नाथुराम गोड्से : महात्मा गान्धीको हत्यादेखि उनको फाँसीसम्म

नाथुराम को थिए ?
नाथुराम गोड्सेको पूरा नाम नाथुराम विनायकराव गोड्से हो । उनको वास्तविक नाम रामचन्द्र गोड्से थियो । उनको जन्म मराठी हिन्दू बाह्मण परिवारमा १९ मई १९१० मा बृटिस भारतको पुणे जिल्लाको बारामती भन्ने ठाउँमा भएको थियोे । उनका बाबुको नाम विनायक वामनराव गोड्से र आमाको नाम लक्ष्मीबाई गोड्से थियो । नाथुराम आफ्ना आमाबाबुका पाँचौं सन्तानका रूपमा जन्मिएका थिए । उनीभन्दा अगाडि ३ जना दाजुहरू र एकजना दिदी जन्मिएका भए पनि उनका तीनैजना दाजुहरूको बाल्यवस्थामा नै मृत्यु भएको थियो । तीनजना छोराहरूको सानै उमेरमा मृत्युभएपछि उनीहरूलाई छोरा नफाब्ने ठानी नाथुरामका बाबुआमाले अब पनि छोरो जन्मियो भने उसलाई छोरी जसरी पाल्ने निर्णय गरेका थिए । नाथुराम जन्मिएपछि उनका बाबुआमालाई नाथुरामको पनि दाजुहरूको जस्तै हालत होला कि भनेर डराए र नाथुरामलाई छोरीजसरी नै पालन–पोषणको व्यवस्था गरेका थिए ।

उनका बाबुआमाले नाथुरामलाई छोरीजस्तै गरेर पालन–पोषण मात्र गरेनन्, छोरीकै पोशाक लगाउन दिएर नाक छेडेर नत्थी पनि लगाइदिएका थिए । लामो समयसम्म सबैले नाथुरामलाई बालिकाकै रूपमा बुझिरहे । नाक छेडेकोले ‘नाथु’ र उनको वास्तविक नामको रामचन्द्रबाट ‘राम’ जोडेर उनको नाम ‘नाथुराम’ रहन गयो । पछि उनी यही नामबाट चिनिए । यिनका एक भाइ पनि भए, जसको नाम गोपाल राखियोे । गोपालको जन्मपछि भने दुबै छोराहरूलाई बालककै रूपमा प्रस्तुत गरिएको थियो ।
नाथुरामको परिवार आर्थिक रूपमा सामान्य वर्गको थियो । उनका बाबु हुलाक सेवाका कर्मचारी थिए । नाथुराम शान्त स्वभाव, बुद्धिमान तथा गतिशील प्रकृतिका थिए । उनको प्रारम्भिक शिक्षा बारामतीकै स्थानीय विद्यायलमा नै आरम्भ भएको थियो तर पछि अङ्ग्रेजी भाषा पढ्न भनेर उनलाई पुणे पठाइयो । यिनको औपचारिक पढाइप्रति खास्सै लगाव थिएन, त्यसैले उनले म्याट्रिकलेभलको परीक्षामा पनि सफलता हासिल गर्न सकेनन् । बरू स्कुले जीवन परित्याग गरी रामायण, महाभारत, गीता, पुराणहरूको स्वध्यायन गरे । यिनले स्वामी विवेकानन्द, स्वामी दयानन्द, बालगंगाधर तिलक, महात्मा गान्धी तथा वीर सावरकर आदिका साहित्य तथा विचारहरूको गहिरो अध्ययन गरेका थिए ।



पढाइलाई छोडेपछि यिनी राष्ट्रिय स्वयम्सेवक संघ र हिन्दु महासंघमा आबद्ध भए । त्यसताका उनी महात्मा गान्धीका ठूला प्रशंसक र समर्थक थिए; गान्धीलाई आदर्श मान्दथे । त्यसैले उनी पनि महात्मा गान्धीले चलाइरहेको स्वतन्त्रता आन्दोलनमा सरिक भएका थिए । यसैबीच यिनका बाबुको सरुवा महाराष्ट्रको रत्नागिरी शहरमा भयो । त्यसपछि सपरिवार त्यहीँ बसाइँ सरे । यहींबाट उनको जीवनले नयाँ गोरेटो समातेको थियो ।

