मलाई रहरले होइन, परिस्थितिले निर्देशक बनाइदियो : सुजन खतिवडा

काभ्रेको बनेपा नगरपालिका वडा नं ९ मा जन्मिएका म्युजिक भिडियो नवनिर्देशक तथा कलाकार सुजन खतिवडा सानै उमेरदेखि नै गीत सङ्गीतलाई माया गर्थे । म्युजिक भिडियोका क्षेत्रमा खतिवडाको बेग्लै पहिचान बनिसकेको छ ।

खतिवडा साङ्गीतिक, अभिनय तथा चलचित्रका विभिन्न क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने जमर्कोमा छन् । ‘हाँसो’ नामक छोटो चलचित्रबाट कलाकारका रूपमा भित्रिएका खतिवडाले ‘सायरी एक देखावटी संसार’, ‘सेल्फी र सेल्फिसको जमाना’ लगायतका छोटा चलचित्रबाट आफूलाई दर्शकमाझ चिनाइसकेका छन् । उनी निर्देशनभन्दा पनि मोडलिङ गर्न सहज हुने बताउँछन् ।



५ वर्षमा लगभग २५–३० वटा म्युजिक भिडियोहरू निर्देशन गरेका खतिवडा आज म्युजिक क्षेत्रमा होस् या चलचित्र क्षेत्रमा सफल पनि भएका छन् । उनका ‘ए दाजु नसमाऊ नाडीमा (कभर भिडियो), ह्याप्पी न्यु एयर (कभर भिडियो), म्युजिक भिडियो ‘काठमाडौँको सहरमा’, ‘मनै त हो नि’ लगायतका भिडियोहरू निकै चर्चित रहेका छन् । खतिवडा विसं २०१० देखि २०२० सम्मको सिन्धुपाल्चोकको सिन्धुकोटमा बसोवास गर्ने एउटा ब्राह्मण समाजको वास्तविकता दर्शाउन एउटा पृथक किसिमको ‘लगौंटी : एक रीति’ नामक चलचित्र केही समयपछि ल्याउने तयारीमा जुटेको बताउँछन् ।

पहिलो भिडियो गर्दा आफूले रहर पूरा गरेको भन्ने आरोप खेपेको सम्झँदै खतिवडा सानैदेखि फिल्म हेर्ने गरेको र प्रायः जसो म्युजिक भिडियो हेर्न आफूले नछुटाएको बताउँछन् । आफूलाई निर्देशकभन्दा पनि कलाकार भन्न रूचाउने खतिवडाले आफूलाई परिस्थितिले निर्देशक बनाएको धारणा व्यक्त गर्दछन् । निर्देशन गरेका सबैलाई म्युजिक भिडियोलाई मन पारउने खतिवडासँग नवकान्तिपुर डटकमका लागि सन्दीप भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

म्युजिक भिडियोलाई कसरी परिभाषित गर्नु हुन्छ ?
म्युजिक भिडियो भनेको आम स्रोतालाई मनोरञ्जन दिने एक माध्यम हो । गीत सङ्गीत भनेको मेरो विचारमा एक कला हो । म्युजिक भिडियो सुन्न र हेर्न बनाएको हो । त्यसैले दर्शकलाई मनोरञ्जन दिने क्रममा म्युजिक भिडियोले अहम् भूमिका खेलेको छ । र, यो दर्शकको चाहना पनि हो ।

धेरै म्युजिक भिडियो निर्दशन गर्नु भयो । तर तपाईलाई मन पर्ने म्युजिक भिडियो कुन हो ?
मैले निर्देशन गरेको सबै भिडियो मलाई मनपर्छ । सबै म्युजिक भिडियो निर्देशनमा मेरो मेहेनत समान रहन्छ । त्यसैले मलाई मैले निर्देशन गरेका सबै म्युजिक भिडियोहरू मनपर्छ, यो त्यो भन्ने छैन ।

तपाई कलाकार कि निर्देशक ?
म आफूलाई निर्देशकभन्दा पनि कलाकार भन्न रूचाउँछु । म धेरै म्युजिक भिडियोहरूमा कलाकारको रूपमा प्रस्तुत भएको छु । मलाई परिस्थितिले निर्देशक बनाएको हो । आफूलाई चिनाउँदा म कलाकार हुँ ।

विश्वभर फैलिएको कोरोना महामारीका कारण सबै क्षेत्र अस्तव्यस्त भयो । यसले म्युजिक भिडियोका क्षेत्रमा कति असर पार्यो होला ?
सबै क्षेत्रमा कोरोनाले असर पार्यो । यसमा म्युजिक भिडियो र चलचित्र पनि अछुतो रहेन । लकडाउनको बेला न त म्युजिक भिडियो रिलिज भए, न त चलचित्र नै । तर त्यसपछि म्युजिक भिडियोहरू भने विस्तारै बन्न सुरू भए तर चलचित्र क्षेत्र भने अझै उठ्न सकेको छैन । चलचित्र क्षेत्रमा जस्तो असर म्युजिक भिडियोको क्षेत्रमा परेन ।

हालसालै बजारमा आउन लागेको तपाईको म्युजिक भिडियो कुन हो ?
म तत्कालै चाहिँ कुनै पनि भिडियो रिलिज गर्ने तयारीमा छैन । समय सहज भएको छ अहिले, अब चाँडै नै म्युजिक भिडियो रिलिज गर्नेछु । त्यसपछि एउटा चलचित्र रिलिज गर्ने तयारीमा लागेको छु ।

हालसालै बजारमा आउन लागेको तपाईको चलचित्र कुन हो ?
म दर्शक माझ चाँडै नै ‘लगौंटी’ र ‘चिसो एस्ट्रे’ चलचित्र लिएर आउँदै छु । अब रिलिज डेट मात्र घोषणा गर्न बाँकी छ ।

चलचित्र निर्माणमा निर्देशकको भूमिका के हो ?
चलचित्र निर्माण गर्ने एक जिम्मेवार व्यक्ति हो । निर्देशकले पटकथालाई नाटकीय ढङ्गले प्रस्तुत गर्न कलाकारलाई दिशा निर्देशन गर्दछन् र लिखित कथालाई सुन्दर चलचित्रको रूप दिन्छन् । चलचित्र निर्देशक चलचित्रको प्रमुख व्यक्ति हो । निर्देशकको आदेश अनुसार वा सोचाइअनुसार चलचित्र निर्माण हुने गर्दछ ।

चलचित्र निर्देशक कलाका साधक कि व्यापारी ?
जबसम्म पात्रहरूले बोल्ने संवाद, सिनेम्याटिक प्रस्तुति, कलात्मकता तथा होलसम एक्स्पिरियन्समै कृत्रिमता आभास हुन्छ र बिरालोको घाँटीमा घन्टी कसले पहिले झुन्ड्याउने सोच बदलिँदैन, तबसम्म निर्देशक कलाका साधक भन्न मिल्दैन ।

नेपाली चलचित्रले अझै व्यवसायिक रूप लिन सकेको छैन । यसको कारण के होला जस्तो लाग्छ ?
नेपाली चलचित्रले चार दशकभन्दा लामो इतिहास बनाइसकेको छ । चलचित्रले धेरै दर्शकको मन जित्न सकेको छैन । नेपाली चलचित्र सम्बद्ध जानाकारी प्राप्त गर्न सहज छैन । विश्व सञ्जाल बनेको इन्टरनेटमा पनि यस्ता सामग्रीको उपस्थिति न्युन छ तर हाल आएर केही वेभसाइटहरूले यसको अभाव खड्किन नदिने कोसिस गरेका छन् । सिनेकर्मीको इन्टरनेटमा न्यून पहुँच र रूचिका कारण यसले अझै व्यवसायिक रूप लिन सकेको छैन ।

