कोरोना कहर : समाजसेवीद्वारा खाद्य सामग्री वितरण

कोरोना भाइरसको महामरीको प्रकोपबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि लकडाउनका कारण समस्यामा परेकाहरूका लागि उदार हृदय भएका समाजसेवीहरूबाट संस्थागत वा व्यक्तिगत रूपमा खाद्य सामग्री वितरणको कार्य पनि आरम्भ भएको छ । यसैक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वछाने मगर, नेपाल हेभी इक्विपमेन्ट व्यवासायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर र महिला ट्याक्सी चालक तथा समाजसेवी नवीना खड्काको पहलमा खाद्य सामग्री वितरण गरिएको छ ।

शुक्रबार र शनिबार काठमाडौं उपत्यकाका जोरपाटी, कलंकी, बाफल, नागार्जुन, रातोपुललगायतका क्षेत्रका अशक्त, अपांग, असाय, विपन्न र ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरूलाई लक्ष्य गरी खाद्य सामग्री वितरण गरिएको थियो । शुक्रबार बाफल, कलंकी र नागार्जुन क्षेत्रका ७१ घरपरिवारलाई राहत वितरण गरेको र शनिबार रातोपुल र जोरपाटी क्षेत्रमा राहत वितरण गरिएको सानु पूर्वछाने मगरले नवकान्तिपुर डटकमलाई जानकारी दिए ।



नगरपालिकाबाट गरिएको राहत वितरणमा पहुच भएकाहरूले र आफ्नाहरूले मात्र पाउने गरेको गुनासो गर्दै अध्यक्ष मगरले आफूहरूले अपांग, अशक्त तथा राहत पाउनबाट बञ्चितहरूलाई दाल, चामल, आलु, चिनी, चियापत्ती, तरकारीलगायतका सामग्री प्रदान गर्दै आएको बताए ।

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरससँग जुध्न र यो संकटको घडीमा सबैले आ–आफ्नो ठाउँबाट एकअर्कालाई सहयोग गर्नुपर्ने अध्यक्ष मगरले बताए । साथै संकटको बेला एक छाक टार्न धौधौ हुनेहरूका लागि सदैव आफूले साथ र सहयोग दिइरहने उनको भनाइ छ ।

सम्बन्धित समाचार