नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० भदाै ।
मन्त्रिपरिषद् पुर्नगठनमा जुटेका नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ मन्त्री छान्न हम्मेहम्मे परेको छ । दुईवर्ष कार्यकाल पुगेका मन्त्री हटाउन ओली तयार नभएपछि केवल ५ जना नयाँ मन्त्री थपेर मन्त्रिमण्डल विस्तार मात्र हुने भएको स्रोतको दाबी छ । प्रचण्डले कम्तिमा १० जना मन्त्री फेर्न गरेको आग्रहलाई ओलीले विभिन्न बाहनामा मन्त्री फेर्न आलटाल गरेका छन् । ओलीले २ मन्त्रालय फुटाएर र खाली ३ गरी हाल ५ जना नयाँ मन्त्री नियुक्त गर्ने अडान राखेपछि प्रचण्डले सहमति जनाएको बताइको छ ।
नेपालको संविधानको धारा ७६ (९) अनुसार प्रधानमन्त्रीसहित बढीमा २५ जनामन्त्री बनाउन पाइने बाध्यकारी व्यवस्था छ । हाल २२ मन्त्रालय रहेकोमा २ मन्त्रालय फुटाएर ओलीले २४ जना मन्त्री र आफूसहित २५ सदस्यीय क्याबिनेट बनाउने भएका छन् । हाल तीन राज्यमन्त्रीसहित मन्त्रिरिषद २३ सदस्यीय छ, जसमा अर्थ र सञ्चार र सहरी विकास गरी ३ मन्त्रालय खाली छन् । ओलीले उर्जा, जलस्रोत तथा सिंचाई र वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर नयाँ ५ मन्त्रीलाई नियुक्ति गर्ने तयारी गरेका छन् ।
ओलीको पछिल्लो अडानले ३ राज्यमन्त्रीको पद गुम्ने भएको छ भने हाल क्याविनेटमा रहेका सबै मन्त्रीको पद जोगिने भएको छ । पुर्नगठन गर्दा अधिकांश मन्त्रीहरु आफू निकटका फेरिने देखिपछि ओलीले मन्त्रीपरिषद् पुर्नगठनभन्दा विस्तार गर्नुपर्ने अडान राखेका थिए । ओलीको अडानमा प्रचण्ड सहमत भए पनि नयाँ ५ मन्त्री छान्न भने ओली र प्रचण्डलाई हम्मेहम्मे परेको छ । नयाँ मन्त्रीमा पनि ओली प्रचण्डबीड मतभेद कायमै रहेको बताइन्छ ।
प्रधानमन्त्री ओली प्रतिनिधिसभा निर्वाचन हारेका पार्टी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा लैजाने पक्षमा छैनन् । तर प्रचण्डले भने उनीहरूलाई लैजादा सरकार थप मजबुत हुने बताएका छन् । स्रोतका अनुसार प्रचण्डले केवल ५ मन्त्री मात्र थप्ने ओलीको अडान स्वीकार्दा नै गौतम र श्रेष्ठलाई सरकारमा लैजानुपर्ने शर्त राखेका थिए । ओलीले विचार गरौला भन्ने जवाफ फर्काएकोले आज भोलि नै ओली र प्रचण्डले ५ मन्त्री फाइनल गर्ने तयारी गरेका छन् ।
ओलीले अर्थमा आफ्नो विश्वासिलो मान्छे राख्न खोजेकोले महासचिव विष्णु पौडेललाई पनि सरकारमा लान खोजेका छन् । यसरी हेर्दा नेकपाको सचिवालयमा रहेका पूर्वप्रधानमन्त्रीबाहेक सबै नेता सरकारमा सहभागी हुने देखिएको छ । बाँकी २ मन्त्रीमा सुरेन्द्र पाण्डे र जनार्दन शर्माको चर्चा छ । तर एकजना महिला मन्त्री थप्दा समावेशी हुने भएकोले प्रचण्डले जनार्दनको ठाउँमा पम्फा भूषाललाई छान्न पनि सक्ने स्रोतले बतायो । पार्टी महाधिवेशनको मुखमा रहेकोले पार्टी काममा आफूलाई एकजना भरपर्दो सहयोगी चाहिने भन्दै प्रचण्डले शर्मालाई यसपटक सरकारमा नजान आग्रह गरेको बुझिएको छ ।
शंकरलाई प्रदेश नै प्यारो
यता विष्णु पौडेललाई सरकारमा लैजादा पार्टी र सरकार दुबैतिरको बोझ हुने भएकोले ओलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई केन्द्रमा ल्याएर अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पने योजनामा थिए । तर पोखरेलले प्रधानमन्त्रीको आग्रहलाई अस्वीकार गरेको बुझिएको छ । उनले यो कार्यकाल प्रदेशमै रहेर काम गर्ने बताएका छन् ।
प्रदेश ५ को नामाकरण हुन नसकेको र राजधानी तोक्ने काम पनि बाँकी नै रहेकोले बीचमै राजीनामा दिँदा मुख्यमन्त्री बनेर कुनै काम गर्न नसके जस्तो हुने भन्दै आफ्नै कार्यकालमा नाम र राजधानी तोक्ने उनको योजना छ । पार्टीले सहमतिको दिशा लिएकोले अब आफू केन्द्रमा आइरहनु नपर्ने भन्दै ओलीलाई प्रदेशमै काम गर्ने वातावरण बनाउन उनले आग्रह गरेका छन् । शंकरले पनि अर्थमा रुचि नदेखाएपछि ओली घुम्दै फिर्दै रुम्झाटार भनेझै विष्णुलाई नै सरकारमा पठाउने तयारीमा लागेका हुन् ।