एलपी पौड्याल
काठमाडौं, १५ माघ ।
म मरेकी हुन्छु । मेरो पार्थिव शरीरलाई घरबाहिरको तुलसीको मठनजिकै राखिएको छ । मेरा आफन्तहरू, साथीभाइहरू, छरछिमेकीहरू तथा अन्य व्यक्तिहरूले मलाई घेरेर उभिएका छन् तर सबै स्तब्ध मुद्रामा । मेरो असामयिक मृत्युले उपस्थित सबै दुखी र भावुक देखिन्छन् । सबैको मनबाट एउटै निष्कर्ष निस्कन्छ– ‘जिन्दगी भन्नु केही होइन रहेछ । केवल कर्कलाको पानी । कति बेला झर्ने हो, पत्तै नहुने । अनि फेरि बाँचुञ्जेल केको दम्भ गर्नु ?’
“साह्रै असल थिइन् विचरा, आँखामा हाल्दा’नि नबिझाउने । हेर, अल्पायु लिएर आएकी रहिछिन् । पूरा फक्रिन पनि नपाई झर्नपुगिन् ।” एउटी छिमेकीले भावुक मुद्रामा बोलिन् । उनको कुराले भीड थप भावुक बन्यो ।
“हीरा थिइन् । गाउँकै नमूना नै थिइन् विचरी ।” अर्कीले थपिन् ।
“कुन दशा लागेर स्कुटर लिएर हिँडिछन् । १० मिनेट पनि भएको थिएन रे…त्यस्तो खबर आयो ।” तेस्री छिमेकीले रहस्य खोलौंलाझैं गरिन् ।
“झन् साइत हेरेर चलाएकी रे । किनेर ल्याएको एकहप्तापछि सोमबारको साइत राम्रो भन्दै सोमबार बिहान बाजेलाई टीका लगाइदिएर, नरिवल फुटाएर चलाएकी रे । चलाउन थालेको पनि महिनादिन पुगेको थिएन होला, हेर…विचरी ।” दोस्री छिमेकीले थपिन् ।
“राम्रा र असल मान्छे भगवानका प्यारा हुन्छन् भन्थे, हो रहेछ क्यार । साधन त एउटा बाहना मात्र हो । गाउँकै नमूना थिइन् । काल बाजा बजाएर आउँदैन भन्थे तर पापी टिपर काल बनेर आइदियो । काठमाडौंंमा दिनहुँजस्तो टिपर र ट्रक आतङ्क बढ्दो छ । कतिबेला कसको दुखद् खबर सुन्नुपर्ने हो, थाहै नहुने ।” चौथीले भनिन् ।
“वास्तवमा उसको व्यक्तित्व मेरा लागि ईष्र्याको विषय बन्थ्यो । सानै उमेरमा उसले प्राप्त गरेको उपलब्धि, पाएको सफलता र देखाउने गरेको साहसको म अनुकरण गर्ने प्रयास गर्थेँ । ऊ अनुकरण–योग्य थिई । अब त उसको योग्यतासँग तुलना गर्न लायक अरू को नै छ र ?” करिब ३२÷३३ वर्षकी जस्तो देखिने पाँचौँ छिमेकीले चौथो छिमेकीसँग फुसफुसाएको शैलीमा भनिन् । उसका आँखा आँसुले भरिए । अनि सजल नयनले मेरो पार्थिव शरीरमाथि आँखा फ्याँक्तै थपिन्– “तँ सोच्थिस् होला समीक्षा, म तँलाई मन पराउन्नथेँ भनेर । तर त्यो पूर्ण सत्य होइन साथी । म तँसँग भित्रभित्रै जले पनि म तेरो साहसपूर्ण कार्यको अनुकरण गर्ने गर्थेँ र तँजस्तै हुने प्रयास गर्थेँ । मेरो दम्भले तँसँग खुलेर बोल्ने अनुमति दिँदैन्थ्यो, त्यति मात्र हो । मेरो अस्वाभाविक व्यवहारले तेरो मनको कुनै कुनामा बिझाएको भए अब मलाई माफ गरिदे साथी, मैले तँसँग प्रत्यक्ष रूपमा माफी माग्ने अवसर पनि पाइनँ । तँ मेरो प्रेरणा र ईष्र्या दुबैको स्रोत थिइस् साथी । ईष्र्या गर्न पनि ईष्र्या गर्न योग्य हैसियत र योग्यता चाहिन्छ । अबदेखि म एक्ली भएँ ।”
