सामाजिक सञ्जाल : कुण्ठा अभिव्यक्तिको सरल माध्यम

फेसबुक, ट्वीटर, टिकटक, इन्ष्टाग्राम आदि आजभोलि व्यक्तिको कुण्ठा पोख्ने माध्यम बनेका छन् । लाग्छ– उनीहरू मात्रै जान्ने, बुझ्ने र सबै विषयवस्तुका ज्ञाता हुन्, बाँकी सबै अबुझ र स्वाँठहरू हुन् ।

विशेषगरी फेसबुक र ट्वीटर व्यक्तिका कुण्ठा पोख्ने सरल र सजिला माध्यम बनेका छन् । जसलाई एउटा शब्द शुद्धसँग लेख्न र एउटा वाक्य मिलाएर लेख्न आउँदैन, उही सामाजिक सञ्जालको दुरुपयोग गर्दै टुटेफुटेका शब्दहरू संयोजन गरी नमागेको सल्लाह दिइरहेको हुन्छ । जुन विषयमा उसलाई अलिकति पनि ज्ञान छैन, त्यही विषयमा ऊ सल्लाह र सुझाव दिइरहेको हुन्छ । कति हाँस्नु ?!



भविष्यद्रष्टा, स्वप्नद्रष्टा, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र जातीय विषयका भाष्यकर्ता, त्रिकालदर्शी ज्योतिषी, सच्चा राष्ट्रवादी, जन्मसिद्ध स्वाभिमानी आदिआदि सबै सामाजिक सञ्जालभित्र भेटिन्छन् । जसले आफू र आफ्नो परिवारदेखि बाहिर समाज कल्याणका लागि एउटा सिन्को भाँचेको हुँदैन, उही सिङ्गो मुलुक नै आफैंले थामेको र बाँकी सबै बेकामे हुन् भन्ने आशयले गफ छाँटिरहेको हुन्छ । दाग अनुहारमा लागेको हुन्छ, ऊ ऐना पुछिरहेको हुन्छ, तैपनि उसलाई आफू ठूलै विज्ञ भएको भान परिरहेको हुन्छ । उसलाई लाग्दो हो, देश मात्र होइन, संसार नै उसैको सल्लाह र निर्देशनमा चलिरहेको छ !

लोकतन्त्रको सौन्दर्य भनेको व्यक्तिलाई लागेका कुरा लेखेर वा बोलेर अभिव्यक्त गर्न पाउनु हो । पाउनु पनि पर्छ तर सबै कुराको सीमा र मर्यादा हुन्छ । आफूलाई लागेका कुरा वा असहमति रहेका कुराहरूलाई शिष्ट, सौम्य र भद्र ढङ्गले राख्नु राम्रो मानिन्छ । भाषाले शिष्ट, मनोहर र प्राञ्जल अभिव्यक्तिको अपेक्षा गरिरहेको हुन्छ । भाषागत अशिष्टता, अभद्रपन झल्कने र अरूलाई होच्याउने प्रकृतिका अभिव्यक्ति व्यक्तिको बौद्धिक दरिद्रताको पहिचान हो । आर्थिक र भौतिक रूपले व्यक्ति जतिसुकै सम्पन्न भए पनि कहिलेकाहीँ व्यक्ति आफ्नै कारण मानसिक रूपमा ‘सडकछाप’ देखिन पुग्छ । शालीग्राम ठानेर पूजा गरिएको वस्तु ढुङ्गामा परिणत हुन समय लाग्दैन ।

सम्बन्धित समाचार