नवराज घिमिरे
काठमाडौं, १२ माघ ।
मंगलबार काठमाडौंको मुटुमा एउटा हृदयविदारक घटना घट्यो । इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यले बानेश्वरस्थित संघीय संसद भवनअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरे । आगो दनदन दन्किन थाल्यो । आगो दन्किएपछि उनी पीडाले चिच्याउँदै जमिनमा ढले । उनको शरीर सुकेको काठजस्तो जलिरह्यो तर नजिकै रहेको प्रहरी मुकदर्शक बन्यो । उनीहरूले तत्कालै आगो निभाउनतिर अग्रसर देखिएनन् बरू भीआईपीको सुरक्षा व्यवस्था मिलाउन तल्लिन देखिए । सम्भवतः अचानक भएको घटनाले के गर्ने वा के नगर्ने भनेर प्रहरीहरू पनि केही अलमलमा परेका हुन सक्छन् । प्रहरीहरू अलमलमा परिरहँदा प्रेमप्रसाद भने जलिरहे । उनलाई बचाउन मानिसहरू उनको छेउ पुग्दा धेरै ढिला भइसकेको थियो ।
ढिलैगरी भए पनि आगो नियन्त्रणमा लिएर उपचारार्थ तत्काल उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल पठाइयोे । शरीरको लगभग ८० प्रतिशत भाग जलिसकेको अवस्थामा अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा बुधवार निधन भयो ।
देशमा गणतन्त्र आएको छ । देश बदल्छु भनेर दश वर्ष जनयुद्ध गरेर आएका सुप्रिमो कमाण्डर प्रचण्ड देशका प्रधानमन्त्री छन् । बेथिति र भ्रष्टाचारको अन्त्य गर्ने भनेर गएका नयाँ पार्टीका युवा मन्त्रीहरू देशको शासन सत्तामा छन् । तर उनीहरूकै नाकमुनि एउटा होनहार युवाले देशको बेथिति र कुशासनबाट थिचिएर, पिल्सिएर निराश भएपछि सिङ्गो संसदलाई साक्षी राख्दै आत्मदाह गरे । प्रेमप्रसादले आत्मदाह गरे भन्दा पनि किन गरे भन्ने सन्दर्भ महत्वपूर्ण हो । आगो प्रेमप्रसादको शरीरमा लागे पनि यसको रापले सरकारलाई पोल्नुपथ्र्यो, पोल्यो कि पोलेन, भोलिका दिनले देखाउने छ ।
आत्मदाह गर्नुअघि प्रेमप्रसादले सामाजिक सञ्जालमा प्रेषित स्टाटसले भने धेरैको मथिङ्गल हल्लाउने छ । स्टाटसमा उनले बाच्नका लागि आफूले गरेका सङ्घर्ष र हण्डरलाई सविस्तार वर्णन गरेका छन् । त्यस फेहरिस्तमा उनले स्वदेशमा नै केही गरेर देखाउने उत्साह बोकेका उनी कसरी आत्मदाहको स्थितिसम्म पुगे भन्ने कुरालाई उदाङ्गो पारिदिएका छन् । आफ्नो देशमा नै बसेर केही गर्छु भन्ने युवालाई कसरी जल्न बाध्य बनाइन्छ भन्ने कुरालाई उनले यसरी उल्लेख गरेका छन् कि पढ्दा सबैको आङ सिरिङ्ग मात्र हुँदैन, दृश्यमा प्रेमप्रसादले आफ्नै हातले आगो लगाएको देखिए पनि अदृशय रूपमा उनलाई हत्या गर्न प्रोत्साहन गर्ने धेरैको हात रहेको देखिन्छ । अनि अनुमान लगाइन्छ– वास्तवमा यो आत्महत्या होइन, हत्या नै रहेछ ।
यस घटनापछि सरकारले आफू भएको प्रत्याभूति कसरी गराउँछ, त्यो हेर्न बाँकी छ । नागरिक अगुवाहरूले यस घटनालाई कसरी लिन्छन्, त्यो पनि हेर्न बाँकी छ । अझ नयाँ नयाँ स्टण्ड गरी आफू हिरो हुन खोज्ने कालोकोटधारीहरूले प्रेमप्रसादले नाम नै उल्लेख गरेका व्यक्ति र व्यापारिक घरानाहरूलाई पनि आत्मदाह गर्न दुरुत्साहित गरेको भनेर मुद्दा हाल्छन् कि हाल्दैनन् होला, त्यो पनि हेर्न बाँकी छ । यस दुःखद् घटनाले धेरै मुद्दाहरू उठाएको छ, यिनीहरूको न्यायिक निरूपण कसरी हुन्छ, त्यो सबै हेर्न र सुन्न बाँकी छ ।
तर, बुढी मरीभन्दा पनि काल पल्कियो भन्ने कुराले समाज पिरोलिएको छ । प्रेमप्रसादका विषयमा जति शोक वा करुणा व्यक्त गरे पनि अब उनी आउने छैनन्, यो पक्का हो । तर प्रेमप्रसादले उठाएका मुद्दाहरू स्थापित हुनुपर्छ । उनले आफू मेटिएर भए पनि आफ्नो मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चाको विषय बनाउन अग्निसमाधि लिने स्थान संसद भवनअगाडि रोजेका हुन् । भयो पनि त्यस्तै । प्रेमप्रसादले चाहेजस्तै उनले उठाएको मुद्दाहरू मिडियाहरू र सामाजिक सञ्जालमा चर्चित पनि भए । राज्य गम्भीर बनोस् र उनले भनेजस्तै अरू प्रेमप्रसादहरूले उनकोजस्तो नियति भोग्नु नपरोस् तथा केही व्यापारिक घरानाको कब्जाबाट देशलाई मुक्त गरियोस् भन्ने सन्देश दिन उनको स्टाटस पर्याप्त छ ।
मुलुकभरि दैनिक रूपमा आत्महत्याका कयौं घटनाहरू घटिरहेका हुन्छन् तर ती घटनाहरूले मिडियामा यस रूपमा कभरेज नपाउँदा धेरै प्रेमप्रसादहरूका आवाजहरू त्यस्सै ओझेलमा पर्ने गर्छन् । लोकतन्त्रमा पनि प्रेमप्रसादले जस्तो मिडिया कभरेज नपाउने अरू धेरै युवा प्रेमप्रसादहरू आफ्ना अनगिन्ती सपनाहरूसँगै बिलाएर जान बाध्य छन्, यो दुःखद् पक्ष हो । स्वदेशमा नै केही गर्न चाहने युवा उद्यमीलाई सम्बोधन गर्न राज्य किन सक्तैन ? नागरिकले आफ्नो सरकारलाई आफ्ना पीडाहरू सुनाउन वा देखाउन आत्मदाहकै बाटो किन रोज्नुपर्छ ? यी केही अनुत्तरित प्रश्न हुन् । प्रेमप्रसादको माग ठूला र असम्भव थिएनन्, राज्य अन्धो र बहिरो बनिदिँदा उनले राज्यको ध्यानाकर्षण गर्न गलत बाटो रोजे । एउटा प्रेमप्रसादको उचित आवाजलाई समयमा नै सुनिदिएको भए त्यसभित्र अरू धेरै प्रेमप्रसादहरूको भावना र सम्भावना समेटिने थियो ।