एलपी पौड्याल
काठमाडौं, १८ कात्तिक ।
विषय प्रवेश :
लक्ष्मीप्रसाद देवकोटा महाकवि भएर चर्चित बनेका होइनन्, उनी साहित्यमा असाधरण व्यक्तित्वका धनी भएर महाकविको उपाधि पाएका हुन् । उनको अद्भूत सिर्जनशीलतालाई देखेर विदेशी विद्वानहरूले समेत उनको मुक्त कण्ठले प्रशंसा गर्नेगरेका थिए । कतिले त देवकोटालाई भौगोलिक भूल भएर मात्र नेपालमा जन्मिन पुगेका व्यक्तित्वसम्म भनेका थिए ।
बाल्यकालदेखि बाँचुञ्जेल उनले निरन्तर लेखिरहे । उनी लेख्नलाई नै भनेर जन्मिएका थिए । तर भनिन्छ– उनले लेखेका ७५ प्रतिशत सामग्रीहरू कता उडे, कता पुगे अत्तोपत्तो नै रहेन । जति सामग्रीले प्रकाशन हुने अवसर पाए, त्यसैका आधारमा पनि उनी साहित्यमा असाधारण क्षमता राख्ने व्यक्तित्व थिए भन्न सकिन्छ । वास्तवमा उनी नेपाली साहित्यका युग पुरुष र सर्वोच्च शिखर नै थिए ।
जन्म तथा प्रारम्भिक शिक्षा :
बाबु पण्डित तिलमाधव देवकोटा र आमा अमर राज्यलक्ष्मी देवीका साहिँला छोराका रूपमा लक्ष्मीप्रसाद देवकोटाको जन्म विसं १९६६ साल कात्तिक २७ गते (१२ नोभेम्बर १९०९) का दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाम तीर्थमाधव देवकोटा भए पनि तिहारको लक्ष्मीपूजाका दिन जन्मिएकाले लक्ष्मीमाताको ‘प्रसाद’ ठानेर उनको नाम लक्ष्मीप्रसाद राखियो । उनले यही नामबाट प्रसिद्धि पनि पाए तर वास्तविक जीवनमा भने उनी ‘लक्ष्मीप्रसाद’ भन्दा पनि ‘सरस्वतीप्रसाद’ बन्न पुगे ।
देवकोटा जन्मदा नेपालमा राणाशासन थियो । राणाकालमा सर्वसाधारण जनताका छोराछोरीलाई पढ्न लेख्न सहज थिएन । किनभने त्यसताका स्कुलकलेज खोल्न प्रतिबन्ध थियो । राणाले आफ्ना सन्तानलाई पढाउन भनेर स्थापना गरेको एकमात्र दरबार हाईस्कुलमा आम मानिसको पहुँच सम्भवभन्दा माथि थियो तर लक्ष्मीप्रसाद देवकोटाका पिता तिलमाधव देवकोटा भने राणाहरूका पनि पण्डित भएको र राणाशासकहरूसँग उनको राम्रो सम्बन्ध भएकोले केही प्रयासपछि देवकोटाले दरबार हाईस्कुलमा प्रवेश पाएका थिए । यसरी उनको औपचारिक शिक्षाको थालनी दरबार हाईस्कुलबाट भएको थियो । उनी १२ वर्षको उमेरमा त्यहाँ भर्ना भएका थिए । उनी अब्बल दर्जाका विद्यार्थी भएकोले आफ्नो कक्षामा सधैँ विशिष्ट पाँचभित्र पर्दथे ।
देवकोटा सानै उमेरदेखि तीक्ष्ण बुद्धिका थिए र कलिलै उमेरदेखि कविता लेख्न अभ्यस्त भएका थिए । दरबार हाईस्कुलमा पढ्दै गर्दा देवकोटाले कविता लेखेर धेरैलाई चकित पारेका थिए । उनी आफूले रचना गरेका सिर्जनालार्ई साथीभाइबीच सुनाउन रमाइलो मान्दथे । उनका कविताको स्तर र गाम्भीर्यतालाई मनन् गरेर साथीभाइहरू भने ती रचनाहरू देवकोटाका आफ्नै हुन भनेर विश्वास गर्दैनथे । उनीहरूलाई लाग्थ्यो दाजु लेखनाथका रचनाहरूलाई देवकोटा आफ्ना भनेर फुर्ती लगाउँदै सुनाउने गर्छन् ।
