अनाम शर्मा
काठमाडौं, २५ माघ ।
लोकप्रिय सञ्चारकर्मीका रूपमा पहिचान बनाएर चर्चित बनेका रवि लामिछाने अचानक राजनीतिमा आए । उनले राजनीतिक पार्टी दर्ता गरी औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेको ६ महिना नपुग्दै भएको निर्वाचनमा चितवन–२ बाट अत्याधिक मत ल्यायी निर्वाचित पनि भए । पहिलो प्रयासमा नै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय राजनीतिमा चौथो स्थान हासिल गर्न सफल भयो । त्यसपछि रवि प्रचण्डको नेतृत्वमा बनेको सरकारमा उपप्रधानसहित गृहमन्त्री बने । नयाँ पार्टी दर्ता भएको ६ महिनाभित्र यति उचाइ पाउने रवि सम्भवतः पहिलो नेपाली राजनीतिकज्ञ हुनपुगे ।
जुधारु स्वभावका र फरक ढङ्गले काम गर्न रुचाउने रवि गृहमन्त्री भएलगत्तै जेजस्ता कामहरू गर्न आरम्भ गरे र संसदको रोष्टममा उभिएर उनले जेजस्तो भाषा बोले, त्यसले सत्ता र शक्तिको आडमा मुलुकलाई दोहन गर्न पल्केकाहरूको निद्रा हराम भयो । रविको गति नरोक्ने हो भने धेरैको धोती खुस्कने अनुमान लगाएपछि गृहमन्त्री बनेको एकहप्ता नबित्तै एउटा संगठित झुण्ड उनीविरुद्ध षडयन्त्र गर्न हात धोएर लागिपर्याे । त्यसमा पुराना भनिएका पार्टीको पनि स्वार्थ मिलेपछि रविविरोधी अघोषित गठबन्धन बलियो बन्नपुग्यो ।
नागरिकताको विषय त निहुँ मात्र थियोे, सिध्याउन खोजेको त नयाँ उदयीमान शक्तिलाई थियोे, रवि प्रवृत्तिलाई थियो । अहिलेसम्म आर्जन गरेको शान, मान र विरासत भत्किने र धेरैको पोल खुल्ने तथा जनताका नजरमा पनि नाङ्गिनुपर्ने भएपछि स्वार्थ मिल्नेहरू रविविरुद्ध गोलबद्ध हुनपुगेका हुनसक्छन् ।
षडयन्त्र गर्ने आधार रविले नै उपलब्ध गराइदिएका थिए । रविजस्तो चलाख व्यक्तिले अमेरिकन नागरिकता त्यागेको एउटा सानो निस्सा सम्बन्धित निकायमा पेश गरेको भए आजको यो स्थिति आउने थिएन । एमाले अध्यक्ष केपी ओलीका भाषामा ‘प्रक्रियागत त्रुटि’ भएका कारण विरोधीहरूले उनीविरुद्ध धावा बोल्ने अवसर पाए । सर्वोच्च अदालतले रविलाई दोषी मानेपछि नेपाली नागरिकका आधारमा उनले पाएका सबै पद एकैचोटी चट भए । रविले सबै पद गुमाउन पुगेपछि एउटा गिरोहले काठमाडौंको एक पाँचतारे होटलमा रक्सी–पार्टी गरेको चर्चा पनि सामाजिक सञ्जालमा बाहिरियो । यदि चर्चा सही थियो भने त्यो कर्म गलत थियो ।
संसदमा आशाका केन्द्र थिए रवि
