नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असाेज ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुनमा आफ्नो १४औं महाधिवेशनको मिति तोकेको छ । यतिबेला कांग्रेसमा महाधिवेशनको माहोल तातेको देखिन्छ । नेतृत्वका लागि नेताहरूले आ–आफ्नो दाबी गर्दै आइरहेका छन् । तर पार्टीभित्रको आन्तरिक विवाद र कोरोना संक्रमणको बढ्दो जोखिमका कारण महाधिवेशनको कार्यतालिका समेत प्रभावित भएपछि फागुनमै महाधिवेशन हुने सम्भावनासमेत टर्दै गइरहेको छ । कांग्रेस नेताहरूले समेत समयमै महाधिवेशन हुनेमा शङ्का गरिरहेका छन् । नेपाली कांग्रेसको आगामी महाधिवेशनको सेरोफेरोमा रहेर नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलसँग गत बुधबार नवकान्तिपुर डटकमका लागि महेश कठायतले गरेको कुराकानीको सम्पादित अंश :
अहिले कोरोना भाइरससँगै पार्टीभित्रकै अन्य कारणहरूले गर्दा पनि आगामी फागुनमा कांग्रेसको महाधिवेशन नहुने सङ्केतहरू देखिएका छन्, यसलाई तपाईले कसरी हेर्नु भएको छ ?
कोरोनाको कारण सबै कुरा प्रभावित नै छ, त्यसमा दुईमत भएन । महाधिवेशलाई पनि कोरोनाले प्रभावित पारेको छ, तर कोरोना देखाएर महाधिवेशन नगर्ने छुट हामीसँग छैन । त्यसैले कोरोना महामारीको बीच पनि सुरक्षित हुँदै महाधिवेशनको तयारी दु्रत गतिमा गर्नुपर्ने छ । पार्टी विधानअनुसार कांग्रेसको महाधिवेशन चार वर्षमा हुनुपर्ने भए पनि विशेष परिस्थितिको सुविधा प्रयोग गरेर थपिएको एकवर्ष फागुनमा सकिँदै छ । फागुनमा महाधिवेशन गर्न नसकिए संविधानअनुसार थप ६ महिना समय बढाएर २०७८ भदौसम्ममा महाधिवेशन गरिसक्नुपर्छ । त्यसैले महाधिवेशन गर्नका लागि हामीले कोभिडबाट सुरक्षित हुँदै प्रक्रियालाई अगाडि लिएर जानुपर्छ । तर अहिलेसम्म प्रक्रिया अगाडि बढ्ने स्थिति बनिरहेको छैन । कोभिडलाई देखाएर महाधिवेशनलाई रोक्ने वा अन्य विकल्प सोच्ने यस्तो खालको कसैको सोच छ भने त्यो गलत हुन्छ ।
अहिलेको अवस्थामा अधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण नगरी पुरानै क्रियाशील सदस्यतालाई छनौट गरेर भए पनि अधिवेशन गरौं भन्ने आवाज पनि पार्टीभित्र उठेको देखिन्छ, यसबारेमा तपाई के भन्नु हुन्छ ?