नाथुरामको राजनीतिक यात्रा :
सन् १९२९ मा १९ वर्षको उमेरमा नाथुरामको भेट एक हिन्दुवादी नेता वीर सावरकर भनेर चिनिने विनायक दामोदर सावरकरसँग भयो । सावरकर महाराष्ट्र रत्नागिरीका क्रान्तिकारी छवि भएका महान् सेनानीका रूपमा चिनिन्थे । यिनकै प्रेरणा र प्रोत्साहनले नाथुराम राजनीतिमा लाग्न उत्साहित भए । यिनले सन् १९३२ मा राष्ट्रिय स्वयम्सेवक संघको सदस्यता लिए र हिन्दु महासभाको पनि कार्यकर्ता बने । हिन्दु महासभाकै लागि आफू सम्पादक बनेर मराठी भाषामा ‘अग्रणी’ नामक समाचार पत्रिका प्रकाशन आरम्भ गरे । पछि यस पत्रिकाको नामकरण ‘हिन्दु राष्ट्र’ गरियो । यस समय यिनका मित्र थिए– नारायण आप्टे । आप्टे पनि यस पत्रिकामा लेखहरू प्रकाशन गर्ने गर्थे ।

प्रारम्भिक दिनहरूमा नाथुराम महात्मा गान्धीका विचार र दर्शनबाट अत्यन्त प्रभावित थिए र उनलाई राजनीतिका आदर्श गुरु मान्दथे । उनी गान्धीले चलाएको ब्रिटिस हुकुमतविरुद्धको नागरिक अवज्ञा आन्दोलनका समर्थक र अनुयायी थिए । तर पछिपछि नाथुरामको बुझाइमा गान्धीबाट लगातार रूपमा मुस्लिमहरूको पक्ष लिँदा हिन्दुहरूलाई अन्याय हुन थाल्यो । गान्धीबाट मुस्लिम लीग र हिन्दुहरूबीच हुने गरेको भेदभावपूर्ण नीतिको उनी कटु आलोचक बन्दै गए । विशेष गरी गान्धीको मुस्लिम लीगप्रतिको अतिरिक्त झुकाव उनलाई मनपर्दैनथ्यो । नाथुरामले भनेका पनि छन्– गान्धीले अल्पसङ्ख्यक मुस्लिमहरूको अधिकारका लागि धेरै पटक अनसन बसे तर बहुसङ्ख्यक हिन्दुहरूको अधिकारको लागि भने एकपल्ट पनि अनसन बसेनन् । नाथुराम हिन्दुवादी भएकोले हिन्दुहरूमाथि भएको अन्याय सहन सक्तैनथे । उनी मोहम्मत अली जिन्नाको नीतिका पनि विरोधी थिए, किनभने जिन्ना पनि मुस्लिम समर्थक थिए ।

नाथुरामले अदालतमा वाचन गरेको वयान पत्रमा उनले गान्धीको हत्या गर्नुका १५० कारणहरू प्रस्तुत गरेका भए पनि दुईवटा मतभेदहरू विशेष देखिन्छन् । ती हुन्– गान्धी अल्पसङ्ख्यक मुसलमानहरूका पक्षमा सधैं उदार देखिनु र भारतको विभाजनलाई सहमति प्रदान गर्नु ।

नाथुराम अखण्ड भारतका पक्षमा थिए तर गान्धी भारतको विभाजनको पक्षमा देखिए, जुन नाथुरामलाई पटक्कै मनपरेको थिएन । अन्ततः सिङ्गो भारत १५ अगष्ट १९४७ का दिन भारत र पाकिस्तानका रूपमा विभाजित भएरै छोड्यो । यस विषयले नाथुरामको मनमा गरिहो चोट लागेको थियो ।

