जनस्वास्थ्यका मापदण्डमा सरकारले कडाइ गरेर निषेधाज्ञा खोल्नु पर्छ : डा.पाण्डे

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चारमहिनासम्म जारी राखेको लकडाउन अन्त्य गरेसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरूको संख्या र मृत्यु हुनेहरूको संख्या बढिरहेको देखिन्छ । अहिले पनि काठमाडौं उपत्यकालगायत देशभरका अधिकांश जिल्लाहरूमा त्यहाँको अवस्था हेरेर कतै लकडाउन त कतै निषेधाज्ञा जारी छ । जनस्तरमा जनस्वास्थ्यका मापदण्डहरू सही रूपमा अबलम्बन नहुनु र सरकारले पनि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गबाट काम गर्न नसक्नुका कारण पछिल्लो समय संक्रमणको जोखिम झन् बढेको पाइन्छ । काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा जारी निषेधाज्ञा, कोरोना संक्रमणको बढ्दो जोखिम र अब गर्नुपर्ने कामहरूको सेरोफेरोमा रहेर जन स्वास्थ्यविद डा.रवीन्द्र पाण्डेसँग नवकान्तिपुर डटकमका लागि महेश कठायतले गरेको कुराकानीको संम्पादित अंशः

नेपालमा पछिल्लो केही समययता कोरोना भाइरस संक्रमितहरूको संख्या र मुत्यु हुनेहरूको संख्या पनि बढ्दै गइरहेको देखिन्छ । यसले के संकेत गर्छ ? के अब जोखिम झन् बढ्दै गइरहेको हो ?
पहिले असार तेस्रो सातासम्म जतिबेला संंक्रमितहरूको संख्या अठार हजार थियो, त्यो बेलासम्म लक्षणविहीन संक्रमण फैलिएको थियो । लक्षणविहीनमा धेरैलाई संक्रमण सार्ने सम्भावना थिएन र अर्को कुरा भनेको त्यो बेला हस्पिटलमा भर्ना हुने, आइसियुमा जाने, भेन्टिलेटरमा जाने थिएन । तर पछिल्लो समय लक्षणयुक्त संक्रमण देखिएपछि हस्पिटल भर्ना हुने, आइसियुमा जाने र भेन्टिलेटरमा जानेको संख्या बढेको छ ।



पहिले इण्डियाबाट आएका मानिसहरू अधिकांश सक्रिय उमेरका थिए । सक्रिय उमेरका व्यक्तिहरू इण्डियाबाट धेरै दिन लगाएर असुरक्षित बाटो भएर बोर्डरमा आए । बोर्डरमा आइसकेपछि पनि उनीहरू क्वारेन्टिनमा बसे । त्यसपछि उनीहरू गाउँ जाँदाखेरी रोग सार्ने अवधि गुजारेर गएका थिए । त्यसले गर्दा समुदायमा संक्रमण फैलिएको थिएन र सक्रिय उमेर समूहलाई संक्रमण भएकाले मृत्युदर पनि एमदमै कम थियो । तर अहिले लक्षणयुक्त संक्रमण देखिएको छ । तराईका जिल्लाहरू, काठमाडौं उपत्यका, पोखरा लगायतका विभिन्न ठाउँहरूमा लक्षणयुक्त संक्रमितहरूको संख्या बढिरहेको छ । त्यसैले अहिले जसरी संक्रमितहरूको र मृत्यु हुनेहरूको संख्या बढेको छ, त्यो भनेको जोखिम वर्गमा कोरोना संक्रमण प्रवेश गरेको छ । जोखिम वर्गमा संक्रमण प्रवेश गरेको हुनाले अहिले मृत्युको आँकडा बढेको देखिन्छ । मृतकको ‘केस स्टडी’ गर्ने हो भने अधिकांश व्यक्तिहरू जेष्ठ नागरिक अथवा कुनै न कुनै दीर्घरोगी भएको देखिएको छ । त्यसैले अब हामीले यसबाट बच्नका लागि बालबालिका, जेष्ठ नागरिक, किड्नी, मुटु, फोक्सो आदिको समस्या भएका दीर्घ विरामीहरू अथवा क्यान्सरका विरामीहरूले घर बाहिर नगई, आफ्नै घरभित्रै पनि आइसोलेसनमा बस्ने हो भने मृत्युदरलाई घटाउन सकिन्छ । यदि हामीले अब पनि जनस्वास्थका मापदण्डहरू अवलम्बन नगर्ने अथवा मास्क प्रयोग नगर्ने, दुरी कायम नगर्ने तथा भीडभाँडमा जाने गर्यौ भने संक्रमण हाम्रो घरघरमा प्रवेश गर्न सक्छ । त्यसैले हामी एकदमै सचेत हुन जरूरी छ । हामी जति सचेत भयौं, त्यति नै संक्रमणको जोखिम कम हुन्छ, मृत्यु हुनेको संख्या पनि घट्दै जान्छ ।

