कोरोनाको डरमा खुसीको खबर : भाइरस नियन्त्रण हुने आधार बन्दैछ

कोरोनाको माहामारी विश्वव्यापी बन्दैछ । संक्रमण फैलिएका देशहरुमा व्यवस्थापनको काममा हम्मेहम्मे भैरहेको छ भने संक्रमण नफैलिएका देशहरुमा पनि मनोवैज्ञानिक त्रास धेरै बढेको छ । दैनिक कामहरु प्रभावित भएका छन् । आम्दानीका श्रोतहरु गुम्ने तथा घट्ने र समग्र अर्थतन्त्रमा धक्का पुग्ने चिन्ताहरु थपिएका छन् । तर यी सबै चुनौतीका बावजुद पनि कोरोना भाइरस मानिसको नियन्त्रणमा आउने थुप्रै आधारहरु देखिएका छन् ।

सबैभन्दा महत्वपूर्ण कुरा कोरोना भाइरस के हो भन्ने कुरा हामीलाई थाहा छ । पहिलो केस देखिएको एक हप्तामै यो भाइरसको पहिचान भएको हो । कोरोनाविरुद्धका खोपहरु बनिरहेका छन् । संभावित खोपको पहिलो मानव परीक्षण सुरु भैसकेको छ । अबको एक वर्षसम्म हामीमाझ प्रभावकारी उपाय नहुन सक्छ, तर संसारभर कम्तीमा आठ समूहले खोप बनाउन काम गरिरहेका बीबीसीले जनाएको छ । कोरोनाको संक्रमण भैसकेपछि पनि बाँच्ने दर उच्च छ ।



अनुमानित ७० प्रतिशत संक्रमितहरु सञ्चो भैसकेका र ८० प्रतिशत जति संक्रमितहरुमा सामान्य लक्षण मात्र देखा परेका विभिन्न अध्ययनका आधारमा बीबीसी लगायत अन्तराष्ट्रिय संचारमाध्ययमहरुले जनाइरहेका छन् । संक्रमण सुरु भएको चीनमा अहिले नयाँ संक्रमण र ज्यान गुमाउनेको संख्या एकदमै थोरैमा सीमित भैसकेको छ । पछिल्लो विवरण अनुसार अब चीनमा पाँच हजारभन्दा केही बढी संक्रमित मात्र उपचार गराइरहेका छन् ।

दक्षिण कोरियामा पनि नयाँ संक्रमण घटिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसलाई नियन्त्रणमा लिन सकिन्छ । भाइरस नियन्त्रणमा लिन तत्काल उपाय अपनाएका देशहरुले संक्रमण व्यापक हुने कार्यलाई ढिला गराउन सफल भैरहेका छन् ।

कोरोना फैलन नदिन आम नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । अहिलेका लागि हात सफा राख्नु सबैभन्दा शक्तिशाली उपाय हो र संक्रमण रोक्न व्यक्ति÷व्यक्ति बीचको दुरी राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सम्बन्धित समाचार