केही गलत मनसाय बोकेका व्यक्तिहरूका लागि रविको व्यक्तित्व बिझाउने प्रकृतिको भए पनि आम नेपालीका लागि उनी आशा र भरोसाका केन्द्र थिए र छन् पनि । उनलाई संसदको ढोका खोलिदिने चितवनबासीका लागि मात्र होइन, सिङ्गो देशबासीका लागि रवि नयाँ सम्भावनाका रवि बनेका थिए । उनको काम गर्ने शैली र उनको अभिव्यक्तिबाट भयभीत झुण्डहरूको समूहको मिलिभगतमा उनी अभिमन्युझैं बनाइए । राजनीतिक रणभूमिमा षडयन्त्रपूर्वक लडाइएका रविलाई उठ्न नदिनका लागि दुर्योधनको शिविरमा बसेर उनीहरू अझै पनि षडयन्त्रका अनेक तानावाना बुनिरहेका हुनसक्छन् । तत्कालका लागि रविलाई पद र शक्तिबाट धराशायी बनाउन उनीहरूले बनाएको चक्रव्युह सफल भयो होला तर राजनीतिमा एकपल्ट लडेको व्यक्ति पुनः उठ्न सक्तैनन् भन्ने छैन ।
यो झुण्ड मुद्दा केन्द्रित थिएन । थियो भने त रविको भन्दा बढी सङ्गिन मुद्दा भएका व्यक्तिहरू अहिलेकै सरकारमा, प्रतिपक्षमा, नागरिक समाजमा जताततै विराजमान छन् तर उनीहरूका विरुद्धमा कोही बोलेका छैनन्, मिडियाले पनि हेडलाइन बनाएका छैनन् र मुद्दा पनि परेका छैनन् । सम्भवतः उनीहरूबाट ‘उनीहरू’लाई कुनै खतरा हुनेवाला लाग्दैन । रवि पनि राजनीतिमा नआएर मिडिया सञ्चालन गरेरै बसिरहेका भए उनको नागरिकता वा पासपोर्टको कुरा कसैले उठाउने थिएनन् । यो उनीहरूको चासोको विषय हुने थिएन । तर गृहमन्त्रीका रूपमा रविको गतिविधिले आफू असुरक्षित हुने ठानेपछि उनीहरू रविविरुद्ध खनिएका हुनसक्छन् । भाषामा विधिको शासनको मर्मको रक्षाका लागि चालिएको कदम भनिए पनि भित्री रहस्यका रूपमा आफ्नै सुरक्षार्थ बुनेको तानावाना थियो भनेर बुझ्न गाह्रो छैन ।
सरकारबाट रास्वपाको बर्हिगमन तथा रविको पत्रकार सम्मेलन
अदालतमा कर्तव्य ज्यानको मुद्दा चलिरहेका व्यक्तिलाई सभामुख बनाउन सक्ने प्रचण्डले रास्वपाको भागमा परेको गृह मन्त्रालय पुनः त्यही पार्टीलाई दिन भने रचि देखाएनन् । उनलाई केही दवाव पनि थियो होला र केही आन्तरिक भय पनि । गृहमन्त्री बनेको ३२ दिनमा रविले गरेको आन्तरिक गृहकार्य र त्यसले भोलिका दिन पार्न सक्ने प्रभावलाई मूल्याङ्कन गरेका प्रधानमन्त्री प्रचण्डले त्यो जोखिमबाट जोगिन र जोगाउन रविलाई पन्छाउने बाहना पाए । प्रचण्डको अभीष्ट बुझेर रविले पार्टीको मिटिङ गराएर सर्वसम्मत रूपमा सरकार छोड्ने निर्णय गरे ।
पार्टी सरकारबाट बाहिरिने निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा रविले पार्टीको निर्णय मात्र सुनाएनन्, नेपालका केही मिडिया सञ्चालक र सम्पादकहरूको नियत उनीप्रति सकारात्मक नभएको दुखेसो पनि पोखे । उनले केही मिडियाहरूले शक्तिको आडमा गलत काम गर्ने गरेको भन्दै केही मिडिया र सञ्चालकहरूको नामै लिएर उनले आफूविरुद्ध लागिपरेको बताए । ती मिडियाहरूले उनलाई गिराउन आफूले चार वर्ष अगाडि सञ्चारमाध्यमबाट भनिसकेको नागकितासम्बन्धी विषयलाई अतिरञ्जित रूपमा उछाल्ने काम गरेको भनेर आक्रोशपूर्ण शैलीमा प्रस्तुत भए । उनको अभिव्यक्तिले राज्यको चौथो अङ्गप्रति पक्कै पनि शङ्का र संशय पैदा गरिदियो ।