एकदिन देवकोटाका साथीहरूले उनको सेखी झार्न सबैका सामु कविता लेखन लगाएर उनको क्षमताको परीक्षण गर्ने निर्णय गर्छन् । साथीहरूले तयार पारेको शीर्षकमा कविता लेख्न लगाउँछन् । तर आश्चर्यजनक रूपमा छोटै समयमा देवकोटा यति राम्रो र स्तरीय कविता लेखेर देखाइदिन्छन् कि साथीभाइ सबै चकित हुन पुग्छन् । त्यो हल्ला उनीहरूलाई पढाउने शिक्षकसम्म पनि पुग्छ । देवकोटाकोे त्यो बाल प्रतिभा देखेर उनलाई पढाउने शिक्षकले देवकोटालाई ‘कोपिलाउँदो कवि’ को उपाधि दिन्छन् ।
सन् १९२५ मा देवकोटा विज्ञान विषयको अध्ययन गर्न त्रिचन्द्र कलेजमा भर्ना हुन्छन् । विज्ञानमा प्रमाणपत्र तह पूरा गरेपछि पटनाबाट मानविकीमा स्नातक गर्दछन् । सन् १९२९ मा स्नातक तह पूरा गरेपछि उनी छात्रवृत्ति लिएर अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्न चाहन्थे । तर उनको यो प्रयत्न सम्भव नभएपछि उनले कानून विषयको अध्ययन गरे । कानुनमा स्नातकोत्तर गरेर उनी नेपाल फर्किए ।
आर्थिक अवस्था :
लक्ष्मीप्रसादका पिता तिलमाधव देवकोटा राणाहरूसँग राम्रै सम्पर्क भएका प्रसिद्ध पण्डित भएर पनि उनीहरूको आर्थिक अवस्था भने खास्सै राम्रो थिएन । तिलमाधवका १३ सन्तान थिए । सन्तान धेरै हुनु र आर्थिक अवस्था खास्सै राम्रो नहुनुले त्यसको असर लक्ष्मीप्रसादलाई पनि परेको थियो । अध्ययन सकेर जागिर नपाउञ्लेल उनले निक्कै कष्ट झेल्नुपरेको थियो । घरको आर्थिक समस्या हल गर्न उनी दैनिक १८ घण्टासम्म ट्युसन पढाउने गर्थे । यही बेला आमा र बुवाको निधन भयो । यसले देवकोटामा मानसिक र आर्थिक दबाव थपिन्छ । सन् १९४३ मा नेपाली भाषा अनुवाद प्रतिष्ठानमा र पछि त्रिचन्द्र कलेजमा पनि जागिर पाएपछि भने उनको आर्थिक अवस्थामा केही सुधार आएको देखिन्छ ।
त्यही बेला गणेशमान सिंह देवकोटालाई बनारसबाट प्रकाशित हुने युगवाणीको सम्पादन गरिदिन अनुरोध गर्दछन् । त्यसताका राणाशासनका विरुद्धमा नेपाली कांग्रेस बनारसमा मोर्चाबन्दी गर्दै थियो । गणेशमान सिंहको अनुरोधलाई स्वीकार गर्दै नेपाली कांग्रेसको मुखपत्र युगवाणीको सम्पादन गर्न देवकोटा सन् १९४७ मा बनारस गए । त्यहाँ उनले सोचेजस्तो सहज भएन । यता नेपालमा रहेका उनको परिवारमा पुनः दुःखका दिनहरू फर्किए । राणाहरूको क्रोधाग्निमा परेका देवकोटा परिवारले स्वदेशमा रहेर पनि ठूलो हण्डर र ठक्कर खानुपर्यो ।
देवकोटाको बनासर बसाइ पनि सार्थक हुन सकेन । राणाशासकका विरुद्धमा आवाज बुलन्द गरेर राणाशासकका नजरमा आँखाको कसिंगर बनेका देवकोटा हैजाबाट प्रताडित भई १०४ डिग्री ज्वरो आउँदासमेत साथीभाइलगायत कसैबाट पनि कुनै सहयोग पाउन सकेनन् । यसले उनको स्वभिमानमा चोट लाग्यो र उनी दुखी बने । त्यसपछि उनले बबर शमशेरलाई पत्र लेख्तै अबदेखि राजनीति नगर्ने प्रतिबद्धता जनाए । त्यसपछि बबर शमशेरले नै बाटो खर्च दिएर देवकोटालाई नेपाल आउने वातावरण मिलाइदिए । नेपाल फर्केपछि पनि उनको आर्थिक अवस्थामा अपेक्षकृत सुधार आउन सकेन ।
