साङ्गीतिक क्षेत्रमा सफलताभन्दा पनि सन्तुष्टि ठूलो कुरा हो : गायक सापकोटा

अर्जुन सापकोटा नेपाली साङ्गीतिक क्षेत्रमा सुपरिचित नाम हो । उनका धेरै जसो गीतहरू दर्शकमाझ रूचाइएका छन् । वनकी चरी, पिरती नलाम मयाँ, जन्मेकै गाउँ रोयो, भेटौं मकै बारीमाजस्ता दर्जनौं गीतहरूले सङ्गीतप्रेमी मनलाई छोएका छन् । सुमधुर स्वरका धनी गायक सापकोटा टिकटकमा समेत लोकप्रिय छन् । मृदुभाषी, चञ्चले एवम् हँसिलो स्वभावका उनी गायक मात्र नभै पछिल्लो समय मोडलिङसमेत गर्ने गर्छन् । उनको आफ्नै गीत वनकी चरीमा उनी स्वयंकै अभिनय रहेको छ । यतिखेर उनको पिरती नलाम मयाँ, जन्मेकै गाउँ रोयो र ल्याङ फ्याङ दशैं गीतहरूले बजार तताइरहेका छन् ।

कलाकार सापकोटा यतिखेर काठमाडौंमा छन् । नवकान्तिपुर डट कमको लागि सन्तोष अधिकारीले कलाकार सापकोटासँग लिएको अन्तर्वार्ताको सम्पादित अंश :



आराम हुनुहुन्छ ? कहिले आउनुभयो काठमाडौं ?
आराम छु । काठमाडौं आएको पनि एक महिनाभन्दा बढी भयो ।

काम विशेष केही थियो कि ? नयाँ गीतको तयारी हो ?
काम नै भनौं हजुर, समय जस्तो भए पनि गीत सङ्गीतलाई निरन्तरता दिउँ भनेर । भर्खरै तीज गयो । तीजको गीत पनि निकाल्नु थियो र आउँदै गरेको दशैं तिहारलाई लक्षित गरी गीतहरू निकाल्ने तयारीमा छु । भर्खरै ‘जन्मेकै गाउँ रोयो’ बोलको गीत बजारमा ल्याएको छु । त्यस्तै यही बीचमा ‘पिरती नलाम मोयाँ, मन पोल्छ’ बोलको सेन्टिमेन्टल गीत पनि आएको छ । अन्य कामहरू पनि छन् ।

सानै उमेरदेखि साङ्गीतिक क्षेत्रमा होमिनुभयो । सुरूवाती दिनदेखि अहिलेसम्म आउँदा कस्तो महसुस गरिरहनुभएको छ ?
संघर्षले त भाग्यलाई पनि झुकाई दिन्छ भन्ने सुरूवाती दिनदेखि नै लाग्थ्यो । ठूलो योगदान छ यी सपनाहरूको मलाई यहाँसम्म लिएर आउनमा । यहाँ सफलताभन्दा पनि सन्तुष्टि ठूलो कुरा हो । आफूले गरेको मेहनत र पाएको फलमा सधैं सन्तुष्ट छु तर यसो भन्दैमा आफ्नो काम नियमित गर्न चाहिँ छोड्दिन ।

नेपाली समाज अझै विकसित भैसकेको छैन । छोराछोरीलाई बाबुआमाले सकेसम्म पढाइमा नै ध्यान दिऊन् भन्ने चहान्छन् । तपाईंको अनुभव चाहिँ कस्तो रह्यो ? परिवारबाट साथ थियो ?
एकदमै साथ छ । सर्टिफिकेटधारी मात्र योग्य हुन्छन् अरू अयोग्य हुन्छन् भन्ने होइन । पढाइभन्दा जीवनमा पास हुनु ठूलो कुरा हो भनेर बुझिदिने बाबा ममी पाएकोमा आफूलाई भाग्यशाली ठान्छु । सन्तानको चाहना जेमा छ, त्यसैमा अभिभावकले साथ दिने हो भने हरेक सन्तानलाई पदक लिने होइन लगाइदिने अवसर मिल्छ ।

