राग र द्वेषको गुलामबाट मुक्त भई सबैभन्दा बढी खुशी हौं

सम्पूर्ण मनुष्यको भित्र राग र द्वेष कम वा अधिक मात्रामा हुने गर्दछ । अनुकूल परिस्थितमा हामीमा त्यसप्रति राग उत्पन्न हुन्छ, हामी चाहन्छौं त्यस किसिमको परिस्थिति सँधै रहिरहोस्, हामीबाट कहिल्यै अलग नहोस् । त्यसैगरी प्रतिकूल परिस्थिति आउँदा हामीमा त्यसप्रति द्वेषको भाव उत्पन्न हुन्छ र हामी चाहन्छौं त्यस किसिमको परिस्थिति कहिल्यै नआओस् तर हामी देख्छौं कि अनुकूल वा प्रतिकूल परिस्थिति आउनु जानु हाम्रो वशमा छैन । यस किसिमको परिस्थिति हाम्रो जीवनमा आउने जाने गर्दछ र हामीलाई त्यस किसिमको परिस्थितिको सामना गर्नु नै पर्दछ । समय समयमा अनुकूल र प्रतिकूल परिस्थितिको स्वभाव पनि बदलिरहन्छ । बच्चामा जुन चिजप्रति हाम्रो लगाव रहेको हुन्छ, ठूलो हुँदा त्यो बदलिन्छ र हामीले अरूप्रति राग लिन थाल्छौं । संसारमा सबै कुरा परिवर्तनशील छ, अस्थायी छ, यसकारण हाम्रो राग र द्वेषप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।

गीतामा भनिएको छ, ‘प्रत्येक इन्द्रियमा राग र द्वेष लुकेर बसेको हुन्छ । मनुष्यले यी दुईको वशमा आउनु हुँदैन, किनकि यी दुई नै कल्याणको मार्गमा रोकावट पैदा गर्ने महान् शत्रु हुन् ।’ उदाहरणको लागि हामीले आफ्नो कानमा ती कुराहरू मात्र सुन्न रूचाउँछौं जसप्रति हाम्रो लगाव छ । अर्को तर्फ जुन कुराहरूप्रति हामी द्वेष गर्दछौं ती कुराहरू हामी सुन्न पनि चाहँदैनौं चाहे त्यो हाम्रो हितमा नै किन नहोस् । जब कुनै व्यक्ति गलत बाटोमा गएर गलत काम गर्दछ भने त्यस अवस्थामा उसको कुनै हितैषीले उसको हितको लागि उसलाई सम्झाउन चाहन्छ भने पनि ऊ सुन्न पनि चाहँदैन । ऊ त्यस्ता शब्द र त्यो व्यक्तिप्रति पनि द्वेष गर्न थाल्दछ । यसैप्रकार अरू इन्द्रिय र त्यससँग सम्बन्धित विषयप्रति हाम्रो राग र द्वेष चलिरहन्छ । यदि हामी आफ्नो कल्याण वा हित चाहन्छौं भने हामी राग द्वेषको अधीनमा आउँनु हुँदैन ।



गीतामा भगवान कृष्णले भनेका छन्, ‘जुन पुरूष न कसैसँग द्वेष गर्दछ र न कुनै कुराको आकंक्षा गर्दछ, त्यो कर्मयोगी सधैँ सन्यासीको रूपमा मान्न योग्य हुन्छ ।’ त्यसकारण गीतामा समग्र मानव समूदायलाई पहिले द्वेषलाई छोड्नको लागि भनिएको छ ।

हामीमा अनेकौं वस्तुहरूप्रति राग वा द्धेष छ । यदि हामी राग द्वेषबाट पर रहेर निष्काम भावले लोकहित वा अरूको भलाईलाई ध्यानमा राखेर कर्म गर्दछौं भने यस्तो कर्मयोगी व्यक्ति सन्यासी सरह नै हो, अर्थात् ऊ कर्मबन्धनबाट मुक्त रहन्छ । अरू व्यक्तिको हितलाई ख्यालमा राखेर जब हामी कर्म गर्दछौं तब यसबाट हाम्रो मन र बुद्धि पवित्र हुन्छ । त्यसपछि हामीबाट कुनै नराम्रो काम हुन सक्दैन किनकि मन र बुद्धि शुद्ध भएपछि हामीमा स्वयं ज्ञान प्राप्त हुन्छ ।

यसकारण राग र द्वेष दुवै हाम्रो शत्रु हुन् र बन्धनका कारण पनि हुन् भनिएको हो । हामीले यो कुरा ध्यानमा राख्नुपर्दछ कि हाम्रो राग कुन वस्तु, व्यक्ति र पदार्थमा छ ? हामीले के के कुरामा द्वेष गर्दछौं र यसको कारण के हो ? यो कुरा जानेपछि विवेकको सहाराले मन र आफ्नो समस्त इन्द्रियहरूलाई वशमा राख्ने प्रयास गर्नु पर्दछ । इन्द्रियको त स्वभाव नै विषयतर्फ भाग्नु हो । हामीले त्यसलाई आफ्नो नियन्त्रणमा राखेर निष्काम भावले कर्म गर्न सक्नुपर्दछ, यसैमा हाम्रो हित निहित छ ।

सम्बन्धित समाचार