पारिवारिक सम्बन्ध र सहयोग :
लक्ष्मीप्रसाद देवकोटा सानै उमेरदेखि विलक्षण बुद्धिका थिए र उनको पढाइ पनि त्यति नै राम्रो थियो । उनको पढाइप्रतिको लगाव र कुशाग्र बुद्धि देखेर बाबु पण्डित तिलमाधवले उनलाई ‘सरस्वती प्रसाद’ भन्ने उपनाम नै राखेका थिए । उनका पहिला गुरु पनि उनै थिए । उनले छोरालाई पाँच वर्षसम्ममा नै राम्रोसँग नेपाली अक्षर चिनाइसकेका थिए । उनले सानै उमेरमा नै देवकोटालाई संस्कृतका अमरकोश, स्त्रोत्रमालालगायत ठूला ठूला ग्रन्थहरू कण्ठस्त गराएका थिए । तिलमाधव प्रसिद्ध पण्डित मात्र होइन कवि पनि थिए । उनी आफूले नेपाली र संस्कृतमा लेखेका कविता छोरो लक्ष्मीप्रसादलाई साफी गर्न लगाउँथे । बाबुका कविता पुनर्लेखन गर्दागर्दै लक्ष्मीप्रसादमा पनि कविताको रस पसेको र कविता कोर्न आरम्भ गरेको कुरालाई स्वयम्ले लक्ष्मीप्रसादले स्वीकार गरेका छन् ।
लक्ष्मीप्रसादका दाजु लेखनाथ देवकोटा अङ्ग्रेजीका विद्वान थिए र दाजुलाई आदर्श मान्दथे । आफू पनि दाजुजस्तै अङ्ग्रेजी पढेर अङ्गे्रजी शिक्षक बनी पैसा कमाउने उनको चाहना थियो । पण्डित बाबु भने छोरो पनि आफूजस्तै पण्डित होस् भन्ने चाहन्थे । देवकोटाको जीवनमा परिवारका सदस्यहरूमध्ये बाबुको धेरै र दाजुको केही प्रभाव परेको थियो । आमाको प्रेरणा पनि उल्लेखनीय थियो ।
१६ वर्षको उमेरमा देवकोटाको १४ वर्षकी मनदेवी चालिसेसँग विवाह भयो । मनदेवी सुन्दर थिइन् । उनीहरूबीचको सम्बन्ध पनि त्यस्तै सुन्दर थियो । देवकोटा महाकवि हुनमा श्रीमती मनदेवीको पनि हात र साथ थियो भनिन्छ । दुःख र अभावका बीच पनि उनीहरूका पाँच छोरी र चार छोराहरू भए ।
साहित्यिक जीवन :
दस वर्षको कलिलो उमेरदेखि नै उम्दा कविता लेख्ने देवकोटाको साहित्यिक प्रतिभा अद्वितीय थियो । साहित्यमा उनलाई प्रारम्भमा आफ्नै पिताजीको प्रभाव परेको थियो भने पछि कविशिरोमणि लेखनाथ पौड्यालको पनि प्रभाव परेको थियो । पाश्चात्य कवि वर्डस्वर्थ र सेलीबाट उनी प्रभावित थिए । यिनै व्यक्तित्वहरूबाट धेरथोर प्रभाव ग्रहण गरेर देवकोटाले साहित्यका सबै विधामा कलम चलाएका थिए ।