सफल कलाकारको लागि कस्तो विषयमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुन्छ ?
पछिल्लो समय नेपाली समाजका कथावस्तु टिपेर बनाइएका नेपालीको वास्तविक जीवनसँग मेल खाने चलचित्र बन्न थालेका र दर्शकको मन समेत जित्न सफल हुँदै थिए । वर्षमा मुस्किलले १२–१५ वटा फिल्मले मात्र लगानी उठाउन सफल छन् । अझै नब्बे प्रतिशत फिल्म दर्शकको रोजाइमा पर्न असफल नै देखिन्छन् । यस्तो समयमा यसको अध्ययन, अनुसन्धान गर्ने, चलचित्र क्षेत्रको गुणात्मक सुधारको लागि के कस्तो नीति, रणनीतिको आवश्यकता छ र यसमा सरकार, निजी क्षेत्र, कलाकार तथा अन्य सरोकारवाला क्षेत्र निकायको भूमिका के कस्तो हुने हो ? सोको खोजी गर्नुपर्दछ ।

विवादले चलचित्र क्षेत्रलाई फाइदा पुग्छ ?
आधुनिक समयमा विवादलाई कुनै पनि क्षेत्रको विकासका लागि आवश्यक तत्वको रूपमा मान्ने गरिन्छ । विवाद–असन्तुष्टि भएन भने पनि कुनै पनि क्षेत्र प्रगतिको दिशामा जान सक्दैन । त्यसैले विवाद आवश्यक छ तर, यस्ता विवाद सकारात्मक उद्देश्यबाट प्रेरित हुनुपर्दछ, न कि व्यक्तिगत रिसइबी वा लाञ्छना केन्द्रित । महानायक को हो वा हुने भन्ने विषय समग्र चलचित्र जगत्को हितको विषय बन्न सक्दैन । विवादले न त राजेश हमाल रंगिन बन्न सकेका छन्, न त उहाँ महानायक होइनन् भन्नेहरू नै ।

नेपाली सिने जगत्लाई कोरोना महामारीले कस्तो असर परेको छ जस्तो लाग्छ ?
नेपाली चलचित्र क्षेत्रलाई महामारीले पुरै ३६० डिग्री एङ्गलमा नै असर पारेको छ । यसले फिल्मको निर्माणदेखि लिएर मञ्चन गर्ने सबै तहमा नराम्रो असर पारेको छ । कतिपय चलचित्रका परिकल्पना तथा पटकथाहरू यसै थन्किएका छन् र जीवन्त हुन पाएका छैनन् । यस क्षेत्रमा भएका विभिन्न सम्झौता कार्यान्वयन हुन पाएका छैनन् र चलचित्रहरू छायाङ्कन समेत हुन सकेका छैनन् । निर्माता, कलाकार र टेक्निसियनहरू सबै जना अहिले स्तब्ध छन् । जय नेपाल र कुमारी हल जस्ता फिल्म मञ्चन गर्ने संस्था आगामी दिनहरूमा सञ्चालन नै गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । महामारी कम भएता पनि सायद अब मल्टिप्लेक्सका हलहरू मात्र सञ्चालनमा आउनेछन् । यसैगरी प्रायःजसो फिल्म वितरक र हलका कर्मचारीहरू पनि अहिले देशैभरि बेरोजगारीको अवस्थामा छन् ।

कति दर्शक झुक्किएरै हलमा पुग्छन् । चलचित्र हेरेर निराश हुँदै फर्कन्छन् । र, फेरि नेपाली चलचित्र हेर्नुअघि दुई पटक सोच्ने गर्छन् । यसकोे कारण के होला ?
पछिल्लो तथ्याङ्कले भन्छ, करिब ४३ लाख बढी युवाहरू वैदेशिक रोजगारीमा छन् । यी नेपाली चललचित्रका खाँटी दर्शक हुन् तर उनीहरूले हलमा टिकट काटेर होइन, युट्युबमा उपलब्ध चलचित्र हेर्छन् । नेपालका सबै शहरमा चलचित्र हल छैनन् । भएका कतिपय ठाउँमा सुविधायुक्त हल छैनन् । ठूला घरानाका, संभ्रान्त भनिने र किशोर पुस्ता नेपाली चलचित्र भन्यो भने अझै नाक खुम्च्याउँछन् ।

सबै हिसाब–किताबले देखाउँछ भने नेपाली चलचित्रको लागि अनन्त अवसर छ । निर्देशकले मोल्ने चुनौती एवं जोखिम खेर जाने छैन तर यसका लागि फिल्म मेकर्सले दुईवटा कुरा त्याग्नैपर्छ । एक, फलानो जस्तै चलचित्र बनाउनुपर्छ भन्ने चेत र दुई, अनेकन फण्डा अपनाएर चलचित्र चलाउँछु भन्ने सोच । दुबै कृत्य केवल दर्शकको आँखा छल्ने मनोविज्ञानबाट निर्देशित छ । दर्शकको आँखा छल्ने होइन, मन जित्ने साहस जुटाउनुपर्छ । खासमा नेपाली चलचित्रको बजार सानो वा साँघुरो छैन । तर, दर्शक झुक्याएर चलचित्र चलाउने जुन प्रवृत्ति छ, त्यसले समग्र नेपाली चलचित्रको बजार खुम्च्याउँदै लगेको छ । समर्पण भावले जोखिम मोलेर, केही नयाँ प्रयोग गरेर, अध्ययन–अनुसन्धान गरेर, सिर्जनशील भएर चलचित्र निर्माण गर्नेभन्दा पनि ‘झुक्याएर’ चलचित्र बेच्ने शैली अन्ततः नेपाली फिल्ममेकर्सहरूकै लागि प्रत्युत्पादक भएको छ ।

के नेपाली बजार त्यति धराप छ जसको कारणले उन्मुक्त ढङ्गले चलचित्र बनाउन सकिँदैन ?
यो प्रश्नको जवाफ चलचित्र हलको संख्या, दर्शकको आयतन, कारोबार आदिबाट निकाल्न सकिन्छ । नेपाली चलचित्र हेर्ने दर्शक भनेका नेपाली हुन् । विदेशी आँखाले भनेको महोत्सवहरूमा मात्र हेर्ने हो । अहिले नेपाली चलचित्र निर्माणको मोटामोटी बजेट हो, एक वा डेढ करोड । यति रकम असुल गरेर मुनाफा आर्जन गर्नका लागि कति कमाई (ग्रस कलेक्सन) गर्नुपर्छ ? चलचित्र विकास बोर्डले भन्छ, नेपालभर ढेढ सय चलचित्र हल र त्यस अन्तर्गत २ सय स्क्रिन सञ्चालनमा छन् । एउटा चलचित्रको एक शो हेर्न एउटा दर्शकले औसत १ सय ५० रूपैयाँ खर्च गर्छ । अब डेढ करोड लगानी भएको चलचित्रलाई न्युनतम कति दर्शक चाहिन्छ ?

नेपालमा कति दर्शक चलचित्रको पहुँचमा छन् वा कति दर्शकले टिकट काटेर चलचित्र हेर्छन् भन्ने ठ्याकै भन्न सकिँदैन । तर, मोटामोटी अनुमान गर्न सकिन्छ, हलहरूको कारोबारबाट । यसको मानक बन्न सक्छ, पछिल्लो अवधीमा ‘ब्लकबस्टर’ भनिएका चलचित्रको कारोबार ।
‘लुट’, ‘कोहिनुर’, ‘छक्का पञ्जा’, ‘शत्रु गते’ नेपालको सन्दर्भमा व्यवसायिक हिसाबले सफल मानिन्छन्, जसको औसत कमाई ८ करोड रूपैयाँ रह्यो । १ सय ५० रूपैयाँ टिकटको दरले ८ करोड रूपैयाँ कमाई गर्न ५ लाखले फिल्म हेर्नुपर्ने हुन्छ । नेपाली जनसंख्याको अनुपातमा यो संख्या १ दशमलव ७ प्रतिशत हो ।

