राष्ट्रपतिसँग ओलीको दुःखेसो : मलाई घेराबन्दी गरेर सिध्याउन खोजियो

कोरोना भाइरसले विश्वभर प्रभाव पारिरहेको बेला नेपाल पनि अछुतो छैन । भलै आजसम्म नेपालमा संक्रमणको पुष्टि भएकोे छैन । तर पनि राजनीतिक गतिविधि शून्य प्रायः छन् । सरकाले नै भारत र चीनसँगको सीमानाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडान पनि रोकेको छ । राजनीतिक गतिविधि शून्य रहेकै बेला आइतबार प्रधानमन्त्री केपी ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका छन् । भेटका क्रममा ओलीले आफ्नै पार्टीबाट आफूविरुद्ध घेराबन्दी गरेर सिध्याउने खेल भएको दुःखेसो गरेको शीतलनिवास स्रोतले बताएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीको गतिविधिबारे चासो राखेपछि ओलीले आफूविरुद्ध षडयन्त्र भएको र आफू पर्दाफास गर्ने तयारीमा रहेको बताएका थिए । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध घेराबन्दी गरेर सरकार ढाल्नेसम्मको योजना बुनेको रिपोर्ट ओलीले राष्ट्रपतिसम्म पेश गरेका थिए । उनीहरूलाई वरिष्ठ नेता झलनाथ खनालले पनि साथ दिएको ओलीको दुःखेसो थियो ।



भेटमा ओलीले नेकपाको शक्ति सन्तुलनमा फेरबदल ल्याउन आफू सफल भएको ओलीले बताएका थिए । वरिष्ठ नेता माधव नेपाललाई आफ्नो कित्तामा ल्याएर सरकार ढाल्नबाट बचाएको उनको भनाइ थियो । नेकपाभित्रको आगामी राजनीति पेचिलो बन्ने आँकलन आफूले गरेको ओलीले सुनाएका थिए । साथै उनले झलनाथलाई भेटेरै सम्झाउन पनि राष्ट्रपतिसँग आग्रह गरेको शीतलनिवास स्रोतको दाबी छ ।

ओलीले खनाललाई सम्झाउने आफ्नो प्रयासले काम नगरेको र नेपालमार्फत सम्झाउन खोज्दा पनि प्रचण्डको साथ नछोडेको बताएका थिए । प्रचण्ड नेकपामा हाबी हुँदा पार्टी नै पूर्व माओवादीमय हुने खतरा बढेकोले प्रचण्डलाई साइजमा राख्नुपर्ने आफ्नो धारणा रहेको ओलीले भेटमा बताएका थिए । यता राष्ट्रपतिले संविधान संशोधन र गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयप्रति पनि चासो राखेको बुझिएको छ । ओलीले एक व्यक्तिका लागि संविधान संशोधन कुनै पनि हालतमा स्वीकार्य नहुँने बताएका थिए । सचिवालयको निर्णयका बारेमा आफू पर्ख र हेरको रणनीतिमा रहेको सुनाएका थिए ।

राष्ट्रपतिले पार्टीभित्रको विवादले कसैलाई राम्रो नगर्ने भन्दै मिलाएर अघि बढ्न सुझाव दिएको स्रोतको दाबी छ । साथै उनले कोरोनाविरुद्ध प्रभावकारी योजना ल्याउन सुझाव दिएको पनि बुझिएको छ ।

सम्बन्धित समाचार