उसको कुरा सुनेर उसको छेउमा उभिएका छिमेकीहरू त छक्क परे नै, म पनि आश्चर्यमा डुब्छु । मेरा लागि पनि कल्पनातीत कुरा थियो त्यो । मलाई लाग्थ्यो– ऊ मेरो उपलब्धि र मैले अपनाएको जीवन शैलीको ईष्र्या गर्थी । उसको घरनजिकबाट मैले स्कुटर लिएर हिँड्दा पनि उसले मलाई ईष्र्यालु नजरले हेरेझैँ लाग्थ्यो । ऊ कहिलेकाहीँ बोल्थी तर बोल्नु नपरे हुन्थ्योजस्तो गरेर मात्र । बिचरा ऊ मेरो त्यस्तो फ्यान रहिछ, मैले चिन्नै सकिनँछु । अनि कति सफा मन, सबैका अगाडि निर्धक्क भएर आफ्ना कुरा राख्न सकी । बरू जो जो मेरो रूप र व्यक्तित्वको प्रशंसा गरेर थाक्तैनथे र जसलाई म आफैँ पनि आफ्नै होलान् भन्ने ठान्थेँ, उनीहरू त मेरो यस असामयिक मृत्युको खबरले खास्सै दुखी भएका देखिएनन् । बाँचुञ्जेल भ्रममा नै बाँचिएछ, मरेपछिको सत्यबोधले के गर्ने ?
ठीक त्यसैबेला हाम्रो घरनजिकै एउटा विलासी कार आएर रोकिन्छ । त्यसबाट एकजना रवाफिलो व्यक्तित्व ओर्लिन्छन् र आँखामा कृत्रिम करूणाभाव ल्याउने प्रयास गर्दै सरासर मेरो पार्थिव शरीर राखिएको ठाउँतिर आउँछन् । उपस्थित सबैका जिज्ञासु नजर उनीमाथि खनिन्छन् तर उनी कसैलाई वास्ता नगरेझैँ गर्दै मेरो शवकोे छेउमा आएर ठाँटसँग उभिन्छन् ।
उनी मेरो अफिसका हाकिम, त्यहाँ उपस्थित अधिकांशले उनलाई चिन्दैेनन् । उनी मेरो रूप र यौवनका प्रशंसक र एकतर्फी प्रेमी पनि । उमेरले पचास प्लस भएर पनि उनी कुनै युवाभन्दा कम आँक्तैनन् आफूलाई । उनले मलाई पटक पटक प्रमोसनको प्रलोभनसहित लङ ड्राइभमा जानका लागि प्रस्ताव राखेका हुन् । उनको ‘लङ ड्राइभ’ मा सहभागी हुनुको आशय मलाई राम्ररी थाहा थियो । भन्न मात्र नमिल्ने हो, नत्र कुनै लोग्नेमान्छेसँग थोरै सङ्गत गर्नासाथ उनीहरूको सामिप्यताको आशय थाहा भइहाल्छ । बल्छीमा उनिएको गँड्यौला माछाको मायाले आहाराका रूपमा दिएको होइन । अतः म उनको भावनाविपरीत अनेक बाहना बनाएर उनको ‘लङ ड्राइभ’ प्रस्ताव पन्छाइदिन्थेँ । मेरो उपेक्षा भावले उनी भित्रभित्रै प्रताडित बन्थे ।
पटक पटकको उनले गरेको प्रस्तावलाई मैले अस्वीकार गर्दा केही समय उनी मसँग रिसाएजस्तो पनि भए । तर यसो गर्दा मसँगको उनको दूरी झन् बढ्दै गयो । पछि उनले आफ्नो सोचलाई संशोधन गरे । उनलाई विश्वास थियो– ‘एक न एक दिन मेरोे घमण्ड तोडिने छ र उनी मलाई आफ्नो जालमा पार्न सफल हुनेछन् । पद, पैसा र प्रभोभनको जालोमा नपर्ने कोही हुँदैन । मेरोे दम्भ उनीबाटै तोडिने छ, ढिलो चाँडोको कुरा मात्र हो ।’ यस्तै स्वप्निल कल्पनामा तरङ्गित हुँदै उनी रोमाञ्चित बन्थे । म केही थाहा नपाएजस्तै बनिदिन्थेँ ।