देवकोटाले पद्यमा फुटकर कविता, खण्डकाव्य, महाकाव्य, गीतिकाव्य तथा गद्यमा बालसाहित्य, कथा, निबन्ध, नाटक, उपन्यास आदिमा आफ्नो असाधारण प्रतिभा देखाएका छन् तर पनि उनले काव्य विधामा र निबन्ध विधामा पुर्याएको योगदानलाई उच्चकोटीको मानिन्छ । उनीद्वारा रचना गरिएका सबै कृतिहरूको आफ्नै खालको महत्व र उचाइ भए पनि उनको सर्वाधिक लोकप्रिय रचना भनेको लोक भाकामा लेखिएको मुनामदन बन्यो । कालजयी कृति मुनामदन र देवकोटा एक अर्कोका पर्याय बनेका छन् । सम्भवतः यही कुरालाई मनन् गरेर देवकोटाले आफ्नो जीवनको अन्तिम अवस्थामा मुनामदनबाहेक अरू सबै कृतिहरू जलाइदिए हुन्छ भनेका थिए । आज पनि मुनामदनको लोकप्रियता खास्सै घटेको छैन । साझा प्रकाशनबाट प्रकाशित भएका कृतिहरूमा सर्वाधिक बिक्री हुने कृतिमा मुनामदन पर्दछ र त्यो कीर्तिमान अझै कायमै रहेको छ ।
देवकोटा आशु कवि थिए । उनीमा एकदमै चाँडो कविता लेख्नसक्ने क्षमता विद्यमान थियो । उनी धारा प्रवाह रूपमा काव्यात्मक अभिव्यक्ति दिन सक्थे । तीन महिनामा शाकुन्तल महाकाव्य, दस दिनमा सुलोचना महाकाव्य र एकैदिनमा कुञ्जिनी खण्डकाव्य लेखिसक्नु जोसुकैका लागि सम्भव हुने कुरा थिएन । तर साहित्यमा देवकोटाका लागि भने असम्भव केही थिएन ।
देवकोटाले झ्याउरे छन्द अर्थात् लोकभाकालाई मुनामदनमार्फत् शिखरमा पुर्याएका थिए भने नेपाली साहित्यमा पाश्चात्य स्वच्छन्दतावादलाई नवीन उचाइमा पुर्याउन अग्रणी भूमिका खेलेका थिए । नेपाली साहित्य–सिर्जनालाई अङ्गे्रजीमा अनुवाद गरेर पाश्चात्य जगत्सम्म पुर्याउने कार्यको थालनी पनि उनैले गरेका थिए । अङ्ग्रेजी भाषामा पनि देवकोटाको रामै्र दख्खल थियो ।
साहित्यमा देवकोटाको अद्वितीय प्रतिभा देखेर भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवतारका रूपमा लिएको छु’ भनेका थिए । उनले तत्कालीन भारतका तीन चर्चित साहित्यिक व्यक्तित्व÷कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक देवकोटा हुन् भनेर मुक्त कण्ठले देवकोटाको प्रशंसा गरेको पाइन्छ । यसै भनाइले पनि देवकोटाको व्यक्तित्वको प्रभाव देशभित्र मात्र होइन, देशबाहिर पनि कस्तो थियो भनेर अनुमान लगाउन सकिन्छ । उनी १४ भाषा बुझ्ने क्षमता राख्दथे भने ९ भाषामा त साहित्य रचना नै प्रकाशित भएका छन् ।
उनी साहित्यमा पागल थिए । उनी उठ्ता, बस्ता, हिँड्दा, खाँदा अथवा चेतन वा अचेतन अवस्थामा पनि काव्य चिन्तनभन्दा बाहिर हुँदैन थिए । भनिन्छ– उनी पिउँदै गरेको सिगरेटको टुक्रामा समेत कविता लेख्न भ्याउँथे । कविता लेख्तै गर्दा चुरोटले आफ्नो हात जलेको पनि थाहा पाउँदैन थिए । बाँचुञ्जेल उनी चुरोट र कविताबाट अलग्गिन सकेनन् ।
राजा र देवकोटा :
००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि राजा त्रिभुवनले देवकोटालाई सल्लाहकार सभाको सदस्य बनाए । बुबा त्रिभुवनको कदमलाई राजा महेन्द्रले पनि निरन्तरता दिए । राजा महेन्द्र पनि मविवि शाहको नामबाट साहित्य लेख्ने भएकोले दुई साहित्यिक व्यक्तित्वको मित्रताले घनीभूत रूपमा मौलाउने अवसर पायो । सम्भवतः यही कारणले कलकत्तामा देवकोटाको क्यान्सरको अपरेशन हुन लाग्दा राजा महेन्द्रले उनलाई निक्कै ठूलो सहयोग गरेका थिए ।
