नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।
नेकपा माओवादी केन्द्रले आफ्नो आठौं महाधिवेशन हालै सम्पन्न गरेको छ । भलै पार्टीले पदाधिकारी छान्न भने अझै सकेको छैन । महाधिवेशनमा मतदानमार्फत नेतृत्व चयन गर्ने चर्चा रहेपछि अन्ततः सहमतिमै शीर्ष नेतृत्व चयन भैसकेको छ भने अन्य पदाधिकारी पनि सहमतिमै छान्ने तयारी छ । महाधिवेशन विचारका हिसाबले र नेतृत्व चयनका हिसाबले के कस्तो रह्यो त ? माओवादीको खस्किँदै गएको चार्मलाई यो महाधिवेशनले सुधार्न सक्ला त ? यी नै विषयमा नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता देव गुरूङसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ ।
माओवादी केन्द्रको आठौं महाधिवेशनले पदाधिकारी चयन गर्न किन नसकेको हो ?
माओवादीको महाधिवेशनमा विचारलाई लिएर गहन छलफल हुन्छ । हाम्रो महाधिवेशनमा पनि विचारलाई लिएर घनिभुत छलफल भयो । विधानत महाधिवेशन प्रतिनिधिले केन्द्रीय कमिटी चयन गर्ने हो र त्यही केन्द्रीय कमिटीले अध्यक्ष, पदाधिकारी, स्थायी कमिटीलगायतलाई छान्ने हो । नयाँ केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्डलाई छानिसकेको छ । जहाँसम्म पदाधिकारी छान्न नसकेको भन्ने विषय छ, त्यसमा हाम्रा एक जना नेता वर्षमान पुन विदेशमा उपचाररत रहनुभएको र छिट्टै फर्कने तयारीमा हुनुभएकोले उहाँ आएपछि नै पदाधिकारी छानौं न त भनेर स्थगित गरिएको हो । सम्भवत २५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको टुङ्गो लगाउनेछ ।
हालै नेकपा एमाले, नेपाली काँग्रेसलगायतका पार्टीले पनि महाधिवेशन सम्पन्न गरे । यी दल र माओवादीको महाधिवेशनमा कुनै फरकपन त देखिएन नि ?
रूपमा समानता हुन सक्छ, तर सारमा भन्नुपर्दा उहाँहरूको महाधिवेशनभन्दा हाम्रो महाधिवेशन फरक रह्यो । कुनै पनि महाधिवेशन विचार संश्लेषणका हिसाबले, विद्यमान राजनीतिक, सांस्कृतिक समस्याका हिसाबले, राष्ट्रियतासँग सम्बन्धित त्रुटिहरूका बारेमा विचार बनाउने हिसाबले फरक रह्यो । जनताबाट छानिएका प्रतिनिधिबीच भएको छलफलले विचार संश्लेषण गर्ने प्रकृया नै महाधिवेशनको महत्वपूर्ण प्रक्रिया हो । काँग्रेस एमालेले विचार संश्लेषण गर्ने काम चटक्कै छोडे । उनीहरू नेतृत्वमा मात्रै केन्द्रित रहे । विचार केन्द्रित भएनन्, संस्था केन्द्रित भएनन् ।
तपाईहरूको महाधिवेशनमा पनि प्रचण्डले जुन दस्तावेज ल्याउनुभयो त्यसैलाई समर्थन गरियो, फरक मतको कदर गरिएन भन्ने आरोप छ नि !
यो आरोपमा कुनै सत्यता देख्दिनँ म । नेतृत्वबाट अभिव्यक्त हुने विचार भनेको सामूहिक विचार हो । यसमा हरेक सदस्यको भूमिका रहेको हुन्छ । विचार निर्माणमा हरेक सदस्यको सहभागिता सुनिश्चित भएको छ । यो सामूहिक खालको पद्दतिलाई नबुझ्दा कतिपयले विभिन्न आरोप लगाएका छन् । जसरी पूँजिपतिहरूले व्यक्ति नै सर्वेसर्वा हो भनेर बुझ्दछन्, कम्युनिष्टमा त्यस्तो हुँदैन । जहाँसम्म फरक विचारको कुरा छ, त्यसलाई पनि अध्यक्षले दस्तावेजमा आवश्यकताको आधारमा समावेश गर्ने भन्नुभएको छ । आगामी दिनहरूमा पनि त्यसबारे विभिन्न कमिटीहरूमा छलफल हुनेछन् ।
महाधिवेशनमा मतदानमार्फत् नेतृत्व चयन गर्ने चर्चाका बीच पार्टी पछि हट्यो, यस्तो अवस्था किन सिर्जना भयो ?
महाधिवेशनमा जे जति क्रियाकलाप भए, ती सबै सहमतिमै भए । दस्तावेज पारित गर्ने विषयदेखि नेतृत्व चयनको प्रक्रियाबारे पनि पहिला महाधिवश प्रतिनिधिबाट राय आयो, त्यसलाई केन्द्रीय कमिटीले छलफल गर्याे, फेरि स्थायी कमिटीले पनि अनुमोदन गरेपछि मात्र अध्यक्षले निष्कर्षको रूपमा सुनाउनुभयो र त्यो निष्कर्षलाई पनि पुनः महाधिवेशन प्रतिनिधिले नै अनुमोदन गरेका हुन् । त्यसैले सहमतिमा नेतृत्व चयन गर्ने विषय प्रतिनिधिले रूचाएनन् भन्ने होइन । यो अभ्यास अन्तर जनवादी प्रक्रिया नबुझ्नेहरूले विभिन्न टिका टिप्पणी गरेका छन् । पुजिवादी निर्वाचन अभ्यास गरिरहेकाहरूलाई यो मन नपर्न सक्छ, तर हाम्रो प्रथमिकता विचारमा एकरूपता गराउनु थियो । त्यसमा हामी सफल भएका छौं ।
महाधिवेशनमा नेतृत्वको विकल्पका विषयमा आवाज नै उठेन । प्रचण्ड नभए माओवादी नै रहँदैन भन्ने बुझाइ हो तपाइहरूको ?
