नीरोको भूतको छायाँ नेपालका शीर्ष नेताहरूमा

रोमन साम्राज्यका सम्राट नीरोको कथा घतलाग्दो छ । देश र जनताप्रति उत्तरदायी हुनुपर्ने नेताहरू जब व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठ्न सक्तैनन्, तब इतिहासमा विलुप्त भइसकेका रोमका निरङ्कुश सम्राट नीरोको स्मरण हुन्छ । आज नेपालका सन्दर्भमा पनि तिनै नीरोको स्मरण भइरहेछ ।

कस्तो छ त उनको कथा ?
सन् ५४ देखि ६८ सम्म नीरो रोमन साम्राज्यका सम्राट बने । उनले १७ वर्षको कलिलो उमेरमा नै सम्राट बन्ने सौभाग्य पाएका थिए । उनलाई रोमन साम्राज्यको सम्राट बनाउनमा उनकी आमा ऐग्रिप्पिनाको ठूलो भूमिका रहेको थियो भनिन्छ । आरम्भमा नीरोको शासन व्यवस्था ठीकै रूपमा चलेको थियो तर जब जब समय बित्तै गयो, सम्राट नीरो क्रुर र अत्याचारी बन्दै गए । उनको शासन व्यवस्थामा प्रश्न उठाउन पाइँदैनथ्यो । आफ्नै आमाले सम्राट बनेका छोराको राज्य व्यवस्थाप्रति प्रश्न उठाउन थालेपछि नीरोले आफ्नै आमाको पनि हत्या गरिदिएका थिए, जसले उनलाई रोमनको सम्राट बनाउन अनेक प्रपञ्च मिलाएकी थिइन् ।



समय बित्तैजाँदा नीरो झनझन विलासी र अत्याचारी बन्दै गए । उनी यतिसम्म क्रूर बने कि उनको शासन व्यवस्थामा विमति राख्ने आमाको मात्र होइन, श्रीमती, भाइ, गुरु, प्रशासक सबैको निर्ममतापूर्वक हत्या गरिदिए । उनको अत्याचार र गैह्रजिम्मेवारीपनले सन् ६४ सालमा उत्कर्ष रूप लिनपुग्यो । त्यस वर्ष रहस्यमय रूपमा रोम शहरमा आगो लाग्यो । आगजनीका कारण रोम शहर जलिरहेको थियो, सयौंको संख्यामा नागरिकहरू पनि हताहत भएका थिए तर रोमन सम्राट नीरो भने आगोको लप्का हेरेर आनन्दले बाँसुरी बजाइरहेका थिए रे !

त्यसैबेलादेखि आफ्नो जिम्मेवारी नबुझ्ने शासक/प्रशासकहरूप्रति व्यङ्गय गर्दै भन्न थालियो– रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछन् ।नीरोकालीन रोम र आजको नेपाललाई तुलना गर्ने हो भने कता कता के के मिलेजस्तो अनुभूति हुन आउँछ, गैह्रजिम्मेवार शासक नीरोको भूतको छायाँ नेपालका नेताहरूमा परेको प्रत्याभूति हुन्छ ।

नेपालमा अहिले आर्थिक अपराध र पदको दुरुपयोग गरेका ठूला ठूला घटनाहरू न्यायिक निरूपणका पर्खाइमा छन् । नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड, श्रृङ्लाबद्ध रूपमा भइरहेका सुन काण्ड, वाइड बडी काण्ड, गिरीबन्धु टी इस्टेट काण्ड, यति/ओम्नी काण्ड, दमकको जग्गा अनियमितता काण्डलगायत थुप्रै काण्डहरू न्यायिक समाधानको पर्खाइमा छन् । लामो यात्रा गरेर न्यायको आशामा काठमाडौं आइपुगेका मिटरव्याज पीडितहरूको आँसु देखेर सिङ्गो देश दुखी बनेको अवस्था छ । तर देशका प्रधानमन्त्रीदेखि ठूला दलका शीर्ष नेताहरूलाई यी समस्याहरूप्रति खास्सै चासो देखिँदैन । उनीहरू कोही सत्ता जोगाउन कम्मर कसेर लागेका छन् भने कोही सत्तामा पुग्ने ध्याउन्नमा छन् । उनीहरूलाई देश र जनताका कुरा सुन्ने फुर्सत नै कहाँ छ र ?