काठमाडौं उपत्यकाको कुरा गर्दा अहिले संक्रमण कुन अवस्थामा छ ? के समुदायस्तरमा नै फैलिसकेको अवस्था हो ?
समुदायमा संक्रमण फैलिने दुईटा ‘क्राइट एरिया’ हुन्छन् । एउटा कसले कसलाई संक्रमण सार्यो भन्ने थाहा नहुने र अर्को भनेको यत्रतत्र सबैतिर देखिने । यी दुईटा कुरालाई हेर्दा काठमाडौं उपत्यकामा आधाजति संक्रमितहरूलाई कसले कसलाई सार्यो भन्ने थाहा नभएको अवस्था पनि छ र कहीं यत्रतत्र पनि देखिएको छ । त्यसैले काठमाडौं उपत्यकामा र खासगरी तराईका जिल्लाहरूमा कोरोना संक्रमण समुदायमा पुगिसकेको छ । समुदायमा टेस्टिङ धेरै कम भएको छ । काठमाडौंमा पनि दैनिक पन्ध्र सय दुई हजार मात्र टेस्ट भएको छ । यति सानो टेस्टले गर्दा काठमाडौंमा समुदायमा संक्रमण फैलिसकेको छ÷छैन भन्ने पनि थाहा हुन्न । यति धेरै मानिसहरूको बसोबास भएको काठमाडौं उपत्यकामा दैनिक पचास साठी हजार टेस्ट गर्ने हो भने संक्रमणको अवस्था थाहा हुन्छ । होइन थोरै–थोरै मात्र टेस्ट गर्ने हो भने त्यो टेस्टिङको कुनै महत्व हुँदैन । त्यसैले जनसंख्या धेरै भएको ठाउँहरूमा मास टेस्टिङ जरूरी छ ।

त्यसोभए समुदायस्तरमा अझै पनि व्यापक रूपमा परीक्षण हुन नसकेको अवस्था हो ?
परीक्षणको दायरा अझै पनि बढिरहेको छैन । त्यसैले अब स्थानीय निकायमार्फत् प्रत्येक वडा–वडाले जोखिम वर्गहरू, तरकारी बजारहरू, पसलहरूदेखि लिएर संक्रमण हुन सक्ने सम्भावना भएका वर्गहरूलाई खोजीखोजी टेस्ट गर्नुपर्छ । यसरी टेस्ट गर्दा संक्रमितहरू धेरै देखिन्छ र उनीहरूलाई आसोलेसनमा राखेपछि समुदायमा फैलिन पाउँन्न । तर यदि हामीले स्थानीय निकायलाई परिचालन नगरी कन्ट्रयाक टे«सिङका आधारमा मात्र टेस्ट गर्यौं भने समुदायको अवस्था के छ भन्ने कुरा थाहा हुँदैन । अहिले कोरोना परीक्षणको लागि कि त कसैले आफूलाई लक्षण देखियो भनेर परीक्षण गराउन जानुपर्यो या कन्ट्रयाक टेसिङमा पर्नु पर्यो ।

यो क्राइट एरियाले गर्दा समुदायको अवस्था थाहा हुन्न । त्यसैले सरकारले अब काठमाडौं उपत्यकालगायतका ठूला शहरहरूमा स्थानीय निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ । वडाहरू, टोल सुधार समितिहरू, क्लवहरू र विद्यालयहरूलाई परिचालन गरेर सम्भावित संक्रमितहरूको खोजी गर्ने, उनीहरूलाई टेस्ट गर्ने र पोजिटिभ देखिए आइसोलेसनमा राख्ने गरियो भने संक्रमण कन्ट्रोलमा आउँछ । तीन करोड जनसंख्या भएको देशमा हामीले अहिले दैनिक एघार बाह्र हजारको मात्र टेस्ट गरेको छौं । हामीले यही एघार बाह्र हजारको टेस्टमा जति संक्रमितहरू देखिएका छन्, तिनीहरूलाई मात्र संक्रमित भनेका छौं । हामीले यो टेस्ट गरेको संख्याभन्दा बाहिर पनि ठूलो जन समूह प्रभावित छ, जसमा टेस्ट भएकै छैन भन्ने बुझ्नु पर्छ । त्यसैले टेस्ट बढाउनु पर्छ । हामीले संक्रमण समुदायमा फैलियो कि फैलिएन भनेर बहस गर्नुभन्दा समुदायमा परीक्षण गर्यौ कि गरेनौं भनेर बहस हुनु जरूरी छ ।