भारतको विभाजनपछि भारतले पाकिस्तानलाई ७५ करोड रुपैयाँ दिने सर्त थियो । सर्तमध्येको २० करोड रुपैयाँ तत्कालै दिइएको थियो भने ५५ करोड रुपैयाँ दिन बाँकी थियो । यसैबीच पाकिस्तानले भारतको कश्मीर प्रान्तमा आक्रमण गर्यो । यसको बदलास्वरूप भारत सरकारले पाकिस्तानलाई सर्तअनुसार दिनुपर्ने ५५ करोड रुपैयाँ नदिने निर्णय गर्यो । गान्धी यस निर्णयको विपक्षमा उभिए । अनसन बसेर भए पनि गान्धीले भारत सरकारबाट उक्त रकम पाकिस्तानलाई उपलब्ध गराएरै छोडे । गान्धीको यस निर्णयले पनि नाथुरामलाई थप आहत बनाएको थियो ।

गान्धीको हत्या गर्ने निर्णय :
नाथुराम गोड्सेले गान्धीको हत्या किन गरे ? भन्ने शीर्षकमा जनवरी ३०, २०१९ को अङ्कमा अच्छी काम डट कम लेख्छ– नाथुराम गोड्से एक विचारक, समाज सुधारक तथा पत्रकारका साथै महात्मा गान्धीलाई सम्मान गर्ने व्यक्तिहरूमध्ये अग्रणी थिए । सत्ता परिवर्तन (ब्रिटिस हुकुमतको अन्त्य) पछि गान्धीवादमा जुन परिवर्तन देखियो, त्यसबाट केवल नाथुराम मात्र होइन, सम्पूर्ण राष्ट्रवादी युवा वर्गहरूले आहत महसुस गरेका थिए । नाथुराम भारतको विभाजन हुनदिन चाहँदैनथे तर त्यसबेला राष्ट्रिय कांग्रेसको नेतृत्व गरिरहेका पण्डित जवाहरलाल नेहरू विभाजनको पक्षमा थिए । भारत विभाजनको प्रस्तावलाई गान्धीले पनि समर्थन गरेपछि भारत दुई टुक्रामा विभाजित हुन पुगेको थियो ।

विभाजनपछि भारतले पाकिस्तानलाई तिनुपर्ने ७५ करोडमध्येको ५५ करोड रुपैयाँ प्रधानमन्त्री नेहरू र गृहमन्त्री सरदार बल्लभभाइ पटेलको सल्लाहमा उक्त रकम पाकिस्तानलाई नदिने निर्णय गरे । तर भारत सरकारको यस निर्णयका विरुद्धमा महात्मा गान्धीले आमरण अनसन नै बसे । गान्धीको यस निर्णयबाट क्षुब्ध बनेका नाथुराम र उनका केही साथीहरूले गान्धीको हत्या नै गर्ने निर्णय गर्न पुगे । यसै निर्णयको परिणाम्स्वरूप गान्धीको हत्या भयो ।

कसरी भयो हत्या ?
त्यसबेला गान्धी दिल्लीस्थित बिडला हाउस (हालको गान्धी स्मृति भवन) मा बस्दथे । जनवरी ३०, १९४८ को सन्ध्याकालमा पनि सधैंझैं उनी प्रार्थना सभामा सामिल हुन त्यसतर्फ पैदल जाँदै थिए । नाथुराम पनि सुरक्षाकर्मीको घेरालाई छल्दै गान्धीको नजिक पुगे । दुईजना युवतीको सहारामा प्रार्थना सभातिर जाँदै गरेका गान्धीलाई पहिले उनले अभिवादन गरे । त्यसपछि आफूले लुकाएर ल्याएको पेस्तोलबाट लगातार तीन गोली गान्धीको छातीमा प्रहार गरे । गान्धी त्यहीँ ढले । गोलीकाण्डपछि त्यहाँ भागदौढ मच्चियो तर गान्धीमाथि गोली प्रहार गरेका नाथुरामले त्यहाँबाट भाग्ने प्रयास गरेनन् बरू प्रहरीसामु आत्मसमर्पण गरे ।

