सन्दीप भट्टराई
काठमाडौं, १७ साउन ।
नेपालमा मोबाइलको इतिहास त्यति लामो छैन । वि सं २०५६ सालमा नेपालमा मोबाइल भित्रिएको हो । २०५६ देखि २०६० सम्म नेपालमा पोष्टपेड मोबाइल मात्र संचालनमा आएको थियो । तर, २०६० साल भदौ ६ देखि नेपलमा प्रिपेड मोबाइल पनि संचालनमा आयो । नेपालमा मोबाइल भित्रिएको दुई दशकभन्दा बढी मात्र भएपनि अहिले नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या भने उल्लेखनीय रूपमा रहेको पाइन्छ ।
अहिले बालकदेखि वृद्धसम्म सबैले मोबाइल उपयोग गरेको देख्न सकिन्छ । आज हामीले विषय उठाउन खोजेको विषयचाहिँ बालबालिकाहरूलाई मोबाइल कतिको उपयोगी छ ? भन्ने हो ।
वर्तमान समयमा बालबालिकाहरूलाई व्यस्त बनाउने सहज साधनको रूपमा मोबाइल परिचित बनेको छ । अहिले उनीहरूलई खाना खुवाउनको लागि पनि मोबाइल एक माध्यम बनेको छ । यदि हामी कतै जानू पर्यो र छोराछोरीलाई भिडभाडमा नलाने सोच आयो भने हामी मोबाइल दिएर बाहिर निस्कने गर्दछौं, जसले गर्दा घण्टौंसम्म उनीहरू मोबाइलमा रमाइरहेका हुन्छन् ।
अहिले हामी बालबालिकालाई अक्षर सिकाउन मोबाइल फोनको सहारा लिन्छौं, खाना खुवाउनको लागि पनि त्यसैको सहारा लिन्छौं । र, मोबाइल देखाउने बित्तिक्कै उनीहरू खुरूखुरू खाना खाने गर्छन् । यदि मोबाइल देखाउन छोड्यो भने खाना नै खाँदैनन् । देख्दा यस्ता साना लाग्ने क्रियाकलपका कारण बालबालिकाहरू विस्तारै मोबाइलतर्फ आकर्षित हुन्छन् र पछि गएर उनीहरूलाई यसको लत नै लाग्दै जान्छ ।
हामी मोबाइल बालबालिकाहरूलाई ज्ञानवद्र्धक कुराहरू सिकाउनको लागि उपयोग गर्न सक्छौं । अहिले कोरोनाको महामारीले गर्दा नेपालमा मोबाइलबाटै अनलाइन कक्षा संचालन भैरहेको छ । तर, खाना खुवाउन, उनीहरूलई भुलाउन, घरबाट बाहिर निस्किन नदिन जस्ता क्रियाकलापमा बालबालिकाहरूलाई मोबाइल प्रयोग गर्न दिनु राम्रो होइन । एकहोरो मोबाइल हेर्दा उनीहरूको दृष्टि कमजोरी हुँदै जान्छ, मेरूदण्डमा पनि समस्या आउन सक्छ र विस्तारै यसले जटिल समस्याको रूप लिन सक्छ ।
अहिलेका बालबालिकाहरू मोबाइल चलाउने कुरामा आमाबुबाभन्दा बढी पोख्त हुन्छन् । अमेरिकामा गरिएको एक अध्ययनअनुसार मोबाइलको कम प्रयोग गर्ने र मोबाइलको अधिक प्रयोग गर्ने बालबालिकाको मस्तिष्कको विकास फरक फरक रहेको नतिजा प्राप्त भयो । तुलनात्मक रूपमा अधिक मोबाइल प्रयोग गर्ने बालबालिकाको मस्तिष्कको विकासमा बाधा भएको देखियो भने कम प्रयोग गर्नेको मस्तिष्कको विकास सामान्य तवरले भएको पाइयो । यस परिणामले सबै अभिभावकहरूलाई झस्काएको हुनुपर्छ ।
मोबाइलको प्रयोगका कारण मस्तिष्कको एउटा भाग ‘इन्सुल’ प्रभावित हुँदा बालबालिकामा मानसिक समस्या देखा पर्ने कुरा बाहिर आयो । मोबाइलबाट उत्पन्न हुने विकिरणका कारण बालबालिकामा स्मरण शक्तिमा ह्रास आउने, मस्तिष्कमा क्यान्सर हुनेजस्ता जटिल समस्याहरू पनि देखिए । उनीहरूमा देखापर्ने मानसिक तनावको एउटा कारण मोबाइल बन्यो । मोबाइलको अधिक प्रयोग गर्ने बालबालिकामा पढाइ र लेखाइमा कमजोरी हुने तथा पारिवारिक हार्दिकतामा भन्दा मोबाइलमा मात्र रमाउने खालको स्वभाव विकसित भएको देखियो ।
मोबाइल धेरै चलाउने बालबालिकाहरू मोबाइलमा नै सीमित हुन पुग्छन् । उनीहरू बाहिरी संसारबारे प्रायः अनभिज्ञ हुन्छन् । त्यसैले गर्दा बालबालिकाहरूलाई मोबाइलको लतबाट छुटाउन उनीहरूलाई व्यस्त बनाउने, पढाइ लेखाइमा रूचि जगाउने, अभिभावकहरूले पर्याप्त समय दिने र घरमा बसेर मोबाइल चलाउनमा भन्दा कुनै खेलप्रति उत्प्रेरित गर्ने हो भने अत्याधिक मोबाइल चलाउने लतबाट बालबालिकालाई बचाउन सकिएला । उनीहरूलाई मोबाइल छुनै नदिने भनेको होइन र त्यो सम्भव पनि छैन तर मोबाइलको अत्यधिक प्रयोगबाट जोगाउनुचाहिँ आजको आवश्यकता हो । बरू अभिभावकहरूले उनीहरूलाई कथा–कविता सुनाउने, नाचगान गर्न लगाउने वा अन्य विकल्पहरू गर्नेे जसले गर्दा उनीहरू मोबाइलमा धेरै समय बिताउन नपाउन् ।
मोबाइलको न्यून प्रयोग गर्ने वातावरणको विकासले बालबालिकाहरूलाई शारीरिक, मानसिक र मनोवैज्ञानिक दुस्प्रभावबाट बचाउन ठूलो मद्दत पुग्दछ ।