विश्वविद्यालयका सबै परीक्षा र कक्षा स्थगित गर्न निर्देशन

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित गर्नुका साथै नियमित कक्षा पनि बन्द गर्न निर्देशन दिएको छ ।

समितिले चैत ६ बिहीबारबाटै लागू हुने गरी विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित तथा नियमित कक्षा बन्द गर्न निर्देशन दिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । ‘चैतभर नियमित कक्षा बन्द गर्न निर्देशन दिएको छ,’ उनले भने, ‘तर परीक्षा स्थगित गर्ने वा नगर्ने भन्ने विषयमा भने विश्वविद्यालयले निर्णय गर्ने छ ।’



शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले चैतमा सञ्चालन हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय भएको बताए । उनले भने, ‘समितिको निर्देशनअनुसार नै सरकारले विश्वविद्यालयका चैतमा हुने तालिका रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।’

कक्षा ११ र १२ को परीक्षा आउन भने करिब एक महिना बाँकी रहेकाले त्यसका विषयमा हालसम्म कुनै निर्णय नभएको पनि शिक्षा सचिव दाहालले बताए । कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको छ । राष्ट्रिय परीक्षा बोर्डमार्फत नै भोलि ६ चैतबाट हुने तालिका रहेको एसइई परीक्षा भने स्थगित भइसकेको छ ।

सम्बन्धित समाचार