प्रतिनिधिसभाको समानुपातिक सांसदको नाम सिफारिस : कुन दलबाट को-को छन् ?

निर्वाचन आयोगले तोकेको थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न सफल भएका ७ वटा राजनीतिक दलले समानुपातिक सांसदको अन्तिम सूची पेस गरेका छन् । शनिबार राष्ट्रिय दल बन्न सफल भएका ७ वटा राजनीतिक दलले समानुपातिक सांसदको अन्तिम सूची पेस गरेका हुन् । नेपाली कांग्रेसले ३२, एमालेले ३४, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन् ।

आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरूले प्राप्त गरेको समानुपातिक सिट सङ्ख्याको अन्तिम सूची शनिबार अपराह्न ४ः०० बजेसम्मको समय दिएको थियो । निर्वाचन आयोगका अनुसार मतगणना थ्रेसहोल्ड कटाएर सात वटा राजनीतिक दल राष्ट्रिय दल बनेका हुन् । ७ राजनीतिक दलले कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८०२ मत ल्याउनु पर्ने आयोगले जनाएको थियो । समानुपातिकतर्फ करिव १ करोड १० लाख मत खसेकोमा १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । जसमा थ्रेसहोल्ड कटाउने सात राजनीतिक दलले प्राप्त गरेको मत ९२ लाख ७१ हजार ७११ छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी राष्ट्रिय दल बनेका हुन् ।



नेकपा एमालेबाट को-को भए सिफारिस ?
नेकपा एमालेले प्रतिनिधि सभामा पार्टीलाई ३४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फको मतगणना अनुसार सबैभन्दा धेरै नेकपा एमालेले प्राप्त गर्दै पहिलो दल बनेको हो । एमालेले २८ लाख ४५ हजार ६४१ मत पाएको थियो । एमालेले समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि आदिवासी जनजातिको पुरुष तर्फबाट देवीप्रसाद भट्ट चन्द, हेमराज राई र कालुराम राई, महिला आदिवासीतर्फबाट नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बाको नाम सिफारिस गरेको छ ।

त्यस्तै खस आर्य पुरुषतर्फ एमालेले रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही तथा खस आर्य महिला तर्फबाट मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दिपा शर्मा र सुनिता बरालको नाम सांसदमा सिफारिस गरेको छ ।

यस्तै एमालेले थारु महिलातर्फ आश्मा कुमारी चौधरी र शान्ति चौधरीको नाम सिफारिस गर्दा दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पाश्वान, चन्द्रबहादुर विश्वकर्मा र दलित महिलातर्फ रुक्मिणी राणा बराइली र हर्कमाया विश्वकर्माको नाम आयोगमा पठाएको छ । यसैगरी एमालेले मधेसी पुरुष गंगा प्रसाद यादव र अमृतराज लालवंशी ,मधेशी महिलातर्फ बिनादेवी, अमृतादेवी अग्रहरी तथा प्रतीक्षा तिवारी मुखियार एमालेले मुस्लिम तर्फबाट सराज अहमद फारखीको नाम सिफारिस गरेको एमालेले जनाएको छ ।

नेपाली कांग्रसले बुझाएका समानुपातिक तर्फका सांसदहरुको सूची
नेपाली काँग्रेसले पनि समानुपातिक सांसदको टुङ्गो लगएको छ । समानुपातिकतर्फ नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गर्दै दोस्रो दल बनेको थियो । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदमा सिफारिस गर्ने नाम टुंगो लगाएका हुन् ।

प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसले समानुपातिकबाट ३ जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ । संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले बैठकले ३ जना पुरुषलाई मात्र पठाउने निर्णय गरेको हो ।

कांग्रेसले खसआर्यकाे पहिलो नम्बर रहेका डा.प्रकाशशरण महत, मधेसीकाे पहिलो नम्बरमा रहेका विमलेन्द्र निधि र दलितकाे पहिलो नम्बरमा रहेका जीवन परियारलाई सांसद बनाउने निर्णय गर्दा आदिवासी जनजातिको पहिलो नम्बरमा रहेका गोपालमान श्रेष्ठ, थारुको पहिलो नम्बरमा रहेका याेगेन्द्र चाैधरी, मुस्लिमकाे पहिलाे नम्बरमा रहेका फरमुल्लाह मन्सुरलाई सिफारिस गरेन ।

कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावललाई सांसद बनाउने छ।

त्यस्तै कांग्रेसले आदिवासी जनजातिबाट सरस्वती बजिमय, लीलादेवी बाखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापा मगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठ र रेनुका काउचाको नाम चयन गरेको छ । यस्तै दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन हुँदा मधेशी कोटामा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । त्यसैगरी , मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत सांसदका लागि छनोट भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट को-को भए सिफारिस ?
समानुपातिकतर्फ ११ लाख ७५ हजार ६८४ मात प्राप्त गर्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले १४ जना समानुपातिक तर्फबाट निर्वाचित हुने उम्मेदवारहरूको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

माओवादी केन्द्रले आदिवासी महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङको नाम सिफारिस गर्दा खस आर्य पुरुषतर्फ हितराज पाण्डे र महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्माको नाम सिफारिस गरेको छ ।

यस्तै माओवादी केन्द्रले थारुतर्फ रुपासोसी चौधरी तथा दलिततर्फ रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी तथा मधेसीतर्फ मिना यादव र उमरावती देवी यादवको नाम सांसदमा सिफारिस गर्दापिछडिएको क्षेत्रको तर्फबाट माओवादी केन्द्रले कल्पना मियाँको नाम सिफारिस गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट को-को समेटिए ?
राष्ट्रिय स्वतन्त्र पार्टीले १३ समानुपातिक सासंदको सूची टुंगो लगाएको छ । शनिबार बसेको बैठकले १३ जना समानुपातिक सासंदको सूची टुंगो लगाएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गरेको थियो ।

राष्ट्रिय पार्टीको रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ भने ७ सिट जितेको थियो । पार्टीले आदिवासीबाट डा.ढाका कुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, खस आर्यबाट डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, दलितबाट सन्तोष परियार र शिव नेपाली चयन भएका छन् । त्यस्तै मधेशीबाट लक्ष्मी तिवारी र मनिष झा, थारुबाट अशोक चौधरी र मुस्लिमबाट असिम साह छनोट भएका छन् ।

समानुपातिक सांसदमा राप्रपाबाट को-को छन् ?
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानपातिकतर्फ ५ लाख ८८ हजार ८४९ मत पाएको छ । समानुपातिकतर्फ ७ सिट पाएको राप्रपाले पनि प्रतिनिधि सभामा पुरुष २ जनामा पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र उपाध्यक्ष बुद्धिमान तामाङको नाम सिफारिस गरेको छ भने ५ जना महिलामा रोशन कार्की, बिना लामा, बिना जयशवाल, अनिशा नेपाली र गीता बस्नेतको नाम सिफारिस गरेको हो ।

जसपाबाट को-को ?

जनता समाजवादी पार्टी (जसपा) ले समानुपातिक सा.सदको टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले प्रतिनिधिसभाका ५ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको हो । जसपाले पुरुषतर्फ प्रकाश अधिकारी र सहनाज रहमानर महिलामा सुशीला श्रेष्ठ, रन्जु झा र रेखा थापा यादवको नाम सिफारिस भएको छ । जसपाले प्रतिनिधिसभामा सात र समानुपातिकतर्फ पाँच गरी १२ सिट जितेको छ । त्यसैगरी प्रदेशमा सबै गरी २० सिट जितेको छ ।

जनमतबाट पार्टीबाट को-को समेटिए ?
सिके राउत नेतृत्वको जनमत पार्टीले ४ प्रतिशत मत प्राप्त गरेर समानुपातिकतर्फ ५ सिट प्राप्त गर्ने भएको छ । जनमतले ३ लाख ९४ हजार ६५५ मत पाएको हो । जनमत पार्टीले समानुपातिकमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई पठाएको छ ।

अझै दुई दिन आयोगमा समानुपातिकको नाम सच्याउन सकिने म्याद हुने भएकाले यो नाममा फेरबदल हुनसक्ने सम्भावना समेत छ । यता आयोगले प्राप्त नामावलीमा क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई पत्राचार गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गरिने बताएको छ । दलहरूबाट समानुपातिक सांसदको नामावली सिफारिस भइसकेपछि आयोगले निर्वाचन परिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउनेछ ।

सम्बन्धित समाचार