गान्धीका छोरा र नाथुरामबीचको वार्ता :
नाथुरामले जेल जीवन बिताइरहेका बेला महात्मा गान्धीका कान्छा पुत्र देवदास गान्धी नाथुरामलाई भेट्न गएका थिए । भेटमा नाथुरामले भनेका थिए– ‘आज तिमीले आफ्ना पिता गुमायौ । तिमी र तिम्रो परिवारलाई जुन दुःख पुगेको छ, त्यसका लागि म खेद व्यक्त गर्दछु । तर मलाई विश्वास गर, मैले कसैको इशारामा त्यसो गरेको थिएनँ, न ममा उनीप्रति कुनै दुर्भावना नै थियो ।’
‘त्यसो भए मेरा बाबालाई किन मार्यौै त ?’ देवदास गान्धीले सोधे ।
‘केवल अनि केवल राजनीतिक कारणले !’ नाथुरामले उत्तरमा भने ।

नाथुराम गोड्सेको हत्या :
अदालती कारवाही एक वर्षभन्दा बढी समयम्म चल्यो । अदालतमा नाथुरामले पढेर सुनाएको वयान महात्मा गान्धीलाई हत्या गर्नुका १५० कारणहरू पनि निक्कै चर्चाको विषय बने । अन्ततः पञ्जाव उच्च न्यायलयले ८ नोभम्बर १९४९ मा उनलाई मृत्युदण्ड दिने फैसला सुनायो । अदालती फैसलाको एक हप्तापछि अर्थात् १५ नोभम्बर १९४९ का दिन ३९ वर्षका नाथुराम गोड्सेलाई अम्बाला जेल (पञ्जाव) मा फाँसी दिइयो । त्यसैदिन उनीसँगै उनका साथी नारायण आप्टेलाई पनि सोही कारणले फाँसी दिइएको थियो ।

नाथुरामले जेलजीवन बिताइरहँदा उनले ‘मैले गान्धीलाई किन मारें’ भन्ने किताब पनि देखेका थिए तर त्यस किताबलाई प्रकाशन गर्न प्रतिबन्ध लगाइयो ।

नाथुरामको अन्तिम वयान :
नाथुरामले न्यायधीशको अनुमति पाएपछि अदालतमा अन्तिमपल्ट एउटा लिखित वयान आफैंले माइकमा वाचन गरेर सुनाएका थिए । यो लिखित वयान यति मार्मिक थियो कि अदालतमा उपस्थित सबैका आँखा रसाएका थिए, सबै भावुक बनेका थिए । एउटा अनलाइनले एक न्यायधीशको हवाला दिंदै लेखेको छ– यदि अदालतमा उपस्थित मानिसहरूलाई जुरी मानेर नाथुरामको मुद्दामा फैसला गर्न भनिएको थियो भने निःसन्देह भारी बहुमतले नाथुराम निर्दोष भएको निर्णय आउने थियो ।

उनको वयानको केही अंश–
– म भन्छु कि मैले गोली एउटा यस्तो मान्छेमाथि चलाएको थिएँ जसको नीति तथा कार्यबाट करोडौं हिन्दुहरूको विनास एवम् बर्बादी भएको थियो । यस्तो कुनै कानुनी प्रक्रिया थिएन जसद्वारा अपराधीलाई सजाय दिलाउन सकियोस् । यसकारण मैले घातक मार्गको अनुसरण गर्नुपर्यो ।

– गान्धी धेरै ठूला देशभक्त थिए । उनले निःस्वार्थ भावले देशको सेवा गरे । म उनलाई धेरै आदर गर्छु तर कुनै पनि देशभक्तलाई देशलाई विभाजन गर्ने र कुनै एक सम्प्रदायप्रति पक्षपात गर्ने अनुमति दिन सक्तिनँ । गान्धीजीको हत्याबाहेक मसँग अर्को विकल्प थिएन ।

– यदि आफ्नो देशप्रति भक्तिभाव राख्नु कुनै पाप कार्य हो भने मैले पाप गरेँ तर यदि यो पुण्य कार्य हो भने यसबाट आर्जित पुण्यपदमा म मेरो अधिकार व्यक्त गर्दछु ।

