जगदीश्वर नरसिंह केसी
काठमाडौं, ४ माघ ।
नेपाली काङ्ग्रेसको बागमती प्रदेश कार्य सम्पादन समितिको बैठकमा सरकारलाई विश्वासको मत नदिने पक्षमा राय दिइएको हो । कसैसँग पनि सिद्धान्तहीन गठबन्धन वा आत्मसमर्पण गर्ने शैलीमा प्रस्तुत हुनु हुँदैन भन्ने मूल मर्म थियो । तर चुनावमा गरिएको गठबन्धनको नतिजाले नेपाली काङ्ग्रेसलाई कहाँ पुर्यायो भनेर निर्मम समीक्षा समेत हुन सकेन ।
गठबन्धनका उम्मेद्वारलाई मत नदिएको ‘कसुर’ मा पार्टी अनुशासनहीनताको कारवाही गरिएका साथीहरूको आत्मसम्मान, साख र प्रतिष्ठामा पुर्याइएको क्षतिको परिपूर्ति कसले र कसरी गरिदिन्छ ? हिजो अक्षम्य भएको कुरा आज कसरी गर्वको विषय बन्न सक्छ ? अङ्ग्रेजीमा एउटा उखान छ– भेडाले नेतृत्व गरेको सिंहको फौजलाई सिंहले नेतृत्व गरेको भेडाको फौजले हराइदिन्छ । काङ्ग्रेसको नेतृत्वको सवालमा यही उखान चरितार्थ भइरहेको त होइन ? यो एउटा गम्भीर समीक्षाको विषय हो ।
संसदको एकल ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्ने तर तेस्रो ठूलो पार्टीले सत्ता चलाउने ! यो अवस्था कसरी सिर्जना भयो ? यो काङ्ग्रेस नेतृत्वको अदूरदृष्टिको परिणाम मात्र होइन, जनभावनाविपरीत कार्य पनि हो । हिजो ‘गठबन्धनको विरोध गर्नेहरूले पार्टी छोडेर गए हुन्छ’ भन्ने साथीहरू अहिले कता के गर्दै हुनुहुन्छ ? उहाँहरूकै अमूल्य रायले काङ्ग्रेसले चुनाव जितेर पनि पराजित हुन पुगेको छ । काङ्ग्रेसको इतिहास, संस्कार र परम्परामा सत्ताको लागि यति सिद्धान्तहीन, नीतिविहीन र नैतिकहीन गठबन्धन कहिल्यै भएको थिएन । तैपनि हामीले इतिहास जितेका थियौं, राजनीति जितेका थियौं र जनताको मन जितेका थियौं ।
२००७ सालको क्रान्ति काङ्ग्रेस एक्लैले पार लगाएको हो । २०३६ सालमा काङ्ग्रेस एक्लैले पञ्चायतको हाराहारी मत लिन सफल भएको हो । पञ्चायतले जित्नका लागि जालझेल मात्र गरेको थिएन, राष्ट्रिय स्रोत र साधनको व्यापक दुरुपयोगको सहारा पनि लिएको थियो । २०४६ सालको जनआन्दोलन काङ्ग्रेसको अठोट हो । कम्युनिस्टहरू बाममोर्चाको रूपमा काङ्ग्रेसको धरातलमा आएर आन्दोलनमा सरिक भएका मात्र हुन्, कुनै बाध्यकारी गठबन्धन भएको थिएन ।
२०१७ सालपछि पञ्चायत र राजाले ‘अराष्ट्रिय तत्व’ भनी ज्यानमारा यातना दिएकै भरमा कम्युनिस्टहरूले ‘प्रमुख दुश्मन’ भन्दै घृणा र गालीगलौज फैलाउँदा पनि काङ्ग्रेस एक्लैले लोकतान्त्रिक आन्दोलनको महायज्ञ चलाएको हो । तर अब आफैले ल्याएको व्यवस्थामा काङ्ग्रेस कसैको अडेस, सहारा र बैशाखीमा आश्रित नभै टिक्न नसक्ने अवस्थामा पुगेको हो त ? इतिहास जितेर आएको र जनाधारका हिसाबले पनि सबैभन्दा बलियो रहेको आजको काङ्ग्रेसको नेतृत्व कम्युनिस्टहरूको लहै लहैमा किन बग्न खोजेको हो ? काङ्ग्रेसीहरूले नै बुझ्न सकिरहेका छैनन् ।
अहिलेको अवस्थामा नेपाली काङ्ग्रेसले केही समय एक्लै रहेर आफ्नो ताकत र क्षमताको परीक्षण गर्ने हिम्मत र अठोट लिनु वाञ्छनीय थियो । हतास र आत्मसम्मानमा चोट बोकेर पाएको कुनै एउटा पदले मात्र (त्यो पनि टुङ्गो छैन) नेपाली काङ्ग्रेसको आत्मसम्मान सगौरव फिर्ता होला त ? प्रश्न भविष्यलाई छोडिदिऔं ।