ढिलै गरी भएपनि जनताले बुझेको कुरा के हो भने प्रचण्ड, ओली र देउवा भन्नु थर मात्र फरक हो, आचरण, व्यवहार र दृष्टिकोणमा तीनैजनामा केही फरक छैन । उनीहरूका पछि रहेको राजनीतिक पार्टी देखाउने दाँत मात्र हो । तीनैजनालाई आजीवन अध्यक्षको पद चाहिने भएर मात्र हो, नत्र तीनवटै पार्टी एकीकरण गरिदिए हुने हो । पटक पटक नेतृत्वको अवसर पाएर पनि देश र जनताका पक्षमा केही गर्न नसक्ने तर चुक्ली र षडयन्त्रमा महारत प्राप्त यी तीनजनामा जो प्रधानमन्त्रीको कुर्सीमा बसे पनि जनतालाई केही तात्विक फरक पर्नेवाला छैन । यिनीहरूबाट अझै पनि केही उल्लेखनीय कार्य होला कि भनेर आशा गर्नु भनेको बालुवा पेल्दा तेल निस्कन्छ भनेर भाँडो थाप्नुजस्तै मात्र हो ।

कुनै बेला झण्डै दुई तिहाइ जनमतसहित प्रधानमन्त्री बनेका खड्गप्रसाद ओलीले देश र जनताको पक्षमा एउटा पनि विधेयक संसदमा पेश गर्न सकेनन् । उनले जनताको घरघरमा ग्यासका पाइप जोडिदिनेदेखि नेपालमा पानीजहाज चलाउनेसम्मका गफ दिए तर एउटा पनि सम्झनयोग्य काम गरेनन् । आफ्नो कार्यकालमा उनी बडामहाराजधिराज झैं बन्न पुगे । विधि पद्धतिलाई धज्जी उडाए । उनकै कार्यकालमा भ्रष्टाचार र बेथितिले उत्कर्षता प्राप्त गर्यो । उनी सर्वेसर्वा हुन खोज्दा बालुवाटारबाट बालकोट सरुवा भए ।

देउवा पाँचौ पटक प्रधानमन्त्री बनिरहँदा अघिल्ला चार कार्यकालमा लागेका दाग धुने र गफाडी ओली असफल हुनुका कारण पहिल्याएर त्यसको निरुपण गर्दै लोकप्रिय बन्ने अवसर प्राप्त थियो तर उनले पनि माखो मारेनन् । गम्भीर होमवर्क गरेर आफ्नो नेपाली काङ्ग्रेस पार्टीको साखलाई उठाउने अवसर पाएका उनले प्रधानमन्त्री बनेको ४÷५ दिनसम्म भक्तहरूलाई लाइन लगाएर सलामी खाएर समयको बर्बाद गरिरहे । उनले पार्टीभित्रका राम्रा विचारहरूलाई पाखा लगाएर केही थान दिशाहीन व्यक्तिहरूलाई वरिपरि राखेर उनीहरूले स्वार्थबस् गरेको जय गानमा मख्ख परिरहे । कागले कान कोट्याएको हो कि रगत चुसेको हो भन्नेसम्म थाहापाउन सकेनन् र अन्ततः उनले आफूलाई त्याग र प्रतिभाले होइन, चलखेल र भाग्यले प्रधानमन्त्रीको कुर्सीमा पुगेको प्रमाणित गरिदिए ।

शून्य सहनशीलता र सुशासनका नारा घनकाउँदै प्रम बनेका पुष्पकमल दाहालले पनि प्रधानमन्त्री बनेर जनतालाई सुशासनको प्रत्याभूति गराउनु र उनीहरूको अवस्था परिवर्तन गर्ने कार्य गर्नुभन्दा दिल्लीमा बसेर नेपालमा जनयुद्ध गर्नु नै सजिलोरहेछ भनेर प्रमाणित गरिदिए । उनले भ्रष्टाचारका केही फाइल त खोलेजस्तो गरे तर आफ्ना मान्छे पनि पर्ने भए पछि ‘तैं चुप, मैं चुप’ को अवस्थामा पुगे । अहिले पनि भ्रष्टाचारका जति फाइल खोलिँदैछन्, ती ओली, देउवा, नेपाल आदिसँग बार्गेनिङ पावर बढाएर सत्तामा टिकिरहने खेल मात्र सावित हुनेछन् । कारवाहीकै तहसम्म पुर्याउने उनको लक्ष्य नै होइन । जुन जोगी आए पनि कानै चिरेको !

अनन्त समस्याका चाङमा बसेर सत्ताको बार्गेनिङ मात्र गरिनुलाई कसरी पