नवराज घिमिरे
काठमाडौं, १८ कार्तिक ।
नुवाकोट कांग्रेस विगत लामो समयदेखि गुट उपगुटको घेरा बाट बाहिर निस्कन सकेको छैन । र, अहिलेसम्म पनि त्यही गुट र उपगुटमैं रूमलिरहेको छ । हुन त कांग्रेस केन्द्रदेखि वडातहसम्म फरक प्यानल र खेममा विभाजित छ । १३ औं महाधिवेशनबाट त तेस्रो धारको रूपमा कृष्णप्रसाद सिटौलाको पनि उदय भयो । आफ्नो छुटै प्यानको ब्यानरमा महाधिवेसनमा होमिए पनि उनले राष्ट्रिय राजनीतिमा खास्सै प्रभाव जमाउन भने सकेनन् । उनको प्यानलले नराम्रोसँग पराजय भोग्नु पर्यो । यसरी कांग्रेस मुख्य रूपमा तीन धारमा विभाजित भयो ।
कांग्रेसका दुई धारहरू हालसम्म पनि केन्द्रदेखि वडातहसम्म कायम छन् । तेस्रो धार मानिएका सिटौला धार केन्द्रमै सीमित छ । नुवाकोटमा चाहिँ फरक गुट बनाएर हिँडेका केसी र महत अहिलेसम्म पनि एक हुन नसकेपछि स्थानीय नेता तथा कार्यकर्तामा चिन्ता र चासो बढदै गएको छ । चारवर्ष अघि स्थानीय तथा संघीय निर्वाचनमा नराम्रोसँग हार व्यहोर्न पुगेको कांग्रेस नेताहरूको होस अझै नआएकोमा कार्यकर्ता तथा शुभचिन्तकहरू चिन्तित र खिन्न देखिन्छन् ।
१३ औं महाधिवेशनपछिको एक कालखण्डमा केसी र महत दुबै समूह मिलेर अगाडि बड्ने र सबैलाई एकताको सन्देश दिन खोजेका थिए तर १४ औं महाधिवेसन नजिकिएसँगै फेरि अलग अलग समूह बनाउँदै हिड्न थालेका छन् । हुँदा हुँदा विभिन्न चाडपर्वको अवसरमा गरिने शुभकामना आदान प्रदान कार्यक्रमसमेत अलग अलग गर्नुपर्ने स्थिति आएको छ । यो सैद्धान्तिक लडाइँ नभएर केवल जुँगाको लडाइँ मात्र हो । साँढेको लडाइँमा बाछाको दुर्दशा हुने अवस्थाले नेपाली कांग्रेसका शुभचिन्तक र कार्यकताहरू रणभुल्लमा परेका छन् ।
नुवाकोट कांग्रेसका दुबै गुटहरू जसरी पनि जिल्ला आफूले कब्जा गर्ने रणनीति अपनाएर हिड्न थालेका छन् । दुबै समूहका नेताहरूले फरक फरक स्थानमा आयोजना गरेको चियापान कार्यक्रममा महत समूहका बहादुरसिहं लामालगायतले आयोजना गरेको कार्यक्रममा केसी समूहका नेता तथा कार्यकर्ता नअटाउने र केसी समूहले गरेको कार्यक्रममा महत समूहका नजाने परिस्थितिले यो केवल जुँगाको लडाइँ हो भन्ने पुष्टि गर्दछ । जनताका समस्याहरू ओझेलमा परेका छन् । यसरी नुवाकोट कांग्रेस गुट–भाइसरबाट प्रताडित देखिन्छ ।
एउटै पार्टीभित्रका एक खेमाले अर्को खेमालाई खुइल्याउँदै जाने प्रवृत्तिले कसैलाई भलो गर्दैन भन्ने कुरा वषौंदेखि राजनीति गर्दै आएका नेतालाई कसरी सम्झाउने ? उनीहरूको कदमले पछि आउने पुस्तालाई पनि दिग्भ्रमित पार्नेछ भन्ने कुरा कसरी बुझाउने ? गुटभन्दा पार्टी ठूलो हुन्छ र पार्टीभन्दा देश ठूलो हुन्छ भन्ने कुरा पनि बुढा नेताहरूलाई भनिरहनु नपर्ने हो तर उनीहरूको गतिविधिलाई नजिकबाट विश्लेषण गर्दा बुढो हुँदैमा कोही पनि परिपक्व नहुँदोरहेछ भन्ने कुरालाई स्मरण गराउँछ ।
एकपक्षले अर्को पक्षलाई गाली गर्दैमा देशले समृद्धि हासिल गर्छ भने अब पाठ्यक्रममा पनि त्यही अनुसारका सामग्रीहरू समावेश गराऔं । होइन भने अब आफ्नै पार्टीका एक गुटले अर्को गुटलाई गाली गर्दा कार्यकर्ताले पनि थप्पडी बजाउन बन्द गरौं । नेताले कालोलाई सेतो र सेतोलाई कालोभन्दा ‘हो हजुर’ भन्न बन्द गरौं । कसैले कसैलाई लाञ्छना लगाउँदा रमाउन बन्द गरौं । कार्यकर्ताको तालीले नै नेताहरू बिग्रिने हुन् । उनीहरूका बकम्फुसे कुरालाई सच्याउन र जनताका वास्तविक समस्यामा केन्द्रित हुन दवाब दिने हो भने धेरै कुरा मिल्दै जानेछन् । गुट केवल जुँगाको लडाइँ भएकोले गुटको भेलामा कार्यकर्ताहरू जानै बन्द गर्ने हो भने पनि नेताहरू सच्चिन कर लाग्छ । नत्र नुवाकोट मात्र होइन, सिङ्गो देश नै गुटमय हुने छ । नेपाली कांग्रेस मात्र होइन, सबै दलहरू गुटैगुटको संगठनजस्ता मात्र हुनेछन् ।