आयल निगमको ग्यास घुम्ती सेवा : उपभोक्तालाई राहत

सिङ्गो मुलुक कोरोना भाइरसका कारण लकडाउन भई आपूर्ति व्यवस्था असहज बनेको बेला पनि नेपाल आयल निगमले भने आवश्यक परेका उपभोक्तालाई घुम्ती सेवामाफत् ग्यास उपलब्ध गराउन थालेको छ । निगमले राजधानीको टेकुस्थित ग्यास सिलिण्डर भण्डारण कक्ष खालेर सोही स्थान र दुईवटा मोबाइल भ्यानमार्फत् ग्यास उपलब्ध गराइरहेको हो ।

निगमले प्राथमिकता निर्धारण गरेका र अत्यावश्यक भएका विभिन्न १२ वर्गका उपभोक्तालाई घुम्ती सेवामार्फत् ग्यास वितरणको लक्ष्य बनाएको भए पनि माग भने सबैखाले उपभोक्ताहरूले गर्ने गरेको र कतिले त घरमा ग्यास स्टक हुँदा हुँदै पनि फोन गर्ने गरेको, कतिले ग्यास बुक गरेर डेलिभरीको समयमा फोन नउठाएको पनि घुम्ती सेवामा संलग्न कर्मारीहरूले बताएका छन् । भविष्यको सम्भावित चिन्ताले कतिपय उपभोक्ताले धेरै स्टक गरेका कारण अत्यावश्यक परेका वर्गमा ग्यास उपल्ऽब्ध गराउन असहज भएको पनि ती कर्मचारीले जनाएका छन् ।



निगमको घुम्ती सेवाले काठमाडौंका चोकचोकसम्म ग्यास पुर्याइदिएको छ । चोकसम्म पनि आउन नसक्ने उपभोक्तालाई घरैमा पनि ग्यास उपलब्ध गराएको निगमले जनाएकोे छ । हाल निगमसँग पर्याप्त ग्यास भएकोले ग्यासको अभाव नरहेको तर वितरण व्यवस्थामा भने केही समस्या रहेको पनि निगमले जनाएको छ ।

निगमले प्राथमिकता निर्धारण गरेका १२ वर्ग

लकडाउनको अवधिभरका लागि निगमले आवश्यकतामा परेका उपभोक्तालाई १२ वर्गमा विभाजन गरेर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ । ती १२ वर्गहरूमा अस्पताल, वृद्धाश्रम, बिरामी–असहाय, अनाथालय, फरक क्षमता भएका, किरिया बसेको घर, बालगृह, पुनर्उत्थान केन्द्र–सुधारगृह, कारागार, निःशुल्क भोज गराउने निकाय–संस्था वा व्यक्ति, सरकारले तोकेको क्वारेन्टाइन तथा अत्यावश्यक काममा खटिएका मजदुर र कर्मचारीहरू आदि रहेका छन् ।

ग्यासको घुम्ती सेवामा खटिएका कर्मचारीको अनुभव

लकडाउनका कारण कतिपय उपभोक्ताहरू घरबाट निस्कन नसक्ता र घरमा ग्यासको पनि अभाव हुँदा उनीहरूले भोगेको पीडालाई पनि नजिकबाट नियालेका ग्यास वितरणको घुम्ती सेवामा खटिएको कर्मचारीले मर्मस्पर्शी अनुभव सुनाएका छन् ।

एक कर्मचारीका अनुसार बत्तीसपुतलीको एक मगर परिवारमा ग्यास डेलिभरी गर्दा ग्यास पाएको खुसीमा ग्यास डेलिभरी गर्ने कर्मचारीलाई अँगालो हालेर रोएका थिए । आर्थिक विपन्न त्यस परिवारमा इन्डक्सन चुल्हो हुने कुरै थिएन । ग्यासका अभावमा भात पकाएर खान असमर्थ भई काँचै खानेकुरा खान विवश रहेछन् । कर्मचारी भन्छन् ‘जोखिम मोलेर ग्यास वितरणको कार्य गरिरहेको भए पनि मगर परिवारको व्यवहारले भने राम्रै काम गरिएछ भन्ने महसुस गरायोे ।’

कति परिवारको व्यवहारले भने तिक्तता बोध पनि गराएको अनुभव छ कर्मचारीसँग । कतिले नेपाल आयल निगमले के साँच्चै ग्यास वितरण गर्छ त ? भनेर परिक्षण गर्नकै लागि फोन गरेर दुःख दिने गरेको पनि सुनाए । कतिले ग्यासका लागि फोन गरेर मगाउने र उनीहरूले टिपाएको चोकमा पुगेर फोन गर्दा मोबाइल स्वीच अफ गरेर बसेको तीतो अनुभव पनि छ कर्मचारीसँग ।

तर पनि वास्तविक आवश्यक परिवारमा र ग्यासको विकल्प नभएका निम्न वर्गीय परिवारसम्म ग्यास पुर्याउन सकेकोमा भने उनीहरू सन्तोष व्यक्त गर्छन् ।

ग्यास बुक गर्न सकिने नम्बरहरू

लकडाउन अवधिका लागि नेपाल आयल निगमले कसैलाई ग्यासको अत्यावश्यक भएमा सम्पर्क गर्नका लागि हटलाइन नम्बर ११४६ तथा घुम्ती सेवाका ९८५१२७३४७९,९८५१२७३४३१ तथा ९८५१२७३२६९ का नम्बरहरू र टोल फ्रि नम्बर १६६००११००२८ उपलब्ध गराएको छ ।

डिलर कमिसन कोरोना कोषमा

आवश्यकतामा परेकालाई सेवा दिनु आफ्नो पनि दायित्व ठानेर निगममा दुईवटा कर्मचारी संघको अग्रसरतामा ग्यासको घुम्ती सेवा सुरु गरिएको जनाइएको छ । नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियन र नेपाल आयल निगम कर्मचारी संघले घुम्ती ग्यास सेवाको नेतृत्व गरेका छन् ।

कर्मचारी युनियन र संघले गरेको अर्को उदाहरणीय कार्य के हो भने निगमले घुम्ती सेवामार्फत् ग्यास बेच्दा डिलरलाई प्राप्त हुने नियमानुसारको कमिसन रकम बच्ने भएकोले उक्त रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । यस कार्यलाई एउटा राम्रो उदाहरण मान्न सकिन्छ ।

सम्बन्धित समाचार