प्रधानमन्त्रीलाई झलनाथको चेतावनी-‘भ्रष्टाचारको छानबिन गर्नुस्, अन्यथा राम्रो हुँदैन’

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरूले कोरोना भाइरस सङ्क्रमणको सम्भावित महामारी रोकथाम र नियन्त्रणका निम्ति चीनबाट सामान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा नेताहरूले छानबिन हुनुपर्ने माग गरेका छन्। वरिष्ठ नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे आफूले अध्ययन गरिरहेको जानकारी बैठकमा गराएका थिए ।

केही दिनअघि चीनबाट स्वास्थ्य सामग्री किन्न एउटा निजी कम्पनीलाई दिइएको जिम्मेवारी र उसले कबुल गरेअनुसार सामान नल्याएको भन्दै उससँगको सम्झौता रद्द गरिएको विषयले निकै चर्चा पाएको थियो।



नेता खनालले ‘कुनै संस्था वा कम्पनी विशेषमा केन्द्रित नभएर समग्र प्रक्रियामा भ्रष्टाचारको कुरा उठाएको’ बताए। उनले बैठकमा आफूहरूले राखेको धारणा सुनाउँदै भने, ‘समग्रमा जे भएको छ, योबारेमा अध्ययन गर्नुपर्‍यो, छानबिन गर्नुपर्‍यो, आवश्यकता परे पार्टीले पनि छानबिन गर्छ। छानबिन गर्ने निकायकहरू छन्। ती निकायहरूलाई काम गर्न लगाउनुपर्‍यो, प्रधानमन्त्री गम्भीर हुनुपर्‍यो।’

नेता खनालले भने, ‘प्रधानमन्त्रीले त्यो प्रकारका अनियमितता गर्ने मान्छेहरूमाथि कडाभन्दा कडा कारबाही अविलम्ब थाल्नुपर्छ, अन्यथा राम्रो हुँदैन, पार्टीले यस्तो खालको कुरा सहदैन भनेका छौँ।’

त्यस विषयमा प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले आफूले अध्ययन गरिरहेको जानकारी गराएको खनालले बताए। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘वहाँले म त्यसबारे गम्भीर छ, आफैँ पनि अध्ययन गरिरहेको छु। जुन प्रकारका गल्ती कमजोरी देखा पर्छन् त्यस आधारमा म कडाइका साथ जान्छु भन्नु भएको छ।’

सम्बन्धित समाचार