सरकारको लापर्वाहीले आजको अवस्था आएको हो : डा. दीक्षित

गत वर्ष डिसेम्वरको अन्तिम साता चीनको वुहानमा एक व्यक्तिमा देखिएको कोरोना भाइरसले अहिले विश्व मानव समुदाय त्रसित छ । विश्वभर दुई करोडभन्दा बढी मानिसहरू यसबाट संक्रमति भएका छन् भने लाखौको मृत्यु भइसकेको छ । नेपालमा मात्रै हालसम्म २७ हजारभन्दा बढी संक्रमितहरू छन् जसमध्ये एक सयभन्दा बढीको ज्यान गइसकेको छ र १७ हजारभन्दा बढी संक्रमणमुक्त भइसकेका छन् । नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले जारी गरेको चारमहिना लामो लकडाउन केही समय अघि खुला गरिसकेको अवस्था छ । सरकारले लकडाउन खुला गरेसँगै पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरूको संख्यामा वृद्धि भएको देखिन्छ भने संक्रमणको जोखिम पनि झन्झन् बढ्दै गइरहेको छ । काठमाडौं उपत्यकामा पनि अहिले संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका विभिन्न क्षेत्रहरू सिल गरिएका छन् । पछिल्लो समय बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको जोखिम र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमासरकारको काम कारबाहीको विषयमा वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितसँग नवकान्तिपुर डटकमका लागि महेश कठायतले गरेको कुराकानीको सम्पादित अंश :

नेपालमा पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढ्दै जानुको कारण केके हुन सक्छन् ?



यसमा सरकारको लापरबाही र हेलचेक्याइ मूल कारण हो । किनभने जब चीनको हुवानमा संक्रमण देखियो र त्यहाँ रहेका नेपाली विद्यार्थीहरू ल्याउने कुरा भयो, त्यो बेला भारतमा पनि संक्रमण देखिएको थिएन । कोरोना भाइरस सर्ने भनेकै ट्राभलबाट हो, त्यसैले सरकारले जतिसक्दो चाँडो एयरपोर्ट बन्द गर्नुपर्छ भनेर मैले रिपोर्टस् क्लव र संवाद डबलीमा भएका कार्यक्रमहरूमा त्यो बेला नै भनेको थिएँ । तर ‘डब्लुएचओले प्लेनको ट्राभललाई बन्द गर्नु पर्दैन’ भनेर भनेको छ भन्ने सरकारको जवाफ आयो । त्यो बेला चाइनाको त्यो सिरिएसनेस डब्लुएचओले नबुझेकै हो । डब्लुएचओले हामीलाई सल्लाह मात्रै दिने हो, तर हामीले आफ्नो हिसाबले चल्नु पर्छ भनेर मैले भनेको थिएँ।

त्यसपछि इण्डियाबाट पनि मान्छेहरूआउँन थाले। इण्डियामा लाखौं नेपालीहरू छन् तिनीहरू अव्यवस्थित रूपमा नेपाल आउँने हो भने स्थिति झन् जटिल बन्न सक्छ, त्यसैले सिमाना बन्द गरेर तिनीहरूलाई भित्र्याउँदा व्यवस्थित गरेर ल्याउनु पर्छ, खुल्ला सिमानाका कारण व्यवस्थित गर्न गाह्रो हुन सक्छ, त्यसको लागि नेपाली सेनालाई नै लगाउँनु पर्छ, बोडर सिल गर्नेअनि जोजो भित्रिन्छन् तिनीहरूलाई सेनाको निगरानीमा राखेर क्वारेण्टिनमा राख्ने भाग्न कसैलाई नदिने र घर पठाउँदा अनिवार्य पीसीआर गरेर मात्रै पठाउने गर्नु पर्छ भनेर मैले त्यही बेलामा नै भनेको थिएँ । काठमाडौं उपत्यकामा एकदमै घना बस्ती छ, उपत्यकाभित्रिने सबै नाकामा कडाइ गर्नुपर्छ, नत्र उपत्यकामा संक्रमण भित्रियो भनेसंक्रमण व्यापक फैलन्छ र हामी त्यसलाई कन्ट्रोल गर्न सक्दैनौं भनेर पनि मैले त्यही बेला भनेको थिएँ ।तर सरकारले एक सय बीस दिनसम्म लकडाउन मात्रै गर्यो,त्यसलाई सदुपयोग गर्न सकेन । सिमानामा कडाइ नगर्नु, पीसीआर टेस्ट नबढाउनु, व्यवस्थित क्वारेण्टिन नहुनु र एयरपोर्टबन्द गर्न ढिलाई गर्नु आदि कारणले अहिले संक्रमणको जोखिम बढेको हो । सरकारले त्यो बेला राम्रो काम गरेको भनेको चीनबाट ल्याउने विद्यार्थीको सन्दर्भमा मात्र हो । बाँकी केही राम्रो गर्न सकेन, जसको परिणाम अहिले संक्रमणको जोखिम झन्झन्बढ्दै गएको छ ।

त्यसो भए कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार सफल हुन नसकेको हो ?

यो कुरा मैले आजभन्दा दुई महिना पहिले नै भनिसकेँ ; सरकारले आत्मसमर्पण नै गरेको हो । जुनदिन सरकारले पीसीआर टेस्ट घटाएर गर्न थाल्यो, त्यो दिनबाट नै थाहा भइहाल्यो । पहिले त परीक्षणमा ध्यानै दिएन । त्यसपछि पनि कहिले मेसिनले काम नगर्ने, केही मेसिन नै नचलाउने,स्वाब टेस्ट गर्ने मान्छेलाई पीपीईसमेत नदिनेजस्ता कामहरू भए । यति मात्रै हो र,स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टाचार भएका कुराहरूबाहिर आए । यी कुराहरूले सरकार जनताको जीवन रक्षाको लागि गम्भीर भएर लागेन र सरकार चुक्यो भन्ने देखाउँछ ।

संक्रमितहरू बढ्न थालेसँगै बिरामीहरूका लागि हस्पिटलमा बेडहरूको अभाव देखिन थालेको छ, जसले गर्दा संक्रमितहरूले घरमै बस्नु पर्ने अवस्था छ । यसरी संक्रमितहरू घरमै बस्नु पर्दा जोखिम कत्तिको देख्नुहुन्छ ?

मेरै क्लिनिकमा चारदिन अगाडि पुराना पेसेन्टआए । उनी धनाड्यअरबपति हुन् । उनलाई ज्वरो आएको थियो, पछि उनलाई कोरोना संक्रमण देखियो । मैले हस्पिटल भर्ना गर्न पठाएँ । जानेमानेको उद्योगपतिको परिवारको सदस्य, उनलाईसमेत एउटा हस्पिटलले पनि भर्ना लिएन । हस्पिटलहरूले‘हामी टेस्ट मात्र गर्छौ तर भर्ना लिन्नौं’ भने । मैले भन्न खोजेको के भने,आर्थिक सम्पन्न मान्छेको त त्यो अवस्था भयो भने अरू सर्वसाधारण मान्छेको अवस्था के होला ?

त्यसपछि उनी घरमै बसे । अहिले उनको घरमा धेरैलाई संक्रमण सरिसक्यो । सरकारको नजर त जनस्तरमा पुगेकै छैन, सरकारले जनताको वास्ता नै गरेन । यत्रो कोरोनाजस्तो शत्रुसँग लड्नु छ, जनतालाई मर्नबाट बचाउँनु पनि छ । पहिले त संक्रमण मात्रै थियो तर अहिलेसरकारको लापर्वाहीले गर्दा यसरी फैलाइदिएको छ कि मृत्यु हुनेहरूकै संख्या एक सय नाघिसक्यो । मृत्यु हुनेको त्यो संख्या पनि अहिले कोरोना संक्रमणको समुन्द्रको तलबाट विस्तारै सतहमा आएको मात्रै हो । संक्रमण भंयकर रूपमा फैलिसकेको छ, अझै माथि पुग्नै बाँकी छ । अहिले काठमाडौं उपत्यकाभन्दा गाउँमा झनै जटिल हुने अवस्था छ । त्यहाँ त खासै सुविधा नै पुगेको छैन । यो त सुरूवाती अवस्था मात्रै हो ।

हस्पिटलमा बेड नभएपछि संक्रमितहरूघरमै बस्नुको विकल्प छैन । तर घरमा जतिसुकै सुरक्षित रूपमा आइसोलेसनमा बसेपनि सबैको घर ओलीजी, प्रचण्डजी र अन्य नेताहरूको महल जस्तो त छैन। एउटै कोठमा तीनचार जना सुत्नु परेको हुन्छ । कतिपयमान्छेहरूडेरामा बसिरहनु भएको छ । जनतालाई नेताहरूको जस्तो सुविधा छैन नि ! त्यसैले संक्रमितहरू घरमै बस्दा पनि जोखिम चाहिँ पक्कै छ ।

संक्रमित बढिरहेको अवस्थामा अब उनीहरूको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

पहिले पहिले संक्रमण कसरी रोकथाम गर्ने ? र कसरी न्युन गर्ने ? भन्ने थियो, अहिले रोगलाई कसरी नियन्त्रण गर्ने ? रोगबाट मान्छेलाई कसरी बचाउने ? रोग लागेकालाई कसरी बचाउँने ? भन्ने कुरा हो । अहिलेसम्म सरकारले जेजस्तो लापरर्वाही गरे पनि अब के गर्ने भन्दा, सांसदहरू र मन्त्रीहरूलाई २० प्रतिशत मात्रै तलब दिने । करोडौंका गाडी किन्ने कुरा छ, त्यसलाई कटौती गर्ने । पूर्वमन्त्री, प्रधानमन्त्रीहरूको सुरक्षा कटौती गर्ने र त्यो पैसा कोरोनाबाट जनतालाई कसरी बचाउँन सकिन्छ त्यसमा खर्च गर्ने। त्यसैगरी निजी हस्पिटलहरूलाई पनि प्राथामिकता दिनुपर्छ । प्राइभेट होस् या पब्लिक हस्पिटलहरू होस्, तिनीहरको कति क्षमता छ ? हस्पिटलमा बेड र म्यानपावर व्यवस्थापन कस्तो छ ? त्यसतर्फ सरकारले अब ध्यान पुर्याउनु पर्छ । त्योसँगै फ्रन्टलाइनमा खटेका डाक्टरहरू, नर्सहरू, स्वाब कलेक्टरहरूअस्पतालका सफाई कर्मचारीहरूलाई पनि ध्यान दिनु पर्यो ।

अरू देशहरूमा प्रधानमन्त्रीदेखि राष्ट्र प्रमुखसम्म जनताको रक्षाको लागि लागिपरेका छन् तर हाम्रोमा त सबै आफ्नै बारेमा मात्रै सोचिरहेका छन् । अहिलेसम्म प्रधानमन्त्री या कुनै मन्त्री क्वारेण्टिन हेर्न गएका छन ? प्रधानमन्त्रीले नेपालगञ्ज, वीरगञ्ज, विराटनगरका स्थानीय तह र त्यहाँका प्रदेश सरकारसँग कुरा गरेका छन् कि राम मन्दिर बनाऊ भनेर भनेका छन् ? यो सरकारको नौटङ्की होइन ? सरकारको लापरबाहीले जनता ग्रसित छन् । सरकारले अरू काम भन्दा पनि कोरोनामा विशेष ध्यान दिनु पर्यो । साथै, यसमा सरकारको मात्रै कुरा होइन, हामी सबैले पनि सचेत हुनैपर्छ। हामीले पनि गर्ने कर्म छोड्नु हुँदैन, हामीसँग जे जस्तो सामाथ्र्य छ, त्यसले लड्नु पर्छ,त्यसको विकल्प छैन ।

अहिले परीक्षणको दायरा बढाउनु पर्ने आवश्यक देख्नु हुन्छ ?

सरकारले जति लकडाउन खुकुलो गर्दै गयो उत्ति नै परीक्षणको दायरा बढाउँदै जानु पर्छ । किनकि हामीले संक्रमणको आधारलाई हेरेर हस्पिटलमा बेडहरू बनाउने हो । अहिले नै कहाँ कहाँ टेन्ट लगाएर हस्पिटल चलाउने भन्ने अवस्था आइपुगेको छ, किनभने हस्पिटलमा ठाउँ नै छैन । हस्पिटलमा कोरोना संक्रमितहरूको लागि सुविधा नहुँदा नहुँदै पनि सरकारले विरामी लिनै पर्छ भन्छ भने लिनु पर्ने बाध्यता छ । तर त्यसबाट नर्स र डाक्टरहरूलाई संक्रमण भइदिए बिरामीलाई कसले हेर्ने ?निर्देशन दिनमा सरकार च्याम्पिएन छ तर निर्देशन दिएर मात्रै हुँदैन । प्रधानमन्त्रीले मन्त्रीहरूलाई र मन्त्रीहरूले सचिवहरूलाई तथासचिवले पिउनलाई निर्देशन दिन्छन् अनि मुलुक कहाँ अगाडि बढ्छ । अहिले कोरोना नियन्त्रण बाहिर गइसक्यो, जसले गर्दा बिरामीहरूले उपचार नपाउने अवस्था आइसक्या छ । कतिपय फ्रन्टलाइन वर्करहरूलाई नै रोग लागि सक्यो ।

अहिले उपत्यकामा संक्रमण समुदाय स्तरमा नै फैलिसकेको हो ?

सुरूमा भारतसँगको खुला सिमानाका कारण मानिसहरू लुकीछिपी आउने क्रम रोकिएन । त्यसको प्रभाव देशका विभिन्न ठाउँमा देखिन थाल्यो र संक्रमणको जोखिम पनि बढ्दै गयो । गाउँघरमा कोही भारतबाट आयो भने त्यसको खबर स्थानीय तह अथवा सम्बन्धित निकायलाई कसैले गर्दिएन । आफ्नै नातेरदार, आफ्नै छिमेकी हो भनेर उल्टै लुकाइदिए, जसले गर्दा अहिले अवस्था गम्भीर हुन पुगेको हो ।त्योसँगै काठमाडौं उपत्यका भित्रिने नाकाहरूमा पनि कडाइ हुन सकेन र त्यसको असर पनि अहिले देखिन थालेको छ ।

त्यसो भए अब फेरि लकडाउन गर्नपर्ने आवश्यक छ ?

संक्रमणको जोखम बढ्यो कि सरकारले लकडाउन गरिदिने गर्छ । सरकारको पनि हुकुमी शैली र मनोमानी मात्रै छ । सरकार होमवर्क गर्दैन, वैज्ञानिक तरिकाले चल्दैन । कहाँ कुन ठाउँमा संक्रमण फैलिएको छ,सरकारले त्यहाँका स्थानीय तहर प्रदेश सरकारसँग सहकार्य गरेर संक्रमणको जोखिम हेरेर लकडाउन गर्नुपर्छ । त्यसका लागि एउटा मोडालिटी तयार गरेर काम गर्नु राम्रो हुन्छ । सरकारले लकडाउन खुल्यो भन्ने बित्तिकै मान्छेहरू ह्वारह्वार्ती सडकमा निस्कन थाले । उनीहरूलाई अब कोरोना नै छैन भन्ने लाग्यो । त्यसका कारण पनि दुःख पाए नत्र लकडाउनले पनि एक हदसम्म राम्रै काम गरेको थियो । संक्रमण रोक्नलाई अझै पनि केही हदसम्म ठाउँठाउँमा लकडाउन पनि गर्नु पर्ला, ठाउँठाउँमा कफ्र्यु पनि लाउनु पर्ला र ठाउँठाउँमा खोल्नु पनि पर्छ । तर सरकारले पहिले गरेजस्तो लकडाउन भने अब आवश्यक छैन । संक्रमण सतहमा नै आएकोले अब रोगीहरूलाई कसरी बचाउँने त्यो महत्वपूर्ण छ ।

संक्रमणको जोखिम बढ्नुमा जनताको पनि दोष चाहिँ कति देख्नुहुन्छ ?

यसमा जनताको अज्ञानता हो । आखिर जनतालाई कति ज्ञान छ ? अझ कोरोना भाइरसका बारेमा त संसारमा वैज्ञानिकहरूलाई पनि खासै ज्ञान छैन । प्रायः धेरैजसो विज्ञहरूले ‘वी डण्ट नो’ ‘वी होप’ भन्ने गरेका छन् । त्यसैले जनताले पनि आफ्नो सुरक्षा आफै गर्नुपर्ने हो । हामीले जानेका कुराहरूजस्तै साबुन पानीले हात धुने, मास्क लगाउँने, डिस्टेन्स मेन्टेन गर्ने, भीडभाडमा नजाने, चाड पर्वहरू घरमै मनाउने र सकिन्छ ट्राभल नगर्ने । यी कुराहरूमा भने सबैले ध्यान पुर्याउनै पर्छ ।

यसका साथै हामीले आत्मबल घटाउनु भएन ।संक्रमण आएको छ तर संक्रमण आयो भनेर एकदमै डराएर पनि बस्नु हुँदैन । डराउनु हुँदैन भनेर लापरबाही पनि गर्नु पनि हुँदैन । भनिन्छ–‘हामी डराउने बित्तिकै आधा लडाइँशत्रुले जितिसक्छ ।’ त्यसैले धेरै हामीले डराउनु हुँदैन तर सावधानी अपनाउनु पर्छ । सकेसम्म आवश्यक कामबाहेक घर बाहिर निस्कनुहुँदैन, निस्कनै परे सुरक्षा सावधानी अपनाएर निस्कने गर्नु पर्छ । त्यसले आफू मात्र होइन, घरपरिवार, समाज र राष्ट्रलाई पनि जोगाउन मद्दत पुग्छ ।

सम्बन्धित समाचार