नेपाली भाषामा पठनपाठनमा योगदान :
बबर शमशेरलाई अबदेखि राजनीति नगर्ने प्रतिबद्धता जनाएर नेपाल भित्रिएका भए पनि राणाशासनको अन्त्यपछि देवकोटाले राजाको सल्लाहकार सभाको सदस्य हुँदै मन्त्री पनि बन्ने अवसर पाएका थिए । डा. केआई सिंहको मन्त्रीमण्डलमा देवकोटा सन् १९५७ मा शिक्षा तथा स्वायत्त शासन मन्त्री बने । उनैको पहलमा नेपालमा नेपाली भाषामा पठनपाठन आरम्भ भयो । त्यसअघि नेपालभरि हिन्दी भाषामा मात्र पढाइ हुन्थ्यो । उनैका पालामा त्रिभुवन विश्वविद्यालय स्थापनाका लागि ५ हजार रोपनी जग्गाको व्यवस्थापन भयो र त्रिविको स्थापना भयो । त्रिभुवन विश्वविद्यालयको स्थापना गराउन देवकोटाको ठूलो भूमिका रहेको मानिन्छ ।
क्यान्सर र मृत्युवरण :
देवकोटामा पेटसम्बन्धी रोग थियो । उनलाई अल्सर भएको थियो तर आर्थिक अभाव र घरायसी तनावका कारण समयमा नै उपचार गराउन सकेनन् । सन् १९५९ मा कलकत्तामा परीक्षण गराउँदा अल्सर बिग्रेर क्यान्सर भइसकेको डाक्टरहरूले जानकारी गराए । उनको अप्रेसनको लागि धेरैतिरबाट सहयोग आयो तर सबैभन्दा धेरै सहयोग राजा महेन्द्रले गरेका थिए ।
उनको स्वास्थ्य बिग्रिँदै गयो । क्यान्सर पीडित देवकोटाको अवस्था गम्भीर बन्दै गएपछि उनलाई उपचारका शान्तभवन अस्पताल लगियो । अस्पताल भर्ना अगाडि नै देवकोटालाई आफ्नो मृत्युको आभास भइसकेको थियो । त्यसैले उनले डाक्टरहरूलाई आफू त्यहाँ मर्न आएको भनेका थिए ।
अस्पतालमा रहँदा उनले तीनवटा कविता लेखेका थिए । उनले लेखेको अन्तिम कविता ‘म शून्यमा शून्यसरी बिलाएँ’ भन्ने थियो जुन उनको निधनपछि झन् चर्चित बन्यो ।
सन् १९५९ सेप्टेम्बर १४ तारिखका दिन लेखनाथ पौड्याल र बालकृष्ण समको सानिध्यमा पशुपति आर्यघाटमा नेपाली साहित्यका शिखर व्यक्तित्व देवकोटा भौतिक रूपमा सधैं सधैंका लागि बिलाएर गए । साहित्यमा उनले पुर्याएको योगदान भने चिरकालसम्म संसारले सम्झिरहने छ ।
देवकोटासँग जोडिएका अन्य केही सन्दर्भहरू :
– राणाहरूसँग देवकोटा परिवारको राम्रो सम्बन्ध भए पनि देवकोटाले कानुनमा स्नातकोत्तर गरेर आएपछि पनि लामो समयसम्म उनलाई जागिरको अवसर दिइएन ।
– देवकोटामा जुवा खेल्ने र चुरोट खाने कुलत थियो । पहिले देवकोटा चुरोटलाई घृणा गर्थे तर पछि चुरोट उनको अभिन्न साथी बन्यो ।
– गरिबी र अभावका बीच पनि उनी दानी स्वभावका थिए । एकदिन बाटोमा उभिइरहेको बेला एउटा बटुवा जाडो मौसममा पनि न्यानो लेगा लगाउन नसकेर काम्दै हिँडिरहेको देखे । त्यस अकिञ्चनलाई देखेर देवकोटालाई दया लागेर आफूले लगाइरहेको कोट फुकालेर उसलाई लगाइदिएका थिए रे !
