नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।
गत वर्षको चैत ६ गतेका लागि तय भएको एसईई परीक्षा कोरोनाभाइरसको महामारीका कारण अन्तिम समयमा आएर स्थगित भयो । त्यसपछि सरकारले गत जेठ २८ गते विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय लिएको थियो । कोरोना भाइरस महामारीका कारण हुन नसकेको यस वर्षको एसईई परीक्षाको नतिजा विद्यालयहरूले आन्तरिक मूल्याङ्कनका आधारमा गत सोमबार प्रकाशित गरिसकिएको छ ।
विद्यालयहरूले पठाएको विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गर्दै राष्ट्रिय परीक्षा बोर्डले उक्त नतिजा प्रकाशन गरे पनि यस वर्ष कुन ग्रेड ल्याउनेको संख्या कति छ भनेर सार्वजनिक गरेन ।विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन विद्यालयले नै गरेकोलेयसवर्ष विद्यार्थीको गे्रड वृद्धिका लागि पूरक परीक्षा पनि नहुने भएको छ ।
शिक्षकको मूल्याङ्कनमाथि प्रश्न
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा प्रकाशन गरेसँगै विद्यालयहरूले आफूखुसी अङ्क दिएको भन्दै एसईईको औचित्यमाथि नै प्रश्न उठेका छन् । प्रायः अधिकांश विद्यालयहरूले आफूखुसी अङ्क दिएपछि शिक्षकहरूको मूल्याङ्कनमाथि पनि प्रश्न उठेको छ । तर कक्षा १२ सम्म विद्यालय तहकै मान्यता दिइसकेकोले अब एसईईलाई राष्ट्रिय परीक्षा बोर्डकै मातहतमा रहेर सञ्चालन गर्नुको साटो आन्तरिक बनाइनुपर्ने कतिपय विज्ञहरूको मत छ ।
विद्यार्थीहरूको करिअरमा प्रभाव
पाठ्यक्रम विकास केन्द्रकाअनुसार एसईईमा कम्तीमा १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले मात्र कक्षा ११ मा भर्ना हुन पाउँछन् । विज्ञहरूका अनुसार एसईईको पछिल्लो नतिजा हेर्दा विद्यालयले आफूखुसी विद्यार्थीहरूको अङ्क वृद्धि गरेकाले माथिल्लो कक्षा (११) मा भर्ना गर्न र विषय छान्नमा अप्ठ्यारो पर्ने देखिन्छ भने त्यसले गर्दा विद्यार्थीको पढाइमा समेत असर पर्न सक्ने देखिन्छ । एसईईमा उच्च जीपीए र ग्रेड प्राप्त गरें भनेर विद्यार्थीले त्यहीअनुसार ११ मा विषय छनोट गर्दा त्यसबाट विद्यार्थीहरूलाई नै समस्या हुन सक्छ ।यदि विद्यालयको आन्तरिक मूल्याङ्कन सही हुन नसकेमा त्यसले विद्यार्थीहरूको करिअरलाई समेत प्रभाव पार्न सक्ने विज्ञहरूको मत रहेको छ ।