दीनदुःखी र विपन्नको मलम बन्दै विवेक

कोरोना भाइरसको महामारीसँग जुध्न नेपाल सरकारले पूरै देश दुई साताका लागि लकडाउन गरेको छ । लकडाउनका कारण अत्यावश्यक बाहेक सबै सेवा सुविधा बन्द भएपछि अहिले यसको प्रत्यक्ष मारमा विशेषगरी दीनदुःखी, विपन्न र दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरू मर्कामा परेका छन् ।

कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण छाक टार्न धौधौ भएका दीनदुःखी, विपन्न र दैनिक ज्याल मजदुरी गरेर खानेहरूका लागि मलम बन्ने काम गरिरहेका छन् विवेक शर्माले । काठमाडौंको न्युरोडमा विगत १२ वर्षदेखि मोबाइल फोनको कारोबार गर्दै आइरहेका शर्मा भर्जिन मोबाइलका सञ्चालक हुन् । उनले भी–कियर फर हुम्यानिटी अभियान शुरू गरेका छन्, जसअन्तरर्गत उनले आफ्ना साथीहरूलाई समेत जोडेर केही समयअघिदेखि न्युरोडमा ह्यान्ड–वास अभियान थालनी गरेका थिए ।



कारोना नियन्त्रणका लागि भिडभाड हुने काठमाडौंको पाको न्युरोडमा साथीहरूको सहयोगमा उनले ग्राहक र सर्वसाधारणमा लागि निःशुल्क हात धुने अभियान शुरू गरे । त्यसैलाई अनुकरण गरेर अहिले उक्त अभियान काठमाडौंमा मात्र नभई विभिन्न जिल्लामा समेत फैलिरहेको शर्माको भनाई छ । अहिले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण देश लकडाउन भएको अवस्थामा यसको असरबाट ज्याला मजदुरी गरेर खाने दीनदुःखी, गरिब तथा विपन्न परिवारहरूलाई धेरै परेको उनले बताए ।

लकडाउनको समयमा बाहिर निस्किनै मुस्किल भइरहेका बेला शर्माको नेतृत्वमा रहेको मिसन अन्नपूर्ण टिमले काठमाडौंका महाकाल, बानियाटार, टोखा, छेत्रपाटी, वनस्थली, थापाथलीको सुकुम्बासी बस्ती लगायतका विभिन्न क्षेत्रका विपन्न तथा गरिब १ सय ५० घरपरिवारलाई दाल, चामल, नुन, तेल, चिनी, मसला, साबुन, आलु लगायतका खाद्य सामाग्री वितरण गरिसकेका छन् । शर्माका अनुसार असहाय, दीनदुःखी र दैनिक गुजारा गर्न धौधौ पर्ने परिवारका लागि मिसन अन्नपूर्णको टिमले अहिले प्रत्येक घरपरिवारलाई १५ किलोग्रामको खाद्य सामाग्री प्याकेज नै बनाएर वितरण गर्दै आइरहेको छ । उक्त राहत वितरणमा शर्मालाई उनका साथीहरू महेन्द्र साही, रवि अग्रवाल, अखिल अग्रवाल, आयुष अग्रवाल र मनीष अग्रवाल लगायतले साथ दिएका छन् ।

शर्माले पैसाको समस्याका कारण खानापकाउने ग्यासको अभाव भएकाहरूका लागि पनि निःशुल्क ग्यास उपलब्ध गराउन आफूहरू लागिपरेको बताए । यसका साथै स्वास्थ्य विभागलाई आफूहरूले स्वास्थ्य उपकरणहरू सहयोग गर्न चाहेको र त्यसका लागि स्वास्थ्य विभागसँग छलफल चलिरहेको शर्माले बताए ।

‘अप्ठ्यारो परिस्थितिमा मानवताका हिसाबले हामीले विपन्न, गरिब दीनदुखीलाई के सहयोग गर्न सकिन्छ भनेर हामीहरू लागि परेका छौ’ शर्माले नवकान्तिपुरसँग भने । उनले अगाडि थपे ‘यदि सबैले आ–आफ्नो घरवरिपरिका छरछिमेकीमा कोही भोक त छैन ? भनेर हेर्यौ र आफ्नै वरिपरिका मात्र सहयोग गर्यौं भने पनि लकडाउन छ महिनासम्म थपिए पनि कोही भोकै मर्नु पर्दैन ।’ सरकारले व्यवस्थापन मात्र गर्ने भएकाले यस्तो बेला सरकारको भर पर्नुभन्दा पनि आफ्नोतर्फबाट अरूका लागि जेजति सकिन्छ आफैंले गर्नुपर्ने शर्माको भनाइ छ ।

 

सम्बन्धित समाचार