नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आग्रह गरेअनुसार आफ्नो पार्टीले विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सभापति देउवाले प्रधानमन्त्री दाहाल संविधानको रक्षाको पक्षमा उभिनु हुनेछ भन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री दाहालले मुलुकमा विद्यमान चुनौतीको सामाना गर्दै देश र जनताको हितमा काम गर्नुहुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने सभापति देउवाले बताए ।
सभापति देउवाले भने , ‘सरकारलाई सदनकाप्रति र सदनलाई जनताकाप्रति पूर्णरुपले जवाफदेही बनाउनका लागि संसद्मा एक जिम्मेवार र सशक्त विपक्षी दलको उपस्थिति आवश्यक हुन्छ । प्रभावकारी विपक्षीको अभावमा सरकार निरकुङ्श हुन जाने, स्वच्छेचारी नीति कानुन बन्न सक्ने, सत्ता पक्ष आफ्नो कर्तव्यबाट बिमुख हुने, शक्ति पृथकीकरण र सन्तुलन कमजोर हुने सम्भावना रहन्छ ।’
संसद् आफैँ पनि देश र जनताको बृहत्तर हितमा काम गर्न सक्ने जन उत्तरदायी संस्थाका रुपमा नरहन सक्दछ । त्यसकारण आफूहरुले बहुलवाद र बहुदलीयतासहितको प्रतिस्पर्धात्मक संसदीय व्यवस्था रोजेको उनले बताए । सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को एक महत्वपूर्ण काम भएको बताउँदै उनले सरकारमाथि निरन्तर नियमित रुपले निगरानी राख्नु, सरकारका सबै कामको अनुगमन गरी उचित मूल्याकङ्न गर्नु, सरकारका गुण र दोष केलाउनु पनि संसद्को कर्तव्य भएको उल्लेख गरे । देश र जनताका लागि सबै नीति र कानुनको निर्माण पनि संसद्को क्षेत्राधिकार भएको बताउँदै सभापति देउवाले संसद्मा प्रभावकारी प्रतिपक्षको अभावमा सरकार माथिको निगरानी र अनुगमनको पद्धति कमजोर र सरकारको गुण र दोषका विषयमा छलफलको अभाव हुने बताए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने अध्यक्ष ओलीको प्रतिबद्धता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै अन्य दलहरुलाई समेत त्यसको पक्षमा उभिन आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा उनले प्रधानमन्त्री दाहालले राख्नुभएको प्रस्तावलाई समर्थन गर्दै अरू दललाई पनि पक्षमा मतदान गर्न आग्रह गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘म प्रस्तावको स्वागत र समर्थन गर्छु, राजनीतिमा मौका अनुसारको व्याख्या गरिनु हुँदैन, प्रधानमन्त्री दाहाललाई अहिले विरोध गर्नुपर्ने ठाउँ नै छैन ।’
प्रतिपक्षमा रहेर पनि सरकारलाई विश्वासको मत दिएर नेपाली कांग्रेसले विश्वकै लोकतान्त्रिक अभ्यासमा नयाँ भाष्य स्थापित गरेको उल्लेख गर्दैै उनले यदि समर्थनमा कुनै स्वार्थ रहेको खण्डमा त्यो निरर्थक साबित हुने बताए । सरकारद्वारा जारी गरिएको साझा न्यूनतम कार्यक्रम स्वागतयोग्य रहेको उनले बताए ।
‘त्यो स्पष्ट प्रतिबद्धता छ, रुग्ण उद्योगलाई ब्युताउनेसहित देशलाई औद्यौगिकीकरण र आधुनिकीकरणमा लैजानुपर्छ यो कार्यान्वयन गर्ने विषय पनि उत्तिकै चुनौती छ’, पूर्वप्रधानमन्त्री ओलीले भने, ‘इतिहास दोहो-याउने नभई नयाँ रच्ने भएकाले प्रधानमन्त्रीको प्रतिबद्धता आशलाग्दो छ, असहमति जनाइरहनुपर्ने आवश्यकता छैन ।’
अध्यक्ष ओलीले कुनै कालखण्डमा संसद् विघटन भएसँगै सधैँभरि असंवैधानिक परिस्थिति उत्पन्न हुन्छ भन्ने सोचबाट तर्सन हुन्न भन्दै उनले विश्वका लोकतन्त्रातिक मुलुकमा समेत यस्तो अभ्यास बेला बखत हुदै आएको स्पष्ट गरे । अध्यक्ष ओलीले सरकारले अघि सारेका नीति तथा कार्यक्रममा झन्डै ५० लाख जनता निरपेक्ष गरिबीको रेखामुनि रहेका र लाखौँको सङ्ख्यामा विदेशमा रहेका युवा लक्षित रहेको बताउँदै उनले भने, ‘युवालाई देशभित्रै राख्ने कुरा सजिलो छैन, रोजगारीका आकर्षक अवसरहरु सिर्जना गर्नुपर्छ ।’ उनले देशको विकासका लागि विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्न जरुरी छ भने ।
सरकारका दृष्टिकोण र प्रतिबद्धता मननीय छन्: अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारका नीतिगत प्राथमिकता र न्यूनतम साझा कार्यक्रममा आएका दृष्टिकोण र प्रतिबद्धता मननीय रहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सदनमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले अधिकारको मागसँगै कर्तव्यप्रति उत्तिकै जिम्मेवार नबनेको परिस्थितिमा सरकारले भने जिम्मेवार भएर काम गर्ने विश्वास व्यक्त गरे ।
पूर्वप्रधानमन्त्री नेपालले भने, ‘मुलुकमा भ्रष्टाचार ठूलो समस्याका रुपमा रहेको छ, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याएर अघि बढ्न सके देशका लागि ठूलो काम भएको मानिनेछ ।’ पूर्वपश्चिम राजमार्गलाई खाल्डाखुल्डीविहीन तुल्याउन, दू्रतमार्गलाई छिटो अघि बढाउने, चुरे संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राखियोस् भन्दै पूर्वप्रधानमन्त्री नेपालले भने, ‘शिक्षा र स्वास्थ्यलाई जोड दिँदै कार्यशैली परिवर्तन, अनुगमन र कार्यान्वयनमा विशेष ध्यान दिइयोस् ।’
आफूहरुले चाहेको व्यक्ति नै प्रधानमन्त्री भएको र प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत समर्थन गरिसकेपछि विश्वासको मतसम्बन्धी विषय स्वतः अघि बढिसकेको उनको भनाइ थियो । उनले सरकारलाई आफ्नो पार्टीका तर्फबाट समर्थन गर्दै विश्वासको मत दिने प्रतिबद्धता जनाए ।
एक प्रसङ्गमा उनले अहिले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको पाटोमा भने हेक्का गर्न सुझाव दिए । ऊर्जा र पर्यटन विकास, अर्थतन्त्रको सुधार र कृषिको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उहाँले संविधानको रक्षा, कानुनको पालना र सङ्घीयताको कार्यान्वयनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।रासस