नेपाली राजनीतिमा सम्भावना बोकेको नयाँ पार्टीका सभापतिको हैसियतले र एउटा पूर्व उपप्रधानसहित गृहमन्त्री भइसकेको व्यक्तिले पद खुस्किएको आवेगमा सार्वजनिक कार्यक्रममा त्यस्ता कुरा बोल्नु हुन्थ्यो कि हुन्नथ्यो भन्ने बारेमा अनेक तर्क वितर्क गर्न सकिएला तर उनले पत्रकारहरूलाई फोटो देखाइ देखाइ, डकुमेन्ट देखाइ देखाइ भनेका कुराहरूमा दम रहेछ भने चाहिँ ‘उनीहरू’लाई कार्वाहीको दायरमा ल्याइन्छ कि ल्याइँदैन होला ? कि कानुनको पालना, नैतिकताको पालना र पदीय गरिमाको पालना रविले मात्र गरिदिनु पर्ने हो ? नेपाली जनता सरकारको प्रतिक्रिया पर्खेर बसेका छन् । यद्दपि रविले उठाएका सवालहरूलाई पुष्टि गरेर देखाउन सरोकारवालाहरूले विज्ञप्तिमार्फत चुनौती दिइसकेका छन् ।
एउटा तीतो सत्य के पनि होला भने– नेपालको राजनीतिमा रविको छवि र लोकप्रियता धेरैका लागि आत्मसम्मानमा लागेको चोटको विषय बनेको हुनसक्छ । हिजो रविलाई पत्रकारै होइन भन्नेहरू, राजनीति रविले सोचेजस्तो सजिलो छैन भन्नेहरूले दल दर्ता गरेको ६ महिनामा नै उनी उपप्रधानसहित गृहमन्त्री बनेको कसरी सहन सक्थे र ? त्यसमाथि रविले भ्रष्टहरूको लिष्ट नै बनाएको र केही समयपछि धेरैको भेद खुल्ने आशयको अभिव्यक्ति दिएपछि धेरैको निन्द्रा हराम भएको हुन सक्थ्यो । त्यसपछि कुनै समूह रविलाई सिध्याउन हात धोएर लागिपरेको हुनसक्छ ।
मूलधारका भनिएका मिडियाहरूले पनि रविलाई हदैसम्म पेलेकै हुन् । प्रक्रियागत त्रुटि भएको अवस्थाबाहेक उनले नागरिकता र पासपोर्टको दुरुपयोग गरेको, शक्ति र प्रभावको दुरुपयोग गरेको वा आर्थिक चलखेल गरेको दावी कसैले गर्न सकेनन् । स्वदेशमा नै बसी केही गर्ने ऊर्जा लिएर अमेरिकाजस्तो देशबाट फर्केर आएको व्यक्तिलाई अन्तर्राष्ट्रिय अपराधीलाईझैं गरेर दैनिक रूपमा हेडलाइन बनाइयो तर रविले गृहमन्त्रीको रूपमा छोटो अवधिमा नै गरेका उल्लेखनीय कामको चर्चा खास्सै गरिएन । यस्तो अवस्थामा उनले मन दुखाउनु अस्वाभाविक थिएन । क्रियाको प्रतिक्रिया हुन्छ, भएको यत्ति हो । के चौथो अङ्गले खोजेको उपचार विधिचाहिँ सही थियो त ? के रविबाहेक सबै नियम, कानुन र विधिसम्मत चलेका छन् त ? मिडियाले पनि आत्मसमीक्षा गर्दा राम्रो होला । जनस्तरबाट भेद र पोल खोल्ने क्रम आरम्भ भयो भने भविष्यमा को कति नाङ्गिन्छन्, समयले देखाउला ।