यस हिसाबले नेपालको जनसंख्याको एक चौथाइ जनसङ्ख्याले मात्र नेपाली चलचित्र हेर्ने हो भने त्यसको आर्जन अर्बौंको आँकडामा आउँछ । त्यसो त अहिले हलमा वा टिकट बिक्रीमा मात्र निर्भर रहनुपर्ने बाध्यता छैन । डिजिटल र ओभरसिज राइट्सबाट पनि राम्रै आर्जन भइरहेको दृष्टान्त छन् । अनमोल केसीको चलचित्र ‘कृ’, दीपक–दिपाको ‘छक्का पञ्जा’ र मह संचारको ‘शत्रु गते’ ले डिजिटल र ओभरसिज राइट्बाट औसत ८० लाख रूपैयाँ कमाएको चर्चा छ ।

लगौंटी चलचित्रको उद्देश्य के रहेको छ ?
लगौंटी एउटा सांस्कृतिक डकुमेन्ट्री फिल्म हो । मानव जीवनको समग्र विकास अनि सुन्दर समाजको रूपान्तरण गर्नको लागि शिक्षा नै महत्वपूर्ण शक्ति हो । शिक्षाले मनुष्यको मस्तिष्क तथा भौतिक पक्षलाई विकास गर्दछ जसबाट आधारभूत आवश्यकता परिपुर्तिसँगै जीवन सुख र आनन्दमा परिणत हुन्छ । तर हाम्रो चेतनाको विकास र आध्यात्मिक उन्नतिको लागि भने संस्कार र संस्कृति नै महत्वपूर्ण पक्ष हो । हामीलाई सुन्दर संस्कार दिने आधार हाम्रो संस्कृति र परम्परा हो ।

जुन कुरा सुझबुझ र समझदारीपूर्वक पवित्र आचरणमा ल्याएर मात्र अनुभूति गर्न सकिन्छ । यस डकुमेन्ट्रीफिल्मले एउटै समाजमा र परिवेशमा मिलेर बसेका विभिन्न समुदायका मानव मानवबीच जन्मेको भेदभाव तथा छुवाछुत जस्ता सङ्कीर्ण मानसिक विकृति र विसङ्गतिबाट समाजलाई मुक्त गराउने चेतनामूलक सन्देश प्रवाह गर्दछ । सामाजिक भेदभाव तथा छुवाछुतको मूल कारण धार्मिक परम्परा र सामाजिक व्यवस्था विलकुलै होइन । यसको मूल कारण असल संस्कारको कमी हो । आध्यात्मिक चिन्तनको अभाव हो । यिनै परम्परागत तथा समसामयिक विषयलाई उजागर गरी अलमलिएको समाजलाई प्रगति उन्नतिको चेतनामूलक पथमा मार्ग निर्देश हुन सकोस् भन्ने नै लगौंटी चलचित्रको उद्देश्य हो ।

अन्त्यमा दर्शक–श्रोतालाई केही भन्न चाहनु हुन्छ ?
नेपाली म्युजिक भिडियो र चलचित्रहरूलाई माया गरिदिनु होला । नेपाली चलचित्रहरू पनि अहिले राम्रो बनिरहेका छन् । हलमा गएर नेपाली फिल्म पनि हेर्नु होला । नेपाली गीत सङ्गीत र चलचित्रलाई माया गरिदिनु होला भन्न चाहन्छु ।

सम्बन्धित समाचार