स्वास्थ्य मन्त्रालयले ‘लक्षण नदेखिएका संक्रमितहरू आइसोलेसन सेन्टर अथवा अस्पताल जानु पर्दैन, होम आइसोलेसनमा बस्नु नै धेरै राम्रो हो’ भनेर भन्ने गरेको छ । यो कत्तिको उपयुक्त हो ?
अन्य देशहरूको अध्ययनले पनि जसलाई लक्षण देखिएको छैन अथवा सामान्य लक्षण देखिएको छ, वहाँहरूको लागि सबैभन्दा राम्रो होम आइसोलेसन हुन्छ भन्ने छ । तर होम आइसोलेसन हुनका लागि छुट्टै कोठा र छुट्टै बाथरूम भने हुनैपर्छ । त्यसका लागि सरकारले त्यही वडालाई परिचालित परिचालित गरेर कति परिवार आफ्नो घरमा बस्छन ? कति परिवार फल्याटमा बस्छन् ? कति परिवार एउटा कोठा या दुईटा कोठामा बस्छन् ? भनेर डाटा निकाल्नु पर्यो । त्यो डाटा निकालेर जो घरमा या फ्ल्याटमा बसेको छ, त्यसलाई होम आइसोलेसनमा र जो एउटा वा दुईटा कोठामा बसेको छ उसलाई आइसोलेसन केन्द्रमा राख्न सकिन्छ । घरमा बसेका र आइसोलेसनमा राखेकाहरूमध्ये जसलाई लक्षण देखिन्छ वहाँहरूलाई अस्पतालमा लानुपर्छ । यसरी नै हामीले व्यवस्थापन गर्यौ भने हाम्रो अस्पतालले धान्न सक्छ । यदि हामीले त्यसो गरेनौं भने हाम्रो अस्पतालले पनि धान्न सक्दैन । लक्षण नभएका विरामीहरूले अस्पतालमा बेड ओगट्ने र लक्षण भएका विरामीहरूले चाहिँ बेड नपाउने स्थिति आउँन सक्छ । तसर्थ हामीले अस्पतालमा कडा लक्षण देखिएका अथवा गम्भीर विरामीलाई अस्पताल लाने र सामान्य लक्षण देखिएकालाई होम आइसोलेसन या आइसोलेसेन सेन्टरमा राख्ने गर्नुपर्छ ।

त्यस्तो बेला होम आइसोलेसनमा बस्दाखेरि संक्रमित व्यक्तिले विशेषगरी के के कुराहरूमा ध्यान दिनुपर्छ ?
होम आइसोलेसनमा बस्दा संक्रमित व्यक्तिले स्वयम् पनि सुरक्षित हुनु पर्छ र अरूलाई पनि संक्रमण सार्नु भएन । आइसोलेसनमा बस्दा झ्याल खोल्नु पर्छ जसले गर्दा हावा प्राप्त होस् । पोसिलो र झोलिलो खानेकुराहरू खाने, व्यायाम, ध्यान र योग गर्ने, आफूले प्रयोग गरेका भाडाकुँडा र कपडाहरू आफैं सफा गर्ने, घरबाहिर ननिस्कने र आफू पनि एकदम जिम्मेवार बन्नु पर्छ । म संक्रमित भए पनि मेरो घरपरिवार र समाजलाई संक्रमण सार्दिन भन्ने कुरामा संक्रमित व्यक्ति जिम्मेवार हुनु पर्छ । परिवारसँग पनि दुरी कायम गरी मास्क लगाएर कुरा गर्दा मनोबल पनि बढ्छ, आफू विरामी भएको अनुभव पनि हुँदैन । त्यसैले होम आइसोलेसन भनेको सबैभन्दा बेस्ट हो । तर, त्यो सबैको लागि सम्भव हुँदैन । त्यसैले होम आइसोलेसन सम्भव नभएकाहरूले आइसोलेसन केन्द्रमा गएर बस्नु राम्रो हुन्छ ।

काठमाडौं उपत्यकालगायत अहिले धेरै जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएको छ । संक्रमण फैलिन नदिनको लागि यो कत्तिको प्रभावकारी छ ?
अहिले खासगरी सडकहरूमा, बजारमा, प्रहरीको एकदमै ठूलो उपस्थिति छ, त्यसैले केही हदसम्म निषेधाज्ञा प्रभावकारी भएको पनि देखिन्छ । तर हामीले के बिर्सनु हुँदैन भने मुख्य सडकहरूमा मानिसहरू बस्दैनन्, ती भनेका व्यापारिक स्थानहरू हुन् । अहिले गल्लीहरूमा, भित्री बस्तीमा पनि मानिसहरू मास्क नलगाएर हिँडिरहेका देखिन्छन् । समूह–समूहमा गफ गर्दै पनि हिडिरहेका छन् र मर्निङवाक, इभिङवाक चलिरहेका छन् । यस्ता ठाउँहरूमा प्रहरीको गस्ती पनि देखिँदैन । जनता जहाँ धेरै बस्छन्, जुन ठाउँमा जोखिम हुन सक्छ त्यो ठाउँमा गस्ती गर्नु पर्नेमा सडकहरूमा गस्ती गर्ने काम भएको छ । त्यसैले गर्दा निषेधाज्ञा अझै प्रभावकारी हुन सकेको छैन । त्यसले निषेधाज्ञालाई अझ धेरै प्रभावकारी बनाउन सकडहरूमा ट्राफिक प्रहरीले र भित्री सडक, टोल र गल्लीहरूमा जनपथ प्रहरी, शसस्त्र प्रहरी, सामुदायक प्रहरी, महानगरप्रहरी सबैले गस्ती गर्नु पर्छ ।

काठमाडौं उपत्यकामा आगमी १७ गतेसम्म जारी निषेधाज्ञा छ । अब त्यसपछिको बाटो चाहि के देख्नुहुन्छ ? पुनः निषेधाज्ञा थप्ने या अन्य कुनै विकल्प…।
अब निषेधाज्ञा थप्न चाहि हुँदैन, खोल्नु पर्छ । किनभने निषेधाज्ञा गर्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक धेरै असर पारिसकेको छ । दैनिक काम गरेर आफ्नो पेट पाल्ने समुदाय पनि छ, मानिसहरूले काम गरेर खान पाउनुपर्यो । त्यसकारण काम पनि गर्ने तर जनस्वास्थ्यका मापदण्डमा पनि सरकारले असाध्यै कडा गर्ने गर्नुपर्छ । यसमा पनि हरेक टोलटोलमा सुरक्षाकर्मी, क्लवका मान्छेहरू वडाका जनप्रतिनिधिहरू र टोल सुधार समिति सबैले समूह बनाएर आफ्नो क्षेत्रमा कोही मास्क लगाएर हिडेको छ-छैन ? भिडभाड छ-छैन ? दुरी कायम भएको छ-छैन ? भनेर असाध्यै कडा गर्ने हो भने हामीले लकडाउन या निषेधाज्ञा गर्नु पर्दैन । तर हामी जनता पनि सचेत नहुने र सरकारले पनि जिम्मेवारीपूर्ण भएर कोरोना नियन्त्रणको लागि मिसनको रूपमा काम नगर्ने हो भने फेरि पनि संक्रमण धेरै बढ्छ । संक्रमण धेरै बढेपछि लकडाउन या कफ्र्यु लगाउनु पर्ने हुन्छ । त्यसैले अबको बेस्ट बाटो भनेको लकडाउन नगर्ने, जुन जुन ठाउँमा संक्रमितहरू छन् ती ठाउँहरूमा सिल गर्ने, जुन जिल्लामा संक्रमण धेरै फैलिएको छ, ती जिल्लाहरूमा पनि संक्रमण फैलिएको ठाउँलाई मात्रै लकडाउन या निषेधाज्ञा गर्ने, तर अरू ठाउँमा चाहिँ नगर्ने गर्नुपर्छ । यसरी काम गर्यौं भने संक्रमण नियन्त्रणमा हामी सफल हुन सक्छौं । त्यसैले सबैभन्दा ठूलो कुरा सरकारले ‘माइक्रोम्यानेजमेण्ट’ गर्नु पर्यो ।

निषेधाज्ञाको यो समयलाई विशेषगरी स्थानीय तहले कसरी सदुपयोग गर्नुपर्छ ?
स्थानीय तहले पहिलो कुरा कति मानिसहरू आफ्नै घरमा बसेका छन् ? फल्याट्मा बस्ने मानिसहरूको संख्या कति छ ? र एउटा या दुईटा कोठामा बस्नेको संख्या कति छ ? आफ्नो वडामा बाहिर संक्रमित क्षेत्रबाट आएका र भारतबाट आएका मजदुरहरू कहाँ कति छन् ? त्यो सबै डाटा लिनु पर्यो । टोलमा नयाँ मान्छे आएको छ भने त्यसलाई टोल सुधार समितिले जिम्मा लिनु पर्यो । साथै टोलटोलमा गएर अनुगमन गर्ने र जनस्वास्थका मापदण्डहरूमा विशेष रूपमा कडाइ गर्ने काम स्थानीय निकायले गर्नुपर्यो । त्यसैले यसमा सबैभन्दा ठूलो भूमिका भनेको स्थानीय निकायको नै रहन्छ ।

सम्बन्धित समाचार