कांग्रेसको महाधिवेशनले युवा पुस्तालाई नेतृत्वमा ल्याओस्

नेपाली कांग्रेसमा १४औं महाधिवेशनको नजिकिँदै जाँदा स्वाभाविक रूपमा उमेद्वारहरूबीच सरगर्मी पनि बढेको छ । आगामी महाधिवेशनबाट आफूलाई नयाँ पहिचान र परिचय दिन सम्भावित उमेद्वारहरू लागिपरेका देखिन्छन् । त्यसका लागि क्रियाशील सदस्यहरूमा आफ्ना मान्छे ल्याउनेदेखि आ–आफ्नो लविङ बलियो बनाउने दिशातिर नेता तथा कार्यकर्ताहरू क्रियाशील देखिन थालेकाछन् । त्यसैले पनि महाधिवेशन आउन ६३/६४ दिन बाँकी रहँदा अल्छी नेता कार्यकर्ताहरू पनि तङ्ग्रिएका छन् । अर्को महाधिवेशनसम्म निदाएर बसे पनि महाधिवेशनअगाडि अस्वाभाविक क्रियाशीलता देखाउने कांगे्रसको परम्परागत चरित्रले यस पटक पनि मतदाताहरूलाई प्रभाव नपार्ला भन्न सकिन्न ।

आफू मात्र ठीक र बाँकी सबै बेठीक मान्ने हाम्रो संस्कारमा अझै परिवर्तन आएको छैन । त्यसैले पार्टी प्रजातान्त्रिक भए पनि सोच अप्रजातान्त्रिक राख्नेहरूको कांग्रेस पार्टीमा कमी छैन । अनेक कुतर्क र अनेक बाहनामा पार्टी सभापतिदेखि महामन्त्रीसम्मका शीर्ष पदहरू हडप्नका लागि हजुरबा पुस्ताहरू नै पुनः जुर्मराउन थालेका छन् । कांग्रेसमा बाबु पुस्ता र छोरा पुस्ताहरूको पालो कहिले आउने हो त्यसै भन्न सकिने अवस्था छैन । हजुरबा पुस्तालाई आमरण सक्रिय पद चाहिएको छ । उनीहरू आफू अभिभावकीय पदमा बसेर युवा पुस्तालाई सक्रिय पदमा आउन आव्हान गर्न सक्तैनन् । हजुरबा पुस्तालाई युवा पुस्ताको सामथ्र्यमा नै शङ्का त नहोला, तर आफू ओझेलमा परिने र आफ्नो बार्गेनिङ पावर नरहने भयबाट उनीहरू ग्रसित र त्रसित देखिन्छन् । यो मनोरोगबाट उनीहरू पनि माथि उठ्न जरुरी छ ।



र, उनीहरूको मनोरोगबाट सिङ्गो पार्टी प्रताडित बनेको कुरा हजुरबा पुस्ताले बिर्सनु हुन्न । आम कार्यकर्ता र मतदाताहरूले पनि उनीहरूलाई ‘अब तपाईहरू अभिभावकीय भूमिकामा बसिदिनुहोस् र युवालाई आफ्नो योग्यताको परीक्षण गर्ने मौका दिनुहोस्’ भन्न सक्नुपर्छ । सम्भवतः यो रोगबाट नेपाली कांग्रेस पार्टीमा मात्र होइन, नेपालका अधिकांश पार्टीहरू पीडित छन् । यस दीर्घ रोगबाट कांग्रेस बाहिर ननिस्केसम्म कांग्रेसले पुर्नजीवन पाउन सक्ने अवस्था छैन । हजुरबा पुस्ताले जति कुतर्क गरेर आफूलाई स्थापित गर्न कोसिस गरे पनि पटक पटक परीक्षण गरिसकिएका पुस्ताबाट आम जनताले कुनै अपेक्षा गरेका छैनन् र सम्भव पनि छैन । उनीहरूको महानता पनि बालहठ छोडेर योग्य पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुमा छ ।

नेपाली कांग्रेसका एकथरी मान्छेहरू अनेक कुतर्क गर्दै महाधिवेशन गर्ने यो उपयुक्त समय नरहेको भन्दै लविङ गर्दै गरेको सुन्नमा आएको छ । अहिले खेतीपातीको समय भएको र बाढी पहिरोको जोखिम रहेको भन्दै यस्तो अवस्थामा गाउँ नगर हुँदै केन्द्रसम्म अधिवेशन गर्न गाह्रो हुने तर्क उनीहरूको सुनिन्छ । वास्तवमा यो कुतर्क हो र झन प्रतिगमनकारी सोच हो । भदौ महिना पहिलोपल्ट आएको हो र ? भदौमा महाधिवेशन गर्ने भनेर निर्णय गर्दा भदौ महिना वर्खा याममा आउँछ भन्ने हेक्का थिएन र ? त्यसै पनि अवैधानिक हुन आँटेको नेपाली कांग्रेस पार्टीलाई यस चिन्तनले झन् धराशायी बनाउने छ । सम्भवतः यो पद लम्ब्याउने एउटा सहज बाहनाबाहेक अरू केही होइन । नेपाली कांग्रेसको वैधानिक अस्तित्वका लागि पनि निर्धारित समयमा महाधिवेशन हुन जरुरी छ र यस महाधिवेशनमार्फत् युवा पुस्ता नेतृत्वमा आउने अवसर पाउनुपर्छ ।

महाधिवेशनको गर्मीले सिङ्गो मुलुकलाई प्रभावित बनाइरहेको बेला नुवाकोट जिल्ला पनि त्यसबाट अछुतो रहने कुरै भएन । नुवाकोट तीन-तीन जना प्रभावशाली केन्द्रीय सदस्य रहेको जिल्ला हो । संघीय राजधानी काठमाडौंसँग सीमा जोडिएको नुवाकोटको राजनीतिलाई पहिलेदेखि नै विशेष चासोका साथ हेर्ने गरिएको छ । यो जिल्ला पनि गुट, उपगुट र खेमागत चरित्रबाट पनि अछुतो छैन । पछिल्लो समयमा यहाँ युवा कांग्रेसहरूको सक्रियता बढी देखिन्छ । उनीहरू पनि यस अधिवेशनबाट आफ्नो भाग्य र भविष्यलाई परीक्षण गर्न तयारी गर्दैछन् ।

यसैक्रममा भेटघाट र सम्पर्क बाक्लिदै गएको छ र क्षेत्रीय सभापतिदेखि प्रदेश प्रमुखसम्म धेरै आकाङ्क्षीहरू मैदानमा देखिन थालेका छन् । यसै मेसोमा चारपटकसम्म नुवाकोट कांग्रेसको सभापति भइसकेका युवा नेता जगदीश्वरनरसिंह केसीले बागमती प्रदेशको प्रमुखमा उमेद्वारी दिने चर्चा चुलिएको छ । उनका निकटवर्ती स्रोतका अनुसार केसी प्रदेश प्रमुखमा उमेद्वारी दिने अन्तिम तयारीमा रहेको बताउँछन् । युवा कांग्रेसहरूबीच लोकप्रिय रहेका केसीले जिल्ला सभापति रहँदा ककनीमा जिल्ला सभापतिहरूको बृहद् भेला गराएर आफ्नो योग्यता देखाइसकेका छन् । गुट र उपगुटबाट घात भएन भने प्रदेश प्रमुखमा युवा नेता केसीको उमेद्वारीले कांग्रेसलाई नयाँ उचाइमा पुर्याउने धेरैको अपेक्षा रहेको बुझिन्छ ।

सम्बन्धित समाचार