दलहरुको चुनावी सभा विसर्जन, माहोल बनाउन गठबन्धन सफल, प्रतिगामीको दागले एमाले सकसमा

प्रतिष्ठाको लडाइँ मानिएको काठमाडौं र भरतपुर महानगरमै अन्तघातको डर

दलहरुले चुनावी सभाको विसर्जन गरेसँगै चोकचोकमा, पसल–पसलमा चुनावी समीक्षा सुरु भएको छ । उम्मेद्वार र दलका कार्यकर्ताहरु मौन अवधिमै महोल उल्याउने प्रयासमा छन् । लोकतन्त्रको उच्चतम प्रयोग गर्दै दलहरुले आ–आफ्ना एजेण्डा जनतामाझ लाने काम मात्र गरेनन् विपक्षीलई खुइल्याउन पनि कुनै कसर बाँकी राखेनन् । विपक्षीलाई होच्याएर आफू अग्लो बन्ने प्रयास सवै दलले गरे । तर जनताको मन कस्ले जित्न सक्यो भन्ने थाहा पाउन निर्वाचनको परिणाम कुर्नुको विकल्प छैन ।

यसबीचमा देशका मुख्य मुख्य शहरमा चुनावी सभा गरेर सत्ता गठबन्धनले एकताको सन्देश दिन सफल देखियो । साथै प्रमूख प्रतिपक्षी  नेकपा एमालेको भण्डाफोर गर्न पनि केही हदसम्म गठबन्धन सफल देखियो । एकै कार्यकालमा २ पटक संसद् विघटन गरेका एमाले अध्यक्ष केपी ओलीको सो कदम जनतालाई भूल्न नदिनुलाई नै गठबन्धनले आफ्नो सफलता मानेको छ । चुनावी सभामा बोल्ने गठबन्धनका शीर्ष नेताहरुले एमाले प्रतिगामी पार्टी भएको पुष्टि गर्नमा व्यस्त देखिए । साथै राजवादी दलहरुसँगको सहकार्यलाई पनि गठबन्धनले तारो बनायो । साथै गठबन्धनमा रहेका दलहरुबीचको तिक्तता र आशंका मेटाउन पनि गठबन्धन केही हदसम्म सफल देखिएको छ ।

यता सत्ता गठबन्धनलाई काउन्टर दिँदै चुनावी सभा गरेको नेकपा एमालेले आफूमाथिको भ्रम मेटाउने प्रयास त गर्यो नै गठबन्धनमा दरार ल्याउने प्रयास पनि गर्यो । गठबन्धन गरेको कारण एक दलले अर्को दललाई मतदान गर्नुपर्ने अवस्थालाई एमालेले आफ्नो चुनावी कार्ड बनायो । भरतपुरमा पोखरा विराटनगरलयायतका स्थानमा गठबन्धनबाट बागी बनेकाहरुलाई हौसला दिएर फरक पार्टीलाई भोट लिन भन्दा बागीलाई दिन मतदादतालाई एमालेले प्रोत्साहन गरेको देखियो ।

पछिल्ला चार दिन गठबन्धनले बागीलाई धक्याउने काम गर्यो भने एमालेले विपक्षीका बागीलाई उचाल्ने काम गर्यो । विपक्षीलाई तित्तरवित्तर पारेर आफू निर्वाचनमा जित हात पार्ने एमालेको रणनीति छ । यो काम मौन अवधिमा झनै मौलाउने देखिन्छ । असन्तुष्टहरुलाई आफ्नो कित्तामा ल्याएर गठबन्धनलाई कमजोर बनाउने प्रयासलाई एमालेले मतदानको अघिल्लो दिनसम्म कायमै राख्ने देखिन्छ ।

यसबीचमा साना दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले पनि आफू सक्दो माहोल बनाउने प्रयास गरे । साना दल र स्वतन्त्र उम्मेद्वारहरुले ठूला दलबाट देशमा परिवर्तन सम्भव नरहेको भन्दै आफूहरुलाई मौका दिन आग्रह गर्न व्यस्त देखिए । काठमाडौं महानगरबाट स्वतन्त्र मेयरको उम्मेद्वार बनेका बालेश शाहप्रति युवा पुस्ताको आकर्षण दलहरुको लागि टाउको दुखाइको विषय बन्यो । तर महानगरमा स्वतन्त्रले निर्णयक मत पाउने सम्भावना नरहेकोले एमाले र गठबन्धनका उम्मेद्वारबीच नै निर्णयक प्रतिष्पर्धा हुने देखिन्छ ।

काठमाडौं र भरतपुर महानगरमै अन्तर्घातको डर
दलहरुले प्रतिष्ठाको लडाइँ मान्दै आएका काठमाडौं र भरतपुर महानगरमा नै अन्तघातको चर्चाले दलहरुको निद हराम भएको छ । काठमाडौं महानगरमा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेद्वार बनेका केशव स्थापितलाई उनकै पार्टीभित्रबाट सहयोग नभएको चर्चा छ । हालै एमालेबाटै मेयरमा आकांक्षा देखाउँदै आएका रामवीर मानन्धरले गठबन्धनबाट मेयरका उम्मेद्वार सृजना सिंहसँग भेटेको चर्चाले एमालेमा भूकम्प गएको छ । यस भेटको चर्चाबारे मानन्धरले भने ठाडै इन्कार गरे । आफ्नो नाम भगवान रामको नामसँग मिलेकोले अफ्ठ्यारोमा भगवानलाई संझिनेहरुप्रति आफ्नो कुनै वहिरभाव नरहेको उनको प्रतिक्रिया थियो ।

साथै काठमाडौंको निर्णयक मत रहेको भनिएको गुठी संस्थानकोे मत तान्न उम्मेद्वारहरुको प्रयास जारी छ । संस्थानले स्थापितलाई भन्दा सिंहलाई रुचाएको बताइन्छ । यसकारण काठमाडौंमा गठबन्धनलाई केही राहत मिले पनि भरतपुर महानगरको अवस्था भने ठीक उल्टो रहेको छ । माओवादी नेतृ रेणु दाहाल दोस्रोपटक महानगर प्रमुखमा उठेकी छिन् । तर, उनलाई चुनौती दिँदै गठबन्धन दल नेपाली कांग्रेसबाट जगन्नाथ पौडेल बागी खडा भएका छन् । अर्कोतर्फ, एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाको साथ मिलेको छ । यहाँ पनि गठबन्धनसँग असन्तुष्ट रहँदै आएको काँग्रेस खेमाले एमालेलाई साथ दिनसक्ने सम्भावनाका कारण गठबन्धन सकसमा देखिन्छ ।

यी दुई महानगरको दृष्टान्त समग्र देशमा पनि लागू हुने देखिन्छ । असन्तुष्टहरुले बेइमान नगरे गठबन्धनले उल्लेख्य सफलता हासिल गर्ने देखिँदै गर्दा आफ्ना उम्मेद्वार नभएको गठबन्धनकै दलहरुको साथमा एमाले आफ्नो बर्चश्व कायमै राख्ने रणनीतिमा छ ।

सम्बन्धित समाचार