अन्यौलग्रस्त शैक्षिक क्षेत्र : शैक्षिक सत्र बचाउनै गाह्रो हुने

सामान्यतः विद्यालय तहको शैक्षिक सत्र वैशाख महिनाबाट सुरू हुनुपर्ने भए पनि लामो समय बितिसक्दासमेत सुरू हुन सकिरहेको छैन । कोरोना महामारीका कारण शिक्षण संस्थाहरू गत चैतदेखि नै बन्द भएकाले शैक्षिक सत्रको झण्डै आधा समय पुग्न लाग्दा पनि शैक्षिक सत्र कहिलेबाट आरम्भ गर्ने भन्नेबारे सरकार अझै प्रष्ट हुन नसक्दा अन्यौल कायम रहेको छ । एक शैक्षिक सत्रमा २ सय बीस दिन विद्यालय खोल्नैपर्ने र १ सय ८० दिन पढाउनै पर्ने हुन्छ, तर सरकारले यस विषयलाई गम्भीर रूपमा लिन नसक्दा शैक्षिक सत्र पूरा हुन कठिन रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् ।

लामो समयसम्म विद्यालयहरू बन्द भएपछि गत असार १ गतेदेखि सरकारले विद्यालय तहमा वैकल्पक सिकाइ कक्षा सञ्चालन गरे पनि त्यो प्रभावकारी हुन सकेन । शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने बारे शिक्षा मन्त्रालयले पनि कुनै ठोस योजना बनाउँन नसक्दा मन्त्रालयको आलोचना हुन थालेको छ । पछिल्लो समय कोरोनाको संक्रमण नभएका जिल्लाहरूमा पठनपठान सुरू गर्नुपर्छ भन्ने आवाजहरू पनि उठिरहेका छन् तर सम्बन्धित मन्त्रालयले यस विषयमा पनि ठोस निर्णय गर्न सकिरहेको छैन ।



यता कोरोना महामारीका कारण विद्यालयहरू बन्द हुँदा विद्यार्थीहरू घरमै बसिरहेका छन् भने शिक्षकहरूले विना काम तलब पाइरहेका छन् । काम नगरेरै तलब पाएपछि शिक्षकहरूमा पनि यस विषयमा खासै चासो रहेको देखिँदैन । कोरोना महामारीकै कारण विद्यालय तहमा मात्रै झण्डै ७० लाखबढी विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ । माथिल्लो कक्षामा जानको लागि विद्यार्थीले कम्तीमा ७० प्रतिशत सिक्नैपर्ने हुन्छ । त्यसैले शैक्षिक सत्रको पाँच महिना बितिसकेको अवस्थामा पाठ्यक्रम विकास केन्द्रले पनि ७० प्रतिशत सिक्नैपर्ने गरी पाठ्यक्रम सामायोजन गर्न लागिरहेको छ । तर सरोकारवालाहरूले त्यो सम्भव पनि नभएको बताइरहेका छन् ।

असोजदेखि पठनपाठन !

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्रको आधा समय पुग्न लाग्दा आगामी असोज १ गतेदेखि पठनपाठन सुरू गर्नेगरी तयारी गरेको छ । वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी असोज १ गतेदेखि पठनपाठन सुरू गर्ने तयारी थालेको हो । कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनलाइन, रेडियो, टेलिभिजन र होम स्कुल गरी ४ वटा विकल्पबाट विद्यार्थीको पठनपाठन सञ्चालन गरिने भएको छ । त्यसका लागि मन्त्रालयले सहजीकरण निर्देशिका र पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको समायोजन गरिरहेको छ ।

अन्यौलमै कक्षा १२ को परीक्षा

गत वैशाख ८ का लागि तोकिएको कक्षा १२ को परीक्षा पनि कहिले र कसरी सञ्चालन गर्ने भन्ने बारे अझै कुनै ठोस निर्णय हुन सकेको छैन । जसका कारण झण्डै साढे चार लाख विद्यार्थीहरूमा परीक्षा हुन्छ या हुँदैन भन्ने दोधारमा छन् । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेको कक्षा १२ को परीक्षा दशैं अगाडि नै सञ्चालन गर्ने तयारी गरे पनि परीक्षाको मोडलबारे अझै अन्योल कायमै रहेको छ ।

 

सम्बन्धित समाचार