अनि, तिनै मेरा हाकिमले सेतो कपडाले ढाकिएको मेरो मृत शरीरलाई तलदेखि माथिसम्म र माथिदेखि तलसम्म अतृप्त नजरले नियालेर हेर्दै सोचे– “मैले कति आग्रह गर्दा पनि उपभोग गर्न नदिएको यो सुन्दर शरीरको अब के काम ? कठै, अबको एकैछिनमा खरानीमा परिणत हुनेछ । जीवनको यो रहस्यलाई नबुझेर मान्छे किन यति धेरै घमण्ड गर्छन् कोनि ! कसको जीवनको लम्बाइ कति छ भन्ने रहस्य कसैलाई थाहा हुँदैन । एकैछिन पछि हुने घटनाबाट पनि मान्छे अनभिज्ञ हुन्छ । त्यसैले फक्रेको यौवनको उपभोग नगरी साँचेर राख्नुको के औचित्य हुन्छ र ? पाकेको फल समयमा नै टिपेर नखाए कुहिएर झर्छ । प्राकृतिक नियम ! हेर, आज खरानी हुने यो शरीर हिजोसम्म दम्भले ढाकिएको थियो । न ऊ आँफूले आनन्द लिन सकी, न मलाई नै आनन्दको अनुभूति दिन सकी । विचरी, यौवनका सम्पूर्ण रहरहरूलाई आफैँसँग लिएर गई !”
उसको दृष्टिकोणमा सायद म ‘विचरी’ नै बन्न योग्य थिएँ हुँला । मैले पनि जुन कुरालाई जीवनको सबैभन्दा ठूलो अस्तित्व र प्रतिष्ठाको सगरमाथा बनाएर धेरैको बक्र–दृष्टिबाट बचाएर राखेँ भनेकी थिएँ, त्यो त साँच्चै केही क्षणपछि खरानी बन्नेवाला नै थियो । र, हावाको एउटा सानो झोँकाले त्यो खरानीलाई पञ्चतत्वमा मिलाइदिनेवाला थियो । अनि देवकोटाले भनेझैँ म सदा–सदाको लागि शून्यमा शून्यसरी बिलाउने छु । धोइ–पखाली चिटिक्क बनाएको शरीर, रोग र सङ्क्रमणबाट जोगाएर राखेको शरीर, क्रिम पाउडर र श्याम्पूले मगमगाएको शरीर तथा धेरैका लोभी नजरबाट बचाएको मेरो शरीर आखिरमा त खरानी हुने नै रहेछ । यो पञ्चतत्वमा मिल्ने शरीरलाई, शून्यमा शून्यसरी हराउने शरीरलाई यौवनका रहरहरूबाट बचाएर राखेर मैले जितेँ कि हारेँ, म आफैँ अलमलमा हुन्छु । खाँदा गुलियो लाग्थ्यो कि तीतो, म आफैँ पनि त्यसको स्वाद लिनबाट बञ्चित रहेँ । यस अर्थमा हाकिमको कल्पनालाई मैले अन्यथा हो भन्न पनि सकिनँ ।
जीवनको रहस्यलाई बुझ्न नसक्ने मेरो अल्प–ज्ञानमाथि व्यङ्ग्य चिन्तन गर्दै हाकिम भीडबाट बाहिरिए ।
मेरा बाबा तथा दाइ मेरो सद्गति गर्ने दायित्व बिर्सेर दुईजना दुईपट्टि फर्केर विलाप गर्दै रोइरहेका थिए । आमा हुनुभएको भए आँगनमा जवान छोरीको लाश देखेर कसरी आफूलाई सँभाल्नु हुन्थ्यो कुन्नि तर आमा पहिला नै हामी सबैलाई छोडेर बितिसक्नु भएको थियो । बाबाले नै मलाई आमाको माया पनि दिनुभएको थियो । चाहेको भए बाबा अर्को बिहे गर्न सक्नुहुन्थ्यो तर हाम्रै लागि भनेर बाबाले अर्को बिहे गर्नु भएन । बिहेका लागि आएका प्रस्ताव त्यस्सै टारिदिनुहुन्थ्यो । बाबाले हाम्रो लागि गरेको त्याग र हामीमाथि वर्षाएको वात्सल्यता देखेर म उहाँको मन दुख्ने कुनै कार्य गर्न सक्तिनथेँ । बाबाप्रतिको हामी दाजु–बहिनीको विश्वास देखेर बाबा पनि आत्मगौरवको अनुभव गर्नुहुन्थ्यो । त्यसैले पनि सायद बाबालाई मेरो अवसानले धेरै दुःखी बनाएको थियो । उहाँ अनेक विलाप गर्दै रूँदै हुनुहुन्थ्यो । सुन्नेहरू पनि भावविभोर बनिरहेका थिए ।
कसैको हृदयविदारक विलापले मात्र कुनै पनि मृत व्यक्तिलाई उसको मृत्युशैयाबाट फर्काएर ल्याउन सकिँदैन, यो सबैले बुझेको शाश्वत सत्य कुरा हो । यो सत्यबोध भएर पनि किन यति धेरै विलाप गर्ने गरिन्छ ? विलाप सुन्ने आफन्तको मात्र होइन, बाटो हिड्ने बटुवाको पनि मन र गह भरिन्छ । अनि, जीवन केही होइन भनेझैँ लाग्छ, जीवनप्रति निराशा जाग्दछ । छिमेकी–गाउँलेहरू जम्मा हुन्छन् र सान्त्वना दिन्छन् । सान्त्वना दिने कार्य पनि एउटा सस्तो प्रक्रियाजस्तो मात्र । गाउँमा कसैलाई दुःख पर्दा मेरो बाबा हतार हतार सान्त्वना दिन पुग्नुहुन्थ्यो, आज तिनै गाउँहरू जुटेर उहाँलाई नै सम्झाउँदै छन् । बाबा अबोध बालकझैँ अनेक विलाप गर्दै सबैलाई भावुक बनाउँदै हुनुहुन्छ । म बाबालाई अँगालो हालेर उहाँको आँशुमा आफ्नो आँशु मिसाउन पनि सक्तिनँ, बरू मन अमिलो पारेर टुलुटुलु हेरिरहन र सुनिरहन बाध्य छु ।
हाकिमको मेरा दाइसँग सामान्य परिचय थियो । उनी दाइका नजिक गए र काँधमा हात राखेर धैर्य धारण गर्न प्रेरित गर्दै भने “नरोऊ भाइ, जे नहुनुथ्यो, त्यो त भइसक्यो । अब रोएर मात्र के हुन्छ र ? मनलाई बलियो बनाउनु पर्छ ।”
“…………………..” दाइ बोल्न सकेनन् ।
“भाइ, तिमीले बहिनी गुमायौ, हामीले पनि एउटी असल स्टाफ र धेरै सम्भावना बोकेकी साथी गुमायौँ । समीक्षाले यति चाँडै हामी सबैलाई छोडेर जालिन् भनेर कसैले सोचेका थिएनौँ । सोच्ने कुरा पनि थिएन । दुर्घटनाको खबर सुनेर पहिले त मलाई विश्वास नै लागेन । दुर्घटनापछि अस्पताल पु¥याएको खबर सुन्ने बित्तिकै सिभिल अस्पताल नै जाने सोच बनाएको पनि थिएँ तर अर्जेन्ट मिटिङले गर्दा भ्याउन सकिनँ । यो विपतको घडीमा मेरो गहिरो समवेदना छ भाइ !” अनि फर्किन हतारिएजस्तै गरेर भने “जे जस्तो दुःख परे पनि सहनै पर्दोरहेछ । धैर्य गर्नू । कुनै प्रकारको सहयोगको आवश्यकता परे फोन गर्नू, म सक्ने सहयोग गर्नेछु ।”
मेरा हाकिमले शिष्टाचार पूरा गरे । म अनुभव गर्छु– शब्दमा बाहेक न उनको बोलीमा समवेदनाको भाव थियो न मनमा नै । उनी जनसमूदायमा आफ्नो एउटा विशेष प्रभाव छोड्ने उद्देश्य लिएर आएका थिए, पूरा गरेको अनुभव गरेर हिँडे । कुनै बेला मेरो शरीर जित्न ‘तिम्रा लागि म जे गर्न पनि तयार छु समीक्षा, भनेर त हेर’ भन्ने हाकिमलाई आज मेरो मृत शरीरलाई घाटसम्म पु¥याउने फुर्सतसमेत भएन । होस पनि किन र ? उनलाई लाग्यो होला– ‘अब उनले मबाट पाउने लाभको विषय केही थिएन, अनि व्यर्थमा समय किन बर्बाद गर्ने ?’ उनी आफ्नो बाटो लागे ।
“टिपर त समातियो रे, क्षतिपूर्ति पनि भराउन सकियो बाबू ?” छिमेकी काकाले दाइलाई सोध्नुभयो ।
“त्यसले दिएको क्षतिपूर्तिले मेरी बहिनी फिर्ता आउन सक्छे र काका ?” भावुक मुद्रामा दिएको दाइको जवाफले काका ‘के भन्नु वा के नभन्नु’ को स्थितिमा पुगे । तैपनि बोली फुस्कियो– “चलेको चलन ….. ।”
“………………..” दाइले कुनै उत्तर दिएनन् ।
मैले एनजिओमा जागिर गरेको, स्कुटर चलाएर हिँडेको, केटा साथीहरूसँग बसेर चियाकफी खाएको अथवा केटाहरूसँग च्याटमा कुरा गरेको मेरा दाइलाई कत्ति पनि मन पर्दैनथ्यो । यस्ता विषयमा कतिपल्ट दाइसँग मेरो विवाद पनि भएको होे । उसको रुखो व्यवहार देखेर मलाई लाग्थ्यो– मेरो दाइ मलाई माया नै गर्दैन । अरूहरूका दाइहरूले बहिनीलाई गरेको माया देखेर मलाई एक किसिमको ईष्र्या पनि लाग्दथ्यो । तर मेरो एक्सिडेन्ट भएको कुरा सुनेदेखि अस्पताल लैजाँदा, पोष्टमार्टम गर्दा, प्रहरीसँग कुराकानी गर्दा, आफन्तहरूसँग मेरो बारेमा कुरा गर्दा तथा टिपरको ड्राइभरलाई क्षमादान दिँदादेखि अहिलेसम्म दाइले खेलेको भूमिका देखेर मलाई लाग्यो– मैले आफ्नै दाइलाई पनि चिन्न सकेकी रहिनछु । सायद मेरो करियरको चिन्ताले, सायद मेरो बहकिने उमेरका कारण म गलत बाटामा पुग्छु कि भन्ने भयले दाइले एउटा अभिभावकको हैसियतले ममाथि गरेको सामान्य निगरानीलाई मैले आफ्नो स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप ठानेँछु र दाइप्रति नै म आवश्यकताभन्दा बढी नकारात्मक हुनपुगेँछु । तर आज दाइका मनमा मप्रति जुन वात्सल्यतापूर्ण आदरभाव देखिरहेकी छु, त्यसले मलाई दाइकी बहिनी हुनुमा आत्मगौरवको अनुभव भइरहेछ । तर म दाइसँग ‘सरी दाइ’ भन्न पनि असमर्थ छु । धन्य मेरो दाइ ! गर्वले मेरो छाती फुलेको अनुभव हुन्छ ।
म देख्छु– मलाई स्कुल कलेजमा पढाउने गुरुहरू पनि मेरो अन्तिम मुख हेर्न आइपुग्नुभएको छ । कलेजमा पढ्दा हामी केटीसाथीहरू मिलेर जुन गुरुलाई ‘उल्लु’ बनाउँथ्यौँ, उहाँले नै सजल नेत्रले मेरो पार्थिव शरीरतिर हेर्दै सबैका सामुन्ने भन्नुभयो “साह्रै असल र होनाहार विद्यार्थी थिइन् । उनको तीक्ष्ण बुद्धि र साहसिक व्यक्तित्व देखेर भविष्यमा यिनी ठूलै मान्छे बन्नेछिन् भन्ने ठानेका थियौँ तर यति चाँडै अस्ताउनु रहेछ ! एउटा गुरुका नाताले कुनै दिन तिमीलाई गाली नै गरेको भए पनि क्षमा गर है समीक्षा…!”
गुरुको कुराले म पो भावुक भएँछु । मलाई मरेपछि पनि एक प्रकारले लज्जाबोधको अनुभूति भयो । त्यो बेला जसलाई हामीले रमाइलो गर्ने पात्र बनायौँ, उहाँको मनमा मप्रति कति धेरै विश्वास र स्नेहभाव रहेछ ? गुरु भनेको गुरु नै हुँदोरहेछ– विद्यार्थीका साना मसिना गल्तिहरूलाई त्यस्सै नजरअन्दाज गरिदिने । आमा–बाबाजस्तै । तर खै कुन दम्भले ढाकेर हो, हामी जिउँदो हुँदासम्म आफ्नो हो कि पराया हो भनेर चिन्न अनि माया हो कि स्वाङ मात्र हो भनेर थाहापाउन नसक्तारहेछौँ । अनि, माया गर्नुपर्नेलाई घृणा र घृणा गर्नुपर्नेलाई विश्वास गर्न पुग्दारहेछौँ । मानिसको बोली र व्यवहारबाट उसको सही पहिचान गर्न नसक्नु नै मान्छेको सीमा होला सायद ! नत्र मान्छेको चरित्र यति धेरै रहस्यमय लाग्ने थिएन होला । चित्र हेरेर चरित्र छुट्याउन सकिन्न भन्थे, हो रहेछ ।
“समीक्षा नानीको पढाइ पनि राम्रो थियो । बाबाले उनीमाथि कति ठूलो सपना सजाएका थिए, अनि कसरी मन बुझोस् त उनको ?” बाबाको विलाप सुनिरहेका गाउँका काकाको कुराले म पुनः तरङ्गित भएँ ।
वीवीए सकेपछि बाबा मलाई नेपालबाटै एमवीए गराउन चाहनुहुन्थ्यो । किनकि बाबा मलाई आफूबाट टाढा पार्न चाहनुहुन्नथ्यो । मचाहिँ फिलिपिन्सबाट पाइलट कोर्स पूरा गर्न चाहन्थेँ । हावामा कावा खाँदै तथा बादलसँग लुकामारी खेल्दै हजारौँ मिटरको उचाइमा उड्नुुको मजा नै बेग्लै हुन्छ । त्यो रोमाञ्चक तथा चुनौतीपूर्ण मजा लिन चाहन्थेँ म । तर बाबाले ‘त्यो रिक्सको काम हो छोरी, बरू डाक्टरी पढ तर पाइलट पढ्ने जिद्दी नगर’ भन्नुहुन्थ्यो । झन् विमान बङ्लादेशको विमान काठमाडौँमा दुर्घटनामा भई थुप्रै होनाहार नेपाली युवा–युवतीको ज्यान गएको घटनापछि त बाबाले पाइलट पढ्ने कुरा सुन्न नै चाहनुभएन । कसको मृत्यु कहिले कहाँ र कसरी हुन्छ भनेर कसैले भविष्यवाणी गर्न सक्तैन, तैपनि हामी सामान्य रिक्स लिन पनि डराउँछौँ । मायाले मान्छेलाई बल दिनुपर्ने हो तर उल्टै कमजोर बनाइदिँदोरहेछ । बाबाको वात्सल्य प्रेमलाई म बुझ्थेँ तर वात्सल्य प्रेममा लुटपुटिएर मात्र करियर बन्न सक्तैनथ्यो । डाक्टरी पढ्न मसँग साइन्सको व्याकग्राउण्ड थिएन । अतः मैले एमवीए गर्न बेलायत जाने निर्णय गरेँ । अमेरिका वा बेलायत जाने कुरामा बाबाको समर्थन लिन सकिएलाजस्तो लाग्थ्यो । बाबासँग स्पष्ठ कुरा नगरी म भित्रभित्रै बेलायत जाने तयारीमा जुटेकी थिएँ ।
अनि, बेलायत जाने सिलसिलामा प्रक्रियाको लागि म काठमाडौँका नाम चलेका इन्सिच्युट धाउँदै थिएँ । प्रक्रिया अगाडि बढाउँदै गर्दा एउटा एनजिओमा जागिर पनि गर्दै थिएँ । एनजिओबाट अफर आयो, काम गर्न थालेँ, सबै राम्रै थियो । हाकिमको ‘लङ ड्राइभ’ को अफरको सामना गर्नुबाहेक अन्य असजिलो कुरा केही थिएन मलाई । सायद अरू केटी साथीहरूले ‘लङ ड्राइभ’ को रोमाञ्चक यात्रा पूरा गरिसकेर हो कि, हाकिम एकोहोरो मेरापछि लागेका थिए । म अन्तरिक्षको अनन्त यात्रा गर्ने मृगतृष्णामा रूमलिएको बेला उनी विचरा जमिनका खाल्टाखुल्टीमा नै अल्मलिइरहेका थिए । उनको सङ्कीर्ण मानसिकता देखेर मलाई दया लागेर आउँथ्यो । तर अचानक हिजो मेरा सबै सपनाहरू र कल्पनाहरू केटाकेटीहरूले खोला किनारमा बनाएका बालुवाका घरझँै भताभुङ्ग भएका थिए । र, अबको केही क्षणपछि नै मेरा सम्पूर्ण सपनाहरूसँगै मेरो शरीर पनि मसँगै सती जाँदैथियो ।
मेरो ब्याङ्क ब्यालेन्स ? बाबालाई घुक्र्याउँदै किनेका महङ्गा गहना र लुगाहरू ? सबै व्यर्थ रहेछन् ।
फेरि अचानक मेरो दिमागमा यमराज र यमदूतको कल्पना आयो । मान्छे मरेपछि यमराजका दूतहरूले तान्दै चित्रगुप्तकहाँ लैजान्छन् अनि धर्म गरेको भए स्वर्गतिर पठाइदिन्छन् र पाप गरेको भए नर्कमा लगेर विभिन्न यातना दिन्छन् रे भन्ने सुनेको थिएँ । तर अहँ, मलाई त कसैले कतै पनि लगिरहेका थिएनन् । म छु तर कहाँ छु त्यो पनि थाहा छैन । म हावा जस्तै अदृश्य र हलुका छु । म सोच्न सक्छु, सुन्न सक्छु तर बोल्न सक्तिनँ । कि मान्छे मरेपछि शव नजलेसम्म यस्तै हुन्छ ? तर सबैका शवहरू त जलाइँदैनन् । कि मरेपछि सामना गर्नुपर्छ भनिएका कुराहरू मनोवैज्ञानिक त्रास मात्र हुन् ? कि ईश्वरीय सत्ता पनि मान्छेले अपराध नगरुन भनेर बनाइएको ‘बुख्याचा’ मात्र हो ? म केही अलमलिएझैँ हुन्छु ।
यत्तिकैमा उपस्थित मान्छेहरूमा सामान्य हलचल पैदा हुन्छ । सायद अब मेरो पार्थिव शरीरलाई पशुपति आर्यघाटतिर प्रस्थान गरिने तयारी हुँदैछ । सबैको अन्तिम यात्रा, अन्तिम गन्तव्य ! एक–न–एकदिन सबैले तय गर्नुपर्ने अन्तिम यात्राका बारेमा बुझेर पनि यही एउटा कुराचाहिँ नबुझेझै नाटक गर्न बाध्य छ मान्छे । यत्ति एउटा कुरा बुझिदिए पनि संसारबाट अपराध र अनावश्यक प्रतिस्पर्धाको होडबाजीको लगभग अन्त्य नै हुन्थ्यो होला । तर हरेक मान्छे ‘संसार मरे पनि म चाहिँ अमर हुन्छु’ भन्ने भ्रममा बाँचिरहेको