नाथुरामप्रति विभाजित जनमत :
नाथुरामले भारत सरकारले महात्मा स्वीकार गरेको तथा राष्ट्रपिता मानेको व्यक्तिलाई हत्या गरेका थिए, जसले अहिंसात्मक आन्दोलनका बलमा भारतमा शासित ब्रिटिस हुकुमतलाई भारतबाट हट्न बाध्य गराई एउटा स्वतन्त्र देश भारत बनाउन अथक प्रयास गरेका थिए र उनी आफ्नो प्रयासमा सफल पनि भएका थिए । नाथुराम गोड्से पनि हिन्दु राष्ट्रवादी छवि भएका समाज सुधारक र क्रान्तिकारी नेता थिए । ब्रिटिसबाट भारत स्वतन्त्र हुँदा बहुसङुख्यक हिन्दुहरू र अल्पसङ्ख्यक मुसलमानहरूका बीच ठाउँठाउँमा झडपहरू भएका र धेरै जीउ–धनको नोक्सानी भएको थियोे । नाथुरामको आरोप थियो– जब जब अल्पसङ्ख्यक मुसलमानहरूले बहुसङुख्यक हिन्दुहरूमाथि थिचोमिचो र अन्याय गर्थे, महात्मा गान्धीले सधैं मुसलमानको नै पक्षमा निर्णय लिएका थिए । नाथुराम हिन्दु सम्प्रदायका भएकोले उनी हिन्दुहरूमाथि भएको बर्बरतापूर्ण व्यवहार सहन सक्तैनथे । गान्धीसँगको उनको दूरी बढ्नुको मुख्य कारण पनि यही थियो । यसको समाधानका लागि उनले हिंसाको मार्ग आत्मसात् गरे ।

नाथुरामको यस कार्यलाई धेरैले आतङ्कवादी माने भने उनलाई राष्ट्रवादी भन्नेहरूको पनि कमी छैन । जनमत विभाजित छ । अहिले पनि नाथुरामका बारेमा वृत्तचित्र बनाउनेदेखि उनको व्यक्तित्वलाई उठाउन विभिन्न कार्यक्रमहरू गर्ने कार्य भइरहेका छन् ।

मिडियाहरूको कुरा मान्ने हो भने सन् २०१४ मा भारतीय जनता पार्टी सत्तामा पुगेपछि हिन्दु महासभाले नाथुरामलाई देशभक्त व्यक्तित्वका रूपमा चित्रण गर्ने प्रयास गरेको थियो । भाजपाले ३० जनवरी २०१५ मा गान्धीको स्मृति दिवशको अवसरमा प्रदर्शन गर्ने गरी ‘देशभक्त नाथुराम गोड्से’ नामको एक डकुमेन्ट्री नै बनाएको थियो । सन् २०१९ को चुनावमा मध्यप्रदेश भोपालकी लोकसभाकी उमेद्वार प्रज्ञासिंह ठाकुरले नाथुरामलाई ‘देशभक्त’ भनेर सम्बोधन गरेकी थिइन् । उनको यस भनाइप्रति प्रश्न उठाइएपछि उनले भूल सुधार गरेकी थिइन् । यद्यपि विस्तारै नाथुरामको छवि राष्ट्रवादी व्यक्तित्वका रूपमा उठाउने प्रयास भइरहेको बुझ्न सकिन्छ ।

तर पनि मानव समाजमा एउटा गम्भीर प्रश्न भने जीवन्त रूपमा रहिरहेको छ; त्यो के भने– के वैचारिक विभेद निरुपणको निर्विकल्प बाटो हिंसा मात्रै हो त ?

(हि डट विकिपेडिया डट ओआरजी, वायोग्राफीइनहिन्दी डट कम, न्युजट्रेण्ड डट न्युज, हिन्दीसर्टस्टोरिज डट कम, दसिम्पलहेल्प डट कम तथा बीबीसी डट कम-हिन्दी आदि अनलाइन संस्करण तथा युट्युब आदि सामाजिम सञ्जालहरूको सहयोगमा तयार पारिएको सामग्री)

 

 

सम्बन्धित समाचार