बलिवुड अभिनेताका पुरै परिवारलाई कोरोना संक्रमण

बलिवुडका अभिनेता पुरब कोहलीको पुरै परिवारलाई कोरोना संक्रमण भएको छ । रकअन, वो लम्हे र एयर लिफ्ट जस्ता फिल्ममा अभिनय गरेका अभिनेता पुरब आफैले आफ्नो चार जनाको परिवार नै कोरोना संक्रमणको चपेटामा परेको जानकारी दिएका हुन् ।

लन्डनमा बस्ने पुरबले पछिल्लो दुई साता आफुहरु आइसोलेसनमा रहेको जानकारी दिदै आफ्नी श्रीमती र आफूसहित दुई बच्चालाई समेत कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।



उनले पहिला सामान्य फ्लू जस्तो लक्षण भएको तर पछि ज्वरो बढेपछि टेस्ट गर्दा कोरोना पुष्टि भएको बताएका छन् । उनले पहिला आफ्नो छोरीलाई कोरोना भएको र त्यसपछि पत्नीपछि आफुलाई भएको बताए ।

पुरबले अहिले आफुहरुलाई संक्रमण नरहेको बताउदै क्वारेन्टाइनको समयपनि सकिएको जानकारी गराएका छन् । उनले केही घरेलु उपचारले आफुहरु कोरोनाबाट बाहिर आएको समेत जानकारी गराएका छन् । यसक्रममा उनले तातोपानीको प्रयोग बढी गरेको, बेसार र अदुवाको मिश्रण गरेर प्रयोग गरेको जानकारी दिएका छन् । साथै तातोपानिको बाथ लिएको र आराम गरेको बताएका छन् ।

यस अघि बलिवुडकी गायिका कनिका कपुर र निर्माता करिम मोरानीका दुई छोरी कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचार