आयल निगमको एकपक्षीय निर्णयले व्यवसायी मर्कामा : एशोसिएशन

नेपाल आयल निगमले एकपक्षीय रूपमा पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य घटाएकोमा त्यसले व्यवसायीलाई ठूलो मर्का परेको भन्दै क्षतिपूर्तिको मागसहित व्यवसायीहरूको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई सम्बोधन गरी गुनासो पत्र पेश गरेको छ ।

पत्रमा– ‘राज्यमा उत्पन्न विषम परिस्थितिमा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थित र नियमित गर्ने उद्देश्यले माननीय मन्त्रीज्यूको समेत उपस्थितिमा मन्त्रालयमा भएको छलफलपछि पेट्रोलियम पदार्थको आयतमा हुन सक्ने सम्भावित कठिनाइलाई मध्यनजर गर्दै नेपाल सरकार र निगमका तर्फबाट बिक्रेताहरूलाई ठूलो परिमाणमा पेट्रोलयम पदार्थ खरिद गर्न र मौज्दात गर्न अनुरोध भए अनुसार व्यवसायीहरूले पेट्रोलियम पदार्थको ठूलो परिमाण मौज्दात गरेको…’ उल्लेख गर्दै निरन्तरको लकडाउनका कारण व्यवसायीसँग ठूलो परिमाणको पेट्रोलियम पदार्थ मौज्दात रहेकै अवस्थामा स्वचालित मूल्य प्रणालीविपरीत व्यवसायीहरूसँग कुनै विमर्श नगरी नेपाल आयल निगमले मूल्य घटाएकोमा रोश प्रकट गरिएको छ ।



अत्यन्त न्युन कमिशनमा व्यवसाय गर्न बाध्य व्यवसायीहरूसँग ठूलो परिमाणमा पेट्रोलियम पदार्थ मौज्दात हुँदाहुँदै प्रतिलिटर १० रूपैयाँका दरले मूल्य घटाउँदा व्यवसायीहरूलाई अनुमानित ३० देखि ४० करोडको हाराहारीमा घाटा हुने, यस घाटालाई व्यवसायीहरूले सहज रूपमा बहन गर्न नसक्न तथा यसले भविष्यमा आयल निगम र व्यवसायीबीच विश्वासको संकट गर्नेे भन्दै वास्तविक तथ्याङ्कका आधारमा व्यवसायीहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन पत्रमा जोडदार माग गरिएको छ ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई लेखेको पत्रको प्रतिलिपि संलग्न छ ।

सम्बन्धित समाचार