प्रकाश पौड्याल
काठमाडौं, ८ वैशाख ।
सन् ५४ देखि ६८ सम्म नीरो रोमन साम्राज्यका सम्राट बने । उनले १७ वर्षकै कलिलो उमेरमा सम्राट बन्ने सौभाग्य पाएका थिए । उनलाई रोमन साम्राज्यको सम्राट बनाउनमा उनकी आमा ऐग्रिप्पिनाको ठूलो भूमिका रहेको थियो भनिन्छ । आरम्भमा नीरोको शासन व्यवस्था ठीकठाकै थियो । तर जब जब समय बित्तै गयो, सम्राट नीरो क्रुर र अत्याचारी बन्दै गए । उनको शासन व्यवस्थामा प्रश्न उठाउन थालेपछि उनले आफ्नै आमाको पनि हत्या गरिदिए जसले उनलाई रोमन सम्राट बनाउन अनेक प्रपञ्च मिलाएकी थिइन् ।
समय बित्तैजाँदा नीरो झन्झन् विलासी र अत्याचारी बन्दै गए । उनी यतिसम्म क्रूध बने कि उनको शासन व्यवस्थामा विमति राख्ने आमा, श्रीमती, भाइ, गुरु, प्रशासक सबैको निर्ममतापूर्वक हत्या गरिदिए । उनको अत्याचार र गैह्रजिम्मेवारीपनले सन् ६४ मा उत्कर्ष रूप लियो । त्यस वर्ष रहस्यमय रूपमा रोम शहरमा आगो लाग्यो । आगजनीका कारण रोम शहर जलिरहेको थियो, सयौंको संख्यामा नागरिकहरू समेत हताहत भएका थिए तर रोमन सम्राट नीरो भने आगोको लप्का हेरेर आनन्दले बाँसुरी बजाइरहेका थिए ।
त्यसैबेलादेखि आफ्नो जिम्मेवारी नबुझ्ने शासकहरूप्रति व्यङ्ग्य गर्दै भन्न थालियो– रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछन् ।
इतिहास भन्छ– ६ दिनसम्म रोम शहरमा लागेको त्यस आगजनीेबाट सयौं नागरिक र शहरको ठूलो हिस्सा जलेर नष्ट भएको थियो तर सम्राटको तर्फबाट आगो निभाउन कुनै सार्थक पहल भएन । सम्राटको भूमिकाबाट त्रूद्ध बनेको रोमन सिनेटले आफ्नै सम्राट नीरोलाई दुश्मन घोषणा मात्र गरेन, पछि फाँसी नै दिनेसम्मको निर्णय गर्न पुग्यो । अन्ततः आफ्नो शासन र विलासीपन जोगाउन हजारौंलाई बलि चढाउन पनि नहिच्किचाउने निरङ्कुश तानाशाह नीरो पक्राउ पर्ने डरले आत्महत्या गरेर आफ्नै जीवन त्याग्न बाध्य भए ।
समय समय विश्व रङ्गमञ्चमा देखिएका निरङ्कुश तानाशाहहरूको स्वाभाविक मृत्यु भएको पाइँदैन ।नेपालको वर्तमान अवस्थालाई रोमन साम्राज्यका शासक नीरोको त्यस कालखण्डसँग तुलना गर्दा कता कता के के मिलेको जस्तोे अनुभूति हुन्छ ।
यस लेखमा नेता तथा नेतृत्वप्रति कुनै पूर्वाग्रह राखेर लाञ्छित गर्न खोजिएको होइन तर राजनीतिलाई त्याग र समाज सेवाका रूपमा हेरिनुपर्छ भनेर यस क्षेत्रमा लागेका नेपालका नेता वा नेतृत्वहरूले राजनीतिकर्मीमा हुनुपर्ने न्यूनतम गुण पनि देखाउन नसक्ता जनतामा छाएको निराशालाई अभिव्यक्ति दिइएको मात्र हो । उदाहरणका लागि प्रधानमन्त्री केपी ओली सिङ्गो देशको प्रधानमन्त्री बन्न छाडेर एउटा सानो गुटको मात्र प्रधानमन्त्री बन्नमा रमाइरहेका छन् । उनका भाषणमा आलोचना र अरूलाई होच्याउने कुराहरू र कुण्ठा पाख्नुबाहेक सारपूर्ण कुरा केही भेटिन्न । न दाहाल, नेपाल, देउवा, पौडेल, भट्टराई वा अरू कसैले आफूलाई खरो रूपमा प्रस्तुत गर्न सके । यी कसैमा पनि एउटा राजनेतामा हुनुपर्ने गुण र विशेषताहरू देखिएन । देशलाई लागेको चोटभन्दा उनीको स्वाभिमानमा लागेको चोट ठूलो भयो । उनीहरूको आफ्नो स्वाभिमान र स्वार्थका अगाडि देश र जनताका समस्याहरू गौण बने । अहिले देशका लागि गर्नुपर्ने धेरै कामहरू थाती छन् तर जुन कार्य गर्न आवश्यक थिएन, त्यही काम गरेर अमूल्य समय र देशको ढुकुटी बर्बाद गरिरहेका छन् ।
नेपालमा अहिले आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्यसम्बन्धी, कृषिसम्बन्धी तथा शासन व्यवस्थासँग जोडिएका हजारौं समस्याहरू विद्यमान छन् । यस्ता कामहरू सम्बोधन गर्ने तर्फ कसैको ध्यान पुगेको छैन । चुनावका बेला बाँडेका सपनाहरू सपनामै सीमित छन् । भन्नेगरिन्छ– दुईतिहाइको सरकारले गर्न नसक्ने केही हुँदैन । तर यो मान्यतालाई पनि ‘कामै गर्न दिएनन्’ भन्ने बाहनामा ओली सरकारले असत्य सावित गरिदियो । तैपनि सरकार समृद्धिले शिखर चुमेको हावादारी तथ्यहरू अलागिरहेछ, हामी ओली र ओली सरकारको भजन गाउनमा मस्त छौं । नेपाली जनताले अझै कति समयसम्म ढुङ्गो पाक्ने अपेक्षा गर्दै अँगेनो कुरेर बस्ने होला ?
विगत केही समयदेखि कहिले नकपाको नाममा, कहिले एमालेको नाममा र कहिले कुनै व्यक्तिविशेषका नाममा देशमा अनावश्यक रडाको मच्चिरहेको छ । यो रडाको देशका जल्दाबल्दा समस्याका लागि भने किमार्थ होइन । कसैलाई कुर्सी जोगाउनु छ भने कसैलाई कुर्सीमा पुग्नु छ । कसैलाई लाभको पद जाला भन्ने भय छ, कसैलाई लाभको पदमा पुग्ने ध्याउन्न । कोही श्याल र साँडेका कथाका श्याल पात्र बनेका छन् । आफ्नो लाचारीपनलाई लुकाउन भनिने कुराहरू त केवल ‘फेस सेभिङ’ मात्र रहेछ । यो जुहारी अर्थहीन छ । यो जुँगाको लडाइँमा सिङ्गो देश प्रताडित छ । कसैलाई पनि देश र जनताका समस्याप्रति चिन्ता र चासो देखिएन । यो आरोप कुनै व्यक्तिप्रति लक्षित छैन, देखिएको प्रवृत्तिप्रति हो ।
नेताहरूसँग भिजनका नाममा टेलिभिजनबाहेक केही देखिएन । देशलाई समृद्धशील बनाउने कुरा त भाषणमा मात्र सीमित बने । देशमा जताततै बेथिति र भ्रष्टाचार व्याप्त छ । अभाव छ, अत्याचार छ, बलात्कार छ, पीडा छ, कोरोनाको त्रासदी छ तर सरकारमा बसेकाहरू र पार्टीका शीर्षनेताहरू भने प्रेत बनिसकेका नीरोसँग बाँसुरी सापटी लिएर बेसुरको राग अलापिरहेछन् । अनि, देश र जनताका अनन्त समस्याहरूललाई बेवास्ता गर्दै आफ्नो मात्र दुनो सोझ्याउने दाउमा लागेका छन् । यस्तो प्रवृत्ति देख्ता रोमनका तत्कालीन तानाशाह नीरोले विभिन्न रूपमा नेपालमा पुनर्जन्म लिएको आभास हुन्छ । रोग, अभाव, बेथिति र भ्रष्टाचारले नेपाल जलिरहेछ, नीरोहरू बेसुरे बाँसुरी बजाइरहेछन् ।