लकडाउन बेवास्ता गर्दै बझाङमा मेला, चार वडाध्यक्ष पक्राउ

बझाङको छविसपाथिभेरा गाँउपालिका-३ मा धार्मिक मेला बान्‍नीकी चैतली संचालन गरेको आरोपमा जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिन नदिन देशमा लकडाउन भइरहेको बेला यहाँका स्थानीय बासिन्दाहरुले लकडाउन उल्लंघन गरेको भन्दै बुधबार उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे । पक्राउ पर्नेमा छविस पाथिभेरा गाउँपालिका २ का वडाअध्यक्ष विकास ऐडी, वडा नं.३ का वडाअध्यक्ष केशवराज जोशी, वडा नं. ४ का वडाअध्यक्ष अम्मरराज थापा र वडा नं. ५ का वडाअध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्‍ना रहेका प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।



जनप्रतिनिधिसँगै बान्‍नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी फसलपाते पण्डित डम्बर बहादुर धामी र पूजारी जयकृष्ण जोशीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए । स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको बोहराले बताए ।

सम्बन्धित समाचार