स्वास्थ्यकर्मी नै कोरोनाविरुद्धको खोप लगाउन डराए, सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेको आरोप

सरकारले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई कोरोनाविरुद्धको खोप लगाउने भनेको थियो । तर शनिबार पहिलो चरणको खोप अभियान सकिँदा जम्मा १ लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाएको सरकारी तथ्याङ्क छ ।

सरकारले सुरक्षामा विश्वास दिलाउन नसकेकाले डाक्टर र स्वास्थ्यकर्मी नै खोप लगाउन डराएका धेरैको आशङ्का छ । तर विस्तृत तथ्याङ्क आउन नसकेकाले खोप लगाउनेको संख्यामा कमी आएको हुनसक्ने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक तारानाथ पोख्रेल बताउछन् ।



उनी भन्छन्( ‘पहिलो चरणको खोप, त्यसमाथि विज्ञको संलग्नतामा जिल्लामा मात्र राखियो । त्यसैले पनि गाउँ(गाउँका स्वास्थ्यकर्मी तथा डाक्टरको पहुँचमा खोप पुगेन । र तथ्याङ्कमा पनि कम देखियो ।’ छोटो समयको तयारीमा यतिको सङ्ख्यामा खोप लगाउनु राम्रै भएको पोख्रेल बताउछन् । पहुँच भएका ठाउँका स्वास्थ्यकर्मीको राम्रै सक्रियता रहेको उनी दाबी गर्छन् ।

निर्देशक डा। पोख्रेल भन्छन्, ‘४ लाख ३० हजारसम्मलाई व्यवस्थापन गर्ने भन्ने नीतिगत निर्णय थियो । तर अग्रपंक्तिमा खटिने कति थिए भन्ने यकिन तथ्याङ्क भएन । छुटेकालाई फेरि खोप लगाउने तयारी भइरहेको छ ।’

नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये, कोही रिटायर्ड, कोही विदेशमा भएकाले भनेअनुसार भनेको संख्याभन्दा कमले खोप लगाएको हुन सक्ने उनको भनाइ छ । हाम्रो देशमा पहिलो चरणमा लगाइएको खोप विश्व बजारमा नै दुर्लभ खोप हो । भारत सरकारले हामीलाई सहयोगको रुपमा उपलब्ध गरायो । खोपको दुरुपयोग नहोस् भनेर मन्त्रालयले एकदमै सावधानी अपनाएकाले पनि तथ्याङ्कमा थोरै देखिएको उनले बताए । ‘नडराइ लगाउनुहोस्, खोप सुरक्षित छ’

एकदमै परिस्कृत भएर आएको खोप भएकाले नडराइकन खोप लगाउन डा। पोख्रेल सबैमा आग्रह गर्छन् । यो खोप विश्वका धेरै देशले लगाइसकेका छन् । नेपालमा महामारीको जोखिम टरिसकेको छैन । कोरोनाको दोस्रो लहर आउने चेतावनी विज्ञले पनि दिइरहेका छन् । कोरोनाकै परिवर्तित स्वरुप पनि देखिएको छ ।

यस्तो अवस्थामा उपलब्ध भएसम्म कोरोनाको खोप लगाउँदा राम्रो हुने पोख्रेलको भनाइ छ । खोप लगाउने अहिले राम्रो मौका भएकाले आफू, परिवार र समाजलाई जोगाउनका लागि पनि उपलब्ध भएसम्म खोप लगाउनै पर्छ ।

सम्बन्धित समाचार