्थान के हुने भन्नेबारे भने अझै अन्योल छ ।

अभियोग लागेलगत्तै राजीनामा दिन निर्देशन दिएको नेकपाले महरा प्रकरणमा अहिलेसम्म मुख खोलेको छैन । त्यसैले महराको राजनीतिक स्पेसबारे अझै पनि अन्योल नै छ ।

त्योभन्दा पनि अर्को गम्भीर मामिला के छ भने महराले अझै कानुनी लडाइँ लड्नुपर्ने देखिएको छ । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतले पूर्ण सफाइ दिए पनि यो प्रकरण पुनरावेदन गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार महराको अन्तिम फैसला अझै तयार भएको छैन ।

अबको केही दिनमै अन्तिम फैसला तयार हुँदै छ । जिल्लाको अन्तिम फैसला तयारीपछि ३५ दिनभित्र सरकारवादी मुद्दा पुनरावेदन गर्ने प्रचलन छ । अभियोग लगाउने महिलाले बोली फेरेकाले यो मामिला यहीँ सुल्झने कतिपयको अनुमान छ ।

तर महराले जिल्लाबाटै पूर्ण सफाइ पाउने सम्भावना छैन । स्रोतका अनुसार ३५ दिनपछि महरासँग जोडिएको मुद्दा उच्च अदालत पाटनमा लैजाने मनस्थितिमा सरकारी वकिल रहेका छन् भनेर साँघु साप्ताहिकमा खबर छ ।

सम्बन्धित समाचार