कोरोनाबाट बच्न नमस्कारलाई अँगाल्नुपर्ने राजेश हमालको सुझाव, अरू कलाकारकाे के सुझाव छ ?

कोरोनाले अहिले पूरा विश्व आतंकित बनिरहेको छ । त्यसबाट नेपाल पनि अछुतो बनेको छैन । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु नभए पनि जो कोही पनि यसबाट त्रसित बनेका छन् । लाखौ काठमाडौं बासी आफ्नो गाउँ फर्किएका छन् । कोरोनाको प्रभाव चलचित्र क्षेत्रमा पनि परेको छ । हल बन्द भएका छन् भने छायांकनमा रहेका चलचित्रको छायांकन पनि स्थगन भइरहेको छ ।

यस्तैमा कलाकारहरुले कोरोनाको विषयमा विशेष चासो दिएका छन् । कलाकारहरुले आफ्नो शुभचिन्तकहरुलाई सुरक्षित रहनको लागि भिडियो सन्देश बनाएर सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । राजेश हमालदेखि वर्षा सिवाकोटीसम्मले आफ्ना शुभचिन्तकको लागि भिडियो सन्देश बनाएका छन् । राजेश हमालले लाइभ गर्दै कोरोनाबाट बच्नको लागि सतर्कता अपनाउनु बाहेक अन्य कुनै उपाय नभएको बताएका छन् । यसको उनै औषधी पत्ता नलागेकोले सबै जनाले सतर्कता अपनाएर बस्नुपर्ने उनको भनाई छ ।



राजेश कोरोनाको कारण आफ्नो दैनिकी पनि परिवर्तन भएको बताउँछन् । उनले भने, ‘अहिले म पूर्ण रुपमा घरमा नै बसिरहेको छु । कुनै पनि कार्यक्रमहरुमा गइरहेको छैन । तपाईहरु काममा जाँदा वा किनमेल गर्न जाँदा विशेष सावधानी अपनाउनु होला । सरसफाईमा विशेष ध्यान दिनुहोला ।’ राजेशले हातको काम निकै हुने भएकाले हात निरन्तर धुनु पर्ने बताएका छन् ।

हात मिलाउने वा अंकमाल गर्ने काम रोक्दै आफ्नै संस्कारको ‘नमस्कार’ लाई प्राथमिकता दिन पनि राजेशले सुझाएका छन् । उनले भने, ‘हाम्रो नमस्कारको संस्कार निकै राम्रो छ भन्ने प्रमाण दिने समय पनि हो । त्यसैले सकेसम्म नमस्कार नै गरौँ । यसमा सम्मान पनि पाइन्छ ।’  त्यस्तै, नायिका रेखा थापाले पनि कोरोनाबाट बच्नको लागि आफू नै सचेत हुनुपर्ने बोलेकी छिन् । उनले भिडियो सन्देशमा भनेकी छिन्, ‘कोरोनासँग बच्ने मुख्य आधार भनेको सावधानी हो । हामीले यो समय सरकारले दिएको आदेशलाई स्विकार गर्दै त्यसलाई पालना गरियो भने हामी सुरक्षित हुन सक्छौँ ।’

रेखाले सामाजिक संजालमा आइरहेका भ्रमक समचारहरुबाट आतंकित नहुन समेत आग्रह गरेकी छिन् । उनले भनेकी छिन्, ‘सामाजिक संजालमा अहिले निकै भ्रामक समाचारहरु आइरहेका छन् । त्यसबाट तपाई आतंकित नहुनु होला  र तपाईले अरुलाई पनि आतंकित नबनाउनु होला ।’

अभिनेता तथा निर्माता दीपकराज गिरी पनि कोरोनाबाट बच्नको लागि आफू सर्तक रही सरसफाईलाई नै विशेष ध्यान दिनुपर्ने बताउँछन् । दीपक अहिलेको समय हरेकलाई अवसर भएको बताए । आइतबार बिहान फेसबुक लाइभ गर्दै उनले भने, ‘हामी कामको शिलशिलामा परिवारबाट निकै टाढा भएका हुन्छौँ । परिवारलाई समय दिन भ्याएका पनि हुदैनौँ । यो समय आफ्नो परिवारलाई दिनुस् । परिवारसँग सुरक्षित भएर बस्नुस ।’

दीपकले चलचित्रर्मीहरुले पनि यस समयलाई अवसर मानेर आगमी प्रोजेक्टमा होमवर्क गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘यो हामीलाई मेहनत गर्ने मौका हो । यहीँ मौकामा मेहनत गरेर आउने प्रोजेक्टलाई विशेष बनाउँ ।’ त्यस्तै निर्देशक दीपाश्री निरौलाले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धुन, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाइजरको प्रयोग गर्न, मास्क लगाउन र भरसक भिडभाडमा नजान आग्रह गरेकी छिन् ।

भिडियो सन्देश बनाउदै दीपाश्रीले भनेकी छिन्, ‘सबै जना आफु जोगिएर अरुलाई पनि जोगाउनको लागि प्रयत्न गरौँ । हाम्रो यो नेपालको ‘नमस्कार’को संस्कारलाई जोड दिऔँ ।’ नायिका केकी अधिकारी, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, अनु शाह, संगीतकार अर्जुन पोखरेल लगायतले पनि सर्तक रहन र सुरक्षित बस्नको लागि अनुरोध गर्दै भिडियो पोष्ट गरेका छन् ।

सम्बन्धित समाचार