– सन् १९३८ जनवरी ४ तारिखका दिन उनलाई पागल भएको ठानेर राँचीको मानसिक अस्पतालमा लगियो । त्यहाँ उनले १५५ दिन बिताए । आर्थिक समस्याका कारण मानसिक तनावमा परेका बेला उनलाई पागल ठानेर अस्पताल लगियो भनेर एक प्रसङ्गमा देवकोटा आफैंले भनेका छन् । यसै सन्दर्भलाई व्यङ्ग्य गर्दै उनले ‘पागल’ शीर्षकमा कविता पनि लेखेका छन् ।
– सन् १९५८ को अक्टोबरमा तत्कालीन सोभियत गणराज्य उज्वेकिस्थानको राजधानी तस्कन्दमा भएको अफ्रो–एसियाली लेखक सम्मेलनमा देवकोटाले नेपाली टोलीको नेतृत्व गरेका थिए । त्यहाँ बोल्नु अगाडि देवकोटालाई दुई बोत्तल रगत चढाइएको थियो तर त्यस अवस्थामा दिइएको उनको भाषण भने चर्चित बनेको थियो ।
– देवकोटा धर्मपत्नी मनदेवी मुनामदन खण्डकाव्यबाट यति प्रभावित भएकी थिइन् कि उनले कान्छी छोरीको नाम नै मुना राखेकी थिइन् । देवकोटाले त्यसो नगर्न पत्नीलाई सम्झाउँदै भनेका थिए– छोरीको पनि मुनालाई जस्तै पतिवियोग सहनुपर्ने अवस्था आइपर्नसक्छ । नभन्दै कालान्तरमा दुर्भाग्यबस् कान्छी छोरीले पतिवियागको पीडा सहनुपर्यो ।
देवकोटाका प्रकाशित मुख्य कृतिहरू :
कवितासङ्ग्रह : आकाश बोल्छ, चिल्ला पातहरू, छहरा, छागासँग कुरा, जन्मोत्सव मुटुको थोपा, भावनागाङ्गेय, भिखारी, मनोरञ्जन, मृत्युशैय्या, लक्ष्मी कवितासङ्ग्रह, लक्ष्मी गीतिसङ्ग्रह आदि ।
खण्डकाव्य : कुञ्जिनी, जिप्सी, मायाविनी, मुनामदन, राजकुमार प्रभाकर, रावणजटायु युद्ध, सीताहरण, म्हेन्दु आदि ।
महाकाव्य : पृथ्वीराज चौहान, प्रमिथस, महाराणा प्रताप, वनकुसुम, शाकुन्तल र सुलोचना ।
गीतिकाव्य : दुष्यन्तशकुन्तला भेट, पहाडी पुकार, मैना, लुनी, वसन्ती, सुन्दरीजलमा ।
गीतसङ्ग्रह : गाइने गीत, लक्ष्मी गीतसङ्ग्रह ।
कथासङ्ग्रह : लक्ष्मी कथासङ्ग्रह ।
नाटक : रजपूत रमणी, सावित्री सत्यवान, कृषिवाला (गीतिनाटक) ।
उपन्यास : चम्पा ।
निबन्धसङ्ग्रह : दाडिमको रूखनेर, लक्ष्मी निबन्धसङ्ग्रह ।
बालसाहित्य : पुतली भाग, सुनको बिहान ।
अनुवाद : प्रसिद्ध प्रबन्धसङ्ग्रह, बिग गेम सुटिङ इन नेपाल, म्याकबेथ ।
अङ्ग्रेजीमा अनूदित : द ब्यालेड अफ लुनी, शाकुन्तल महाकाव्य । आदि ।
(विभिन्न समयमा प्रकाशित अनलाइन सामग्रीहरूको सहयोगमा)