आज नयाँ सङ्क्रमित भेटिएको छैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को थप सङ्क्रमित फेला नपरेको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज कोरोनाबाट थप सङ्क्रमित पुष्टि नभएको जानकारी गराए ।

उनले भने, ‘भारतबाट आएका एक व्यक्तिमा कोभिड–१९ भएको हल्ला साँचो होइन । सत्यता बुझेर मात्रै सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि सबैलाई आग्रह गर्दछु ।’ नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति उपचारपछि ठीक भएर घर फर्किसकेका छन् । दोस्रो सङ्क्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् । उनमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।



त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौं बागलुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार एक हजार २७७ मा परीक्षण गरिएको जानकारी दिए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धनगढी, पोखरा, धरान, हेटौँडा, जनकपुर र सुर्खेतबाट पनि परीक्षण शुरु गरेको पनि बताए । यसरी उपत्यका बाहिरबाट परीक्षण कार्य गर्दा आशङ्कामा रहेका धेरैलाई समेट्न सकिने उनको भनाइ थियो ।

सम्बन्धित समाचार