अहिले नै सबै विधि प्रक्रिया पुरा गरेर व्यवस्थिति ढङ्गले महाधिवेशन गर्न सकिने स्थिति छैन । त्यसैले प्रक्रिया छोट्याएर १३औं महाधिवेशनका क्रियाशील सदस्यहरूले मतदान गर्न पाउँनेगरी १४औं महाधिवेशन गर्ने हो भने १४औं महाधिवेशनपछि आएको नेतृत्वले तत्काल क्रियाशील सदस्यताको काम थालनी गर्ने गरी सहमतिमा निर्णय गर्न पनि सकिन्छ । प्रक्रिया छोट्याउने उपायहरू केके हुन सक्छन्, छलफल गरेर समझदारीका आधारमा ती उपायहरू अपनाउँने स्थिति हुन सक्छ ।
अहिले कार्यतालिका पनि प्रभावित भइसकेकोले कार्यतालिका बदल्नुपर्दा अब महाधिवेशनको मितिसहित बदल्न पर्ने स्थिति हुन्छ । तर कार्यतालिका मात्रै प्रकाशित गर्ने त्यो कार्यतालिका अनुसार काम नहुने हो भने त्यसको अर्थ हुँदैन । त्यसैले प्रक्रिया छोट्याएर नगरी नहुने कामलाई मात्र गरेर महाधिवेशनलाई सम्पन्न गर्ने स्थिति बनाउँनु पर्छ । त्यसका लागि सदस्यताको विषय हुन सक्छ, कतिपय महाधिवेशनका कामहरू प्रविधिको प्रयोगबाट गर्न सकिन्छ र कोभिडको अवस्थामा त्यस्ता अन्य केके उपायहरू हुन सक्छन्, ती उपायहरू पनि अपनाएर महाधिवेशन गर्नुपर्छ ।
तर, फागुनमै महाधिवेशन हुनेमा नेताहरूले आशङ्का गरिरहेका बेला महाधिवेशनको मिति हेरफेर गरौं भनेर नेताहरूले खुलेर भनेको देखिदैन, किन ? कतै महाधिवेशन विरोधी ट्याग लाग्छ भनेर त होइन ?
अहिलेको अवस्थाले नै महाधिवेशनलाई दुर्घटनामा पुर्याउने खतरा छ । कांग्रेसले कार्यकर्ताहरुमा पनि अहिले सम्पूर्ण कामहरू अगाडि बढ्न नसक्नुको कारण प्रष्ट्याउन नसकेको भन्ने बुझाइ छ, धेरै अन्यौल छ । महाधिवेशन नै हुँदैन, महाधिवेशन टार्न खोजियो भन्ने आशंका पनि हुन सक्छ । त्यसैले तत्काल महाधिवेशनको सुनिश्चितता हुनेगरी नयाँ कार्यतालिका, नयाँ मिति र नयाँ तयारीको सुरूवात गर्नु पर्ने आवश्य छ र त्यहीअनुसार हामीले तत्काल निर्णय गर्नुपर्छ ।
नेपाली राजनीतिमा पटकपटक नेतृत्वदायी भूमिका खेल्दै आएको कांग्रेस यतिबेला कमजोर प्रतिपक्षको भूमिका सीमित छ । यस्तो अवस्थामा अब आगामी १४औं महाधिवेशनबाट कांग्रेसमा नेतृत्व परिर्वतनको सम्भावना कत्तिको देख्नु हुन्छ ?
कांग्रेसमा असन्तुष्टि छ, कांग्रेसले धेरै चुनौतिहरूको सामाना गर्नुपर्ने स्थिति छ । कांग्रेस सँच्चिन आवश्यक छ । कांग्रेस नयाँ ढङ्गबाट आउँनु पर्ने छ । कांग्रेसले अहिले देखिएका समस्याहरूलाई समाधानको उचित उपायहरू खोज्नु जरूरी छ । यो कुरा कांग्रेसभित्र व्यापक रूपमा उठेको मात्र होइन सबैले महसुस गर्नु भएको पनि छ । यथास्थितिको नेतृत्वले यसलाई कसरी सम्बोधन गर्न सक्छ र ? त्यसैले परिर्वतन नेतृत्वको मात्र होइन, कार्यशैलीको पनि हुनुपर्यो । पार्टी संरचनालाई मजबुद बनाउनु पर्यो । विधिविधान कार्यन्वयन गर्न सक्ने क्षमता भएको नेतृत्व आउँनु पर्यो । सधैभरी एउटा मात्रै मुद्दा उठाउने तर नेतृत्वमा पुगेपछि कार्यन्वयन नगर्ने जुनखालको स्थिति छ, त्यो अन्त्य हुनुपर्यो ।
