कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५७ हजार संक्रमित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ४२ हजार ११४ पुगेको छ । भाइरसका कारण अहिलेसम्म ८ लाख ५७ हजार २९९ मा संक्रमण देखिसकेको छ । यसमध्ये १ लाख ७७ हजार १४१ निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ३०० को मृत्यु भएको छ । हिजो (मंगलबार) बिहान ७ बजे कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३७ हजार ८१४ थियो  । आज सोही समयमा यो संख्या बढेर ४२ हजार ११४ पुगेको हो । संक्रसमितमध्ये ३२ हजार २९७ को अवस्था गम्भीर छ । कारोनाको संक्रमण शुरुभए यता ८१ प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।



अहिलेसम्म सबैभन्दा धेरै इटलीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । इटलीमा पछिल्लो २४ घण्टामा ८३७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । स्पेनमा पछिल्लो एक दिनमा ७४८ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ४६४ पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ७२६ जनाले ज्यान गुमाउँदा मृत्यु हुनेको संख्या ३ हजार ८६८ पुगेको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा सबैभन्दा धेरै २३ हजार ९४१ कोरोना संक्रमति भेटिएका छन् । २४ घण्टामा स्पेनमा ७ हजार ९६७ नयाँ संक्रमित फेला पर्दा इटलीमा ४ हजार ५३ कोरोना संक्रमित भेटिएका छन् ।

विश्वभर फैलिएको कोरोना नेपालमा पनि देर्खा पर्दा अहिलेसम्म पाँच जना संक्रमित देखिएका छन् । संक्रमति सबै विदेशबाट नेपाल आएका नेपाली नागरिक हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाभाइरस संक्रमणको आशंकामा ८७ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचार