कोरोना भाइरसको औषधि विकासमा चीनको चमत्कार !

चीनले कोरोना भाइरसको भ्याक्सिनको विकास गर्न गर्दै आएको पहल सकारात्मक दिशातर्फ अघि बढेको डेलीमेलले जनाएको छ । हालै परीक्षण भ्याक्सिन लगाएकामध्ये पहिलो समूहका १४ जना क्वारेन्टाइन अवधि सकेर घर फर्किएका छन् । अनुसन्धान टोलीले ‘क्लिनिकल ट्रायल’ मा सहभागी सबै स्वयंम्सेवकलाई आगामी ६ महिनासम्म निगरानी गर्नेछ र एन्टीबडिज परीक्षणका लागि उनीहरुको ब्लड स्याम्पल लिनेछ ।

वैज्ञानिकहरुले भ्याक्सिनको प्रभावकारीता प्रमाणित गर्न विदेशमा थप व्यक्तिमा परीक्षण गर्ने योजना रहेको बताएका छन् । १७ मार्चमा चीनले पहिलोपटक सम्भावित कोरोना भाइरस भ्याक्सिनका लागि ‘क्लिनिकल ट्रायल’ सुरु गरेको थियो, चीनका शीर्ष सैनिक बायो– वारफेयर विज्ञ चेन वी नेतृत्वको टोलीले यस्तो भ्याक्सिनको विकास गरेको हो ।



१८ देखि ६० वर्ष उमेर समुहका कुल १ सय ८ स्वस्थ व्यक्तिलाई यस्तो भ्याक्सिन लगाइएको थियो । उनीहरुलाई तीन समुहमा विभाजन गरेर फरक मितिमा विभिन्न परिमाणका भ्याक्सिन लगाइएको चीनियाँ समाचारमा जनाइएको छ ।

यसपछि अवस्था निगरानीका लागि उनीहरुलाई उहान स्पेशल सर्भिस हेल्थ सेन्टरस्थित आइशोलेसनमा राखियो । फरक मितिमा इन्जेक्सन लगाइएकाले फरक मितिमै उनीहरुको मेडिकल परीक्षण पूरा हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अनुुसन्धानकर्ताहरुले पहिलो परीक्षणको नतिजा सकारात्मक आएमा अन्तर्राष्ट्रिय रुपमै यसलाई बिस्तार गरिने जनाएका छन् । ‘यदी सुरुवाती नतिजाले भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी देखाएमा हामी अन्तर्राष्ट्रिय सहकार्यमार्फत विदेशमा पनि यसको प्रभावकारीताबारे जाँच गर्नेछौं,’ एक चिकित्सक चेन वेईले भनिन् ।

५४ वर्षीय चेन वी जेनेटिक इन्जिनियरिङ भ्याक्सिनबारे चीनकी अग्रणी विशेषज्ञ हुन् ।

सम्बन्धित समाचार