१३औं महाधिवेशनबाट निर्वाचित जन नेतृत्वले त्यो बेला विधानअनुसार पार्टी चलेन भन्ने कुरा उठाइएको थियो तर महाधिवेशनमा निर्वाचित भएपछि त्यो कुरा उठाउने नेतृत्व पनि उस्तै भयो । त्यसैले अब ‘कमिटमेण्ट’ कासाथ नयाँ विचार र मार्गचित्रसहित आउँनेले कांग्रेसको नेतृत्व गर्न पाउँने स्थिति बन्नुपर्छ र बन्छ । विचारसँग जोडिएर नेतृत्वको दाबी गर्ने मार्गचित्र प्रस्तुत गरेर प्रतिस्पर्धामा आउँनुपर्छ । ‘म यति वर्ष भएँ, मैलें निरन्तर काम गरेको यति वर्ष भयो, म यो पदमा पुगेँ, त्यसैले म मुख्य पदको उम्मेदवार हुँ’ भनेर मात्रै अब हुँदैन । किन उम्मेदवार हुने हो ? अहिलेको स्थितिलाई कसरी परिर्वतन गर्ने हो ? चुनौतिहरूको सामाना कसरी गर्ने हो ? त्यसको फेरहिस्तसहित प्रस्तुत हुनुपर्छ ।
त्यसोभए, नयाँ नेतृत्वमा युवाहरू आउँन् सक्ने सम्भावना चाहिँ कस्तो छ ?
युवा भएकै कारणले मूल नेतृत्वमा जान पाउँनुपर्छ भन्ने पक्षमा व्यक्तिगत रूपमा म सहमत छैन । मूल नेतृत्वमा जानको निम्ती विषयहरूको प्रतिस्पर्धा उठाउँन सक्नुपर्छ । त्यसैले बीपी कोइरालाको समयमा कांग्रेस विचारको पक्षबाट जति धारिलो थियो अहिले त्यस्तो हुन सकेको छैन । व्यक्तिको मात्र प्रतिस्पर्धा हुने हो भने कांग्रेस कमजोर हुन सक्छ । नेपाली कांग्रेस पार्टी विचारसँग नलडेर चल्नै सक्दैन । त्यसैले अब विचारको बहस हुनुपर्ने वातावरण हुनुपर्छ । असहमत विचारलाई पनि छलफल ल्याउन सक्ने र सबैखाले विषयहरूको छलफल गर्ने क्षमता कांग्रेसभित्र हुनुपर्छ । त्यो नै कांग्रेसले अपनाउँने नेतृत्व हो । त्यो सम्भावना पनि कांग्रेसमा छ ।
अहिले आंकाक्षीहरू प्रायः साठी आसपासकै नेताहरू देखिन्छन्, युवाहरूले हस्तक्षेप गरेको देखिँदैन नि ?
उमेर कति हो भन्दा पनि नेतृत्वको लागि दाबी गर्ने शैली उस्तै भयो । ‘अब म यो गर्छु, नयाँ ढङ्गले यसरी आउँछु, मेरो ‘कमिटमेण्ट’ यो हो, मेरो विचार यो हो र मेरो कार्य योजना यो हो’ भनेर यी विषयहरूका साथ आउँनुपर्ने ठाउँमा निरपेक्ष ढङ्गबाट उम्मेदवारी दाबी गर्ने मात्रै भयो । जसका कारण नेतृत्व दाबी गर्ने शैली उही पुरानै भयो । कार्यशैली बदल्ने सङ्केतसहित कोही आएन । त्यसैले अहिलेको नेतृत्व परिर्वतन भएर नयाँ नेतृत्व आयो र कार्यशैली उस्तै भयो भने त्यसको अर्थ के भयो र ?
तपाईको विचारमा अब आउने कांग्रेस नेतृत्व कस्तो हुनुपर्छ ?
अहिलेका चुनौतिहरूको सामना गर्न सक्ने, कुनै पनि किसिमको अस्पष्ट नहुने, प्रष्ट विचार दिन सक्ने, समाजका विद्यमान समस्या समाधान गर्ने ल्यागत बोकेको र जनतालाई विश्वास दिलाउन सक्ने अबको नेतृत्व हुनुपर्छ र हुन्छ पनि ।