व्यक्ति केन्द्रित चिन्तन बोकेका मान्छेहरूले यो खालको निष्कर्ष निकाल्ने गरेका छन् । ऐतिहासिक द्वन्द्वान्तमक भौतिकवादी दृष्टिकोणले हरेक व्यक्ति, पात्र, समाज संगठन सामाजिक उत्पादन सम्बन्धबाट विकास भएको विचारका आधारमा बन्छ भन्छ । तर सामन्तवादी र पुँजीवादीहरूको विचार व्यक्ति नै प्रधान मान्छ । व्यक्तिलाई प्रधान मान्ने सोचले वर्गलाई निषेध गर्छ । समाजलाई निषेध गर्छ । संस्थालाई निषेध गर्छ । त्यसकारण हामीले विकास गरेको कल्चर व्यक्ति केन्द्रितभन्दा पनि संस्था केन्द्रित, विचार केन्द्रित र समाज केन्द्रित नेतृत्व हो ।त्यसकारण कोही नेता तल माथि हुने आधारमा संस्था सिद्धिने वा आन्दोलन सिद्धिने भन्ने हुँदैन । व्यक्तिहरूको त जन्म र मृत्यु त भैरहन्छ । त्यस आधारमा कम्युनिष्ट आन्दोलन त उहिल्यै सकिनुपर्ने हो । माक्र्सको निधन त उहिल्यै भइसकेको थियो । माक्सपछि लेनिन, माओ हुँदै कम्युनिष्ट विचार किन फैलँदै गयो त ? यो वैज्ञानिक विचार भएकोले फैलँदै फैलँदै जान्छ ।
भनेपछि माओवादीमा तत्काल प्रचण्डको विकल्प सोच्न सकिँदैन ?
उत्तराधिकारी भन्ने विषय बनिबनाउ हुँदैन । यो त आन्दोलनको आवश्यकता अनुसार निरन्तर वैचारिक संघर्षको प्रक्रियाअनुसार निर्धारण हुँदै जान्छ । सामन्तवादमा र राजपरिवारमा त उत्तराधिकारी तोक्ने काम हुन्छ, कतिपय पूँजिवादी पार्टीहरूमा पनि त्यस्तो देखिन्छ तर कम्युनिष्ट आन्दोलनमा त्यस्तो हुँदैन ।
पार्टीमा परिवारवाद हाबी भयो भन्ने पनि आरोप छ । त्यो व्यवहारतः पनि देखिन्छ । यो कम्युनिष्ट विचार र सिदान्तसँग मेल खान्छ त ?
कम्युनिष्ट आन्दोलनमा सबै लाग्नुपर्छ भन्ने हाम्रो सिद्धान्त हो । जानेबुझेसम्मका सबै परिवार आन्दोलनमा लाग्नुपर्दछ, छिमेकी, आफन्त लाग्नुपर्छ । आफ्नो विचारका आधारमा परिवारकै सदस्य पनि कोही कुनै आन्दोलनमा कोही कुनै आन्दोलनमा लाग्न सक्छन् । विचारका आधारमा सामूहिक रूपमा आन्दोलनमा लागेपछि परिवारका को को के केमा परे भन्ने विषयले अर्थ राख्दैन । योगदान र क्षमताको आधारमा जिम्मेवारी पाएकाहरूको हकमा परिवारवाद लागु भयो भन्न मिल्दैन । निजी स्वार्थ र प्रतिष्ठाको लागि स्वार्थ सिद्ध गर्न जिम्मेवारी खोज्यो र पायो भने परिवारवाद भन्न मिल्ला । छनौट प्रक्रियाको क्रममा यस्तो भएको रहेछ भने मूल्यांकनको आधारमा छानविन हुन्छ ।
पदाधिकारी छनौट हुन नसकिरहेको बेलामा पार्टीको महासचिव को बन्ला भन्ने विषय चर्चामा छ । सम्भावित पात्रको रूपमा तपाईको नाम पनि अगाडि आएको छ नि ?
व्यक्तिगत रूपमा कसैले पनि म हुनुपर्छ भनेका छैनन् । कम्युनिष्ट आन्दोलनमा पदको दाबी गर्दै हिड्न पनि मिल्दैन । कम्युनिष्ट आन्दोलनमा संगठनहरूले सामूहिक हिसाबले जिम्मेवारी बाँडफाँड गरिन्छ । केन्द्रिय कमिटी र नेतृत्वले जसलाई जुन जिम्मेवारी दिँदा उपयुक्त ठान्छ सोही अनुसार कार्यविभाजन हुन्छ । मैले पनि मलाई यही पद चाहिन्छ भनेर कतै भनेको छैन । पार्टी र संगठनले जुन जिम्मेवारी दिन्छ त्यो जिम्मेवारी पूरा गर्न म तयार छु । अन्य साथीहरू पनि यसमा तयार रहनुपर्छ भन्ने मेरो बुझाइ छ । तर पछिल्लो समय अन्य नेताहरुमा सहमति नजुटेपछि अध्यक्षले मलाईं महासचिव बन्नुपर्ने अवस्था आउला जस्तो छ तयार रहनुस् भन्नुभएको छ ।।