पढाइ र साङ्गीतिक यात्रा सँगै गरिरहनु भएको छ । दुबै डुंगामा खुट्टा हाल्न खोज्दा अप्ठेरो महसुस गर्नुभएको छैन ?
हाम्रो दिमाग मलिलो बारी जस्तै हो । तीब्र इच्छा भए करेला र बोडी एकैचोटि उब्जाउन पनि सकिन्छ नि होइन र ? त्यसैले केही कुरा जित्ने चाहना छ भने दुबै खुट्टामा डुङ्गा भन्ने जस्ता बहनाले कदापि रोक्न सक्दैन । इच्छाशक्ति हुनुपर्यो, सफलता त्यत्ति टाढा छ जस्तो लाग्दैन । समयलाई पनि ध्यान दिनुपर्यो । मन लगाएर हामी यदि कुनै विषयमा लाग्छौं भने एउटै विधामा मात्र कीरो बनिरहनु पर्दैन भन्ने मेरो बुझाइ हो ।

तपाईंका नयाँ नयाँ गीतहरू बजारमा आइरहेका छन् । भर्खरै ‘पिरती नलाम मयाँ मन पोल्छ’ गीत निकाल्नुभयो । दर्शक दिर्घाबाट कस्तो पाउनुभएको छ प्रतिक्रिया ?


दिन सप्रिँदा ताली र बिग्रिँदा गाली रहेछ जिन्दगी । हामी कलाकारलाई हौसला भनेको औषधिभन्दा ठूलो शक्ति हो । पिरती नलाम मयाँ गीतसँग त धेरैले पिरती लगाउनु भयो । म प्रेसर कुकर हुँ भने श्रोता मेरो लागि सिलिन्डर ग्यास जस्तै हुनुहुन्छ । उहाँहरूले जति तताउनु हुन्छ म खुसीले त्यति नै सिठ्ठी बजाउँछु । सुझाव एकदमै मन पर्छ । गल्ती गरे पनि सुझाव दिनुहोला । गल्ती सुधार्ने हिम्मत राख्छु । कलाकार र राजनीतिज्ञले ताली र गाली दुबै सहन सक्नुपर्दछ ।

पछिल्लो समय तीजका गीतहरूमा विकृति छाउँदै गएको आम दर्शकको गुनासो छ । यसमा स्वयम् पुराना कलाकारहरूले पनि चिन्ता व्यक्त गरेको पाइन्छ । तपाईं के भन्नुहुन्छ ?
हो, म मान्छु कुनै कुनै तीजको गीत हेर्नलाई त घरको सबै झ्याल ढोका थुनेर कोही नभएको मौका छोप्न पर्ने अवस्था छ तर म सबैलाई दोष दिन चाहन्न । किनकि संस्कृति बचाइरहेका कलाकारहरूमाथि लक्षित गरेर लाञ्छना लगाउनु पनि विकृति हो । ‘सकेसम्म राखौं है कृति, नसके नि नछोडौं संस्कृति’ भन्ने मेरो मूल मान्यता हो । कोही अग्रज कलाकारहरूले संस्कृति बचाउन लागिरहनुभएको पनि छ । म उहाँहरूलाई सम्मान व्यक्त गर्दछु । विकृति फैलाउने खालका गीतहरू यदि श्रोताहरूले नै सुनिदिन छोड्नुभयो भने त्यस्ता कलाकारहरू आफैं निरूत्साहित हुनेछन् । त्यसैले फेरि भन्छु ‘संस्कृतिमा विकृति अटाउनु हुँदै हुँदैन । तीज सांस्कृतिक पर्व हो, रक्षा गर्नु पर्छ ।’

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान, राष्ट्रिय सङ्गीतकर्मी संघजस्ता संस्थाहरूको काम के हो ? यिनीहरूले नियमन, नियन्त्रण गर्नुपर्ने होइन र ? के भन्नुहुन्छ ?
हो राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान र राष्ट्रिय सङ्गीतकर्मी संघजस्ता कलाकारहरूको हक हितका लागि स्थापना भएका छाता संगठनहरू हामीसँग छन् । गीत सङ्गीतलाई नजिकबाट नियालिरहेका हुन्छन् यी संस्थाहरूले । गीत सङ्गीतमा विकृति छ भनेर जन गुनासाहरू आइरहँदा तदारूकताका साथ नियमन र नियन्त्रण गरिनुपर्ने हो । तर यस्ता संस्थाको पहलकदमी मात्र समस्याको समाधान दिने भने होइन । यसको लागि राज्यको तर्फबाट पनि विशेष पहलको खाँचो आवश्यक हुन्छ । चलचित्रमा जस्तै गीत सङ्गीतमा पनि सेन्सरको व्यवस्था हुने हो भने हामीले यो विषयमा बहस गरिरहनुपर्ने थिएन । यस विषयमा राज्यको यथाशीघ्र ध्यान जाओस् भन्ने मजस्ता सचेत कलाकारहरूको जोडदार माग पनि छ ।

तपाईंकै पनि पछिल्लो ‘ल्याङ फ्याङ दशैं’ बोलको गीतमा त मौलिकता झल्किएको पाइएन नि ! यस विषयमा के छ तपाईंको प्रतिक्रिया ?


तीजमा दिदीबहिनीका भावना, तिहारमा देउसी–भैलो, बिहेमा रत्यौली भने जस्तै दशैंको गीतमा चाहिँ यस्तै खालका गीत, यस्तै खालका सङ्गीत नै हुनुपर्छ भन्ने छैन । गीत–सङ्गीत भनेको भावना हो, नयाँ युगसँग खेल्दै जाँदा यस्तो सिर्जनाहरू पनि जन्मिन्छन् । यत्ति हो कि बनिसके पछि मन मस्तिष्कलाई छुने चाहिँ हुनु पर्दछ ।

कोरोना भाइरसका कारण विश्व नै आक्रान्त छ । देश अहिले लकडाउनको अवस्थामा छ । यसले धेरै क्षेत्रमा असर गरिरहेको छ । साङ्गीतिक क्षेत्रमा यसको प्रभाव कस्तो पाउनुभएको छ ?
कोरोनाले संसारलाई यसरी परिवर्तन गरायो कि जहाँ मान्छेले मान्छेलाई छुन पनि डराउनु पर्ने अवस्था आइपर्योे । हामी कलाकारले चाहिँ विभिन्न माध्यमबाट श्रोताको मन नडराई छुन पाइरहेका छौं । रेकर्डिङ, सुटिङमा केही असहज त छ नै, अझ स्टेजका कार्यक्रमहरू त ठप्पै छन् । लकडाउनले गर्दा मेला महोत्सवहरू संचालन हुने अवस्था न्युन छ । चाहेर पनि आफ्नो प्रस्तुति राख्नसक्ने स्थिति छैन । सङ्गीतले मनलाई तरंगित गर्दै मनोबल बढाउँछ । त्यसैले बजारमा आएका गीतहरू चाहिँ सुनेर मनमा अन्य कुराहरूको असर न्युन बनाउनुहोला है भनेर दर्शकहरूको मन बुझाइरहेका छौं ।

अन्त्यमा, दर्शक एवम् तपाईंका फ्यानहरूलाई के भन्न चाहनुहुन्छ ?
तपाई हामी सबैलाई थाहा छ, परिस्थिति अलि कठिन नै छ तर मनस्थिति मजबुत पार्न नछोडौं । लोक गीत, लोक संस्कृति हाम्रो पहिचान हो । त्यसैले लोक गीतलाई माया गरांै । अनि गल्ती पहिल्याइदिएर सुझाव दिने छुच्चो मान्छे साह्रै मनपर्छ मलाई, त्यसैले आफ्नै अर्जुन सम्झेर सल्लाह सुझाव दिनुहोला । आलोचनालाई सुझाव सम्झेर म अगाडि बढ्ने छु । आवश्यक पर्दा आलोचना पनि गर्नु होला । मेरै मात्र गीत सुन्नुपर्छ भने छैन । मेरोभन्दा अझ राम्रा राम्रा गीतहरू पनि निक्लिरहेका छन् । सबैलाई माया गरिदिनुहोला । जे भए पनि देशमा सबै मिलेर हाम्रो मौलिक गीत सङ्गीतको संरक्षण एवं प्रवद्र्धन गर्ने अवस्था सिर्जना होस् । मौलिकता हाम्रो पहिचान हो । पहिचानले हाम्रो अस्तित्व कायम राख्दछ । त्यसैले मौलिक गीत सङ्गीतलाई माया गरिदिन म मेरो सम्पूर्ण श्रोता–दर्शकहरूलाई अनुरोध गर्दछु ।

अर्को कुरा, अहिले हामी जटिल परिस्थितिमा छौं । सबै मिली यस परिस्थितिको सामना गरौं । कोरोना भाइरसबाट बँच्नको लागि हामी स्वयंले नै सावधानी अपनाउनुको विकल्प छैन । सकेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौं । जीवन रह्यो भने फेरि पनि हिजोका सामान्य दिनहरू फर्किनेछन् । आशावादी बनौं । बाँच्दै गरे नाच्दै रहौंला ।

सम्बन्धित समाचार