नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ असोज ।
इन्टरनेट सेवा प्रदायकका सेवा सुविधालाई लिएर ग्राहकहरूमा गुनासाहरू हुनु कुनै नौलो कुरा होइन । इन्टरनेट सेवा सुविधा सम्बन्धी धेरै जटिल समस्या नभए पनि सामान्य समस्याहरू ग्राहकहरूले बेलाबेला भोग्दै आएका छन् । तर, ग्राहकका गुनासाहरूलाई लिएर सेवा प्रदायकहरू गम्भीर बन्न नसकेको आरोप ग्राहकवर्गले लागाउँदै आएका छन् । नेपालमा भएका इन्टरनेट सेवा प्रदायकसँग ग्राहकका गुनासाहरूका विषयमा पछिल्लो समय सामाजिक सञ्जालमा समेत ‘ट्रोल’ बन्ने गरेकोे देखिन्छ ।
इन्टरनेटको सेवा सुविधा ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा बढी छ । शहरमा इन्टरनेटको सेवा उपभोग गर्ने ग्राहकवर्गहरू सबै शिक्षित छैनन् र हुँदैनन् पनि । ग्राहकले आफूले प्रयोग गर्दै आएको सेवा प्रदायकको इन्टरनेटमा केही समस्या भए सेवा प्रदायकसँग स्पष्ट गुनासाहरू राख्न सकिरहेका हुँदैनन् । यस्तो हुनुको मुख्य कारण इन्टरनेट सम्बन्धी टेक्निकल कुराहरू बढी हुनु, भाषिक अस्पष्टता हुनु र प्रदायकहरूले पनि ग्राहक वर्गमा सचेतना अभिवृद्धि गर्ने जस्ता कुरा ध्यान नदिनु आदि रहे पनि भाषिक समस्या नै प्रमुख समस्या हो । सबै प्रदायकहरूले नेपाली र अंग्रेजी दुबै भाषाको प्रयोग गर्दैनन् । आफूले प्रयोग गरिरहेको इन्टरनेटमा कुनै समस्या आएर फोन गर्दा उताबाट रेकर्ड गरिएको अङ्ग्रेजी भाषा सुनिन्छ । ग्राहकले त्यो बुझेदैन र फोन राखिदिन्छ । समस्या जस्ताको तस्तै ।
नेपाली ग्राहकलाई अङ्ग्रेजीको सन्देश किन चाहियो ? कतिले बुझ्छन् त्यो सन्देश ? नेपालीमा बोलेको नबुझ्ने ग्राहक नेपालमा कति होलान् ? यो एउटा नियोजित नाटक हो । भाषा नबुझेरै ग्राहकले फोन नगरुन् र समाधानका लागि टाउको दुखाउनु नपरोस् भन्ने प्रदायकको अभीष्ट हो । नियमन गर्ने निकायको निस्क्रियताले सेवा प्रदायकको मनोमानी चलिरहेको हो । खरिद गरेको प्याक अनुसारको स्पिड नहुनु त झन् सामान्य कुरा भयो ।
यस बारेमा बुझ्न खोज्दा ‘कतिपय टेक्निकल कुराहरू ग्राहक वर्गलाई कन्फ्युजन हुन सक्ने’ नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल स्वीर्काछन् । ग्राहक वर्गमा हुन सक्ने त्यस्ता खालका कन्फ्युजनलाई हटाउन ग्राहक वर्गलाई सेवा प्रदायकहरूले नै सचेत बनाउनु पर्ने र त्यसमा प्राधिकरणले पनि पहल गर्नुपर्ने उनी बताउँछन् ।
सेवा प्रदायक कम्पनीले आफूसँग गरेको सम्झौता कार्यान्वयन गर्यो या गरेन भन्ने विषयमा सबैभन्दा पहिला ग्राहक आफैं सचेत बन्नुपर्ने प्रवक्ता अर्यालको भनाइ छ । सेवा प्रदायकले पनि आफूसँग सम्झौता गरेअनुसार ग्राहकलाई सुविधा दिनु पर्ने उनी बताउँछन् । ‘सेवा प्रदायकले ग्राहकका गुनासाहरू सुनुवाई नगरेमा प्राधिकरणले अनुगमन गरेर कारबाही गर्छ, त्यो भनेको क्षतिपूर्ती र जरिवाना गराउने हो’ नवकान्तिपुरसँग अर्यालले भने ।
लाइसेन्समा कडाइ
छिटो छरितो र भरपर्दो सेवा सुविधाको लागि सेवाग्राहीहरू इन्टरनेट प्रदायकको भर परे पनि सन्तुष्ट भने देखिँदैनन् । ग्राहकहरूले इन्टरनेट सम्बन्धी विभिन्न समस्याहरू भेग्नु परेको गुनासाहरू प्रदायकसँग गर्ने गर्छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ग्राहकले पाउनुपर्ने जति सेवा नपाएको, सेवा प्रदायकले भने जति इन्टरनेटको गति नभएको जस्ता गुनासाहरू धेरै आउने गरेका छन् । कतिपय सेवा प्रदायकहरूले सेवाग्राहीलाई रिझाउन विज्ञापनमा प्रतिस्पर्धा गरेपनि सेवा सुविधा दिन भने खासै प्रतिस्पर्धा नगरेको ग्राहकको आरोप छ । नेपालमा एकपछि अर्को सेवा प्रदायकहरू थपिदै गइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्समा समेत कडाइ गर्नुपर्ने देखिन्छ ।
नेपालमा १ सय २५ वटा इन्टरनेट सेवा प्रदायक र तीन दूरसञ्चार प्रदायकहरूले इन्टरनेट सेवा दिइरहेको छन् । नेपालमा अहिले इन्टरनेट प्रदायकहरूमा वल्र्डलिङ्क, क्लासिकटेक, सुबिसु, टेलिकम, भायोनेटलगायतका इन्टरनेट प्रदायकहरू बढी प्रचलित देखिन्छन् ।
इन्टरनेट प्रयोगकर्ता
सूचना र प्रविधिको बढ्दो विकाससँगै आजभोलि प्रायःजसो सबैको हातहातमा इन्टरनेटको सुविधा पुगेको छ, जसले गर्दा समाजमा धेरै कुरा सजिलो बनाइदिएको छ । इन्टरनेटको सुविधाले गर्दा हजारौं किलोमिटर दूरीमा रहेका घरपरिवार र साथीभाइसँग एक क्लिक कुराकानी गर्न सकिन्छ भने आफूले चाहेको ज्ञानसमेत यसैबाट प्राप्त गर्न सकिन्छ । विश्वका विभिन्न कुनाकुनामा भएका घटनाहरू पनि एक मिनेटमै थाहा पाउँन सकिन्छ । नेपालमा हाल करिब ७२ प्रतिशत मानिसहरू इन्टरनेटको ग्राहक रहेको सरकारी तथ्याङ्कले देखाउँछ ।