हुन्छ । मलाई पनि पूर्ण रूपमा फक्रिनुअघि नै झर्छु होला भन्ने तत्वज्ञान भइदिएको भए म पूरा गर्न नसकिने अनन्त सपना सजाउने थिइनँ होला । मेरो अकालमा भएको मृत्यु देखेर यहाँ उपस्थित मान्छेहरूमा आएको विरक्ति पनि मेरो शव जलाएर आ–आफ्नो घर नपुगुञ्जेलसम्मका लागि मात्र हो । नत्र कृत्रिम मुटु हालेकाहरू र अर्काको किड्नी फेरेर बाँचिरहेकाहरूमा यति धेरै मृगतृष्णा नदेखिनुपर्ने हो ।
मेरो बिहेको बाजा त बज्न पाएन नै, तर अन्तिम विदाइको बाजाचाहिँ अब बज्नेवाला थियो । सायद शङ्खको खोजी हुँदै थियो । यत्तिकैमा कसैको हातमा शङ्ख पनि आइपुग्यो। इशारा पाउनासाथ ती मान्छेले शङ्ख बजाउन लागे । ट्वाँ…!!
शङ्खको चर्को ध्वनिसँगै अचानक मेरो निद्रा टुट्छ । म छक्क परेझैँ हुन्छु । म त पसिना पसिना भएकी रहेछु । एकछिन मेरो दिमाग शून्य–शून्यझैँ हुन्छ । अनि म आफैँले आफैँलाई सोध्छु– ‘कहाँ छु म ?’ केही क्षण मेरो मन वस्तुगत यथास्थितिको सूक्ष्म निरीक्षण गर्न अलमलिन्छ ।
म त आफ्नै पलङमा पो रहेँछु । तुलसीको मठअगाडि राखिएको मेरो पार्थिव शरीर, उपस्थित मान्छेहरू, त्यहाँ भएका संवादहरू सबै सपना मात्र रहेछन् । मलाई यथार्थ स्थितिको बोध भयो । केही क्षणअघि देखेको सपना सम्झेर डर पनि लाग्यो; साँच्चै यही वयमा मरिएको भए ? यदि त्यो घटना सपना नभएर यथार्थ भएको भए ?! मेरो मनमा चीसो पसेझैँ भयो अनि सम्भावित भयले मुटु कामेझैँ पनि । म भित्रभित्रै डराउन पुग्छु । ‘छ्या, कहिलेकाहीँ दिउँसो सुत्यो कि यस्तै उट्पट्याङ सपना मात्र देखिन्छ’ आफैँ बर्बराउँछु ।
“समीक्षा..ए समीक्षा…!” पल्लो कोठाबाट बाबाको आवाज आयो ।
त्रासदीपूर्ण दिवास्वप्नले दिमाग हल्लाइरहेको बेला बाबासँग पनि बोल्न मन लागेन मलाई । मौन रूपमा म सुतिरहेँ । आफूलाई अझै पनि स्वप्निल लोकमा नै छुजस्तो आभास भइरहेको थियो ।
“रेजिना अस्ट्रेलिया पुगिसकी होली, तँ भने सुतेकोसुत्यै… ।”
बाबाले रेजिनाको प्रसङ्ग उठाउनासाथ म पुनः तरङ्गित हुन पुग्छु । रेजिनालाई एयरपोर्टमा छोडेर आएपछि यसो पलङमा ढल्केकी थिएँ, निदाएँछु । बाबाले बोलेको ‘अस्ट्रेलिया’ शब्दले म मर्माहत भएझै बन्छु । एउटी विपन्न टुहुरी केटीका लागि अस्ट्रेलिया वा बेलायत यात्राको कल्पना दिवास्वप्नबाहेक अरू के हुन सक्छ र ? आफूले सजाएर राखेका सपनाहरूको अवस्था र यथार्थ भोगाइबीचको अन्तरले म भित्रभित्रै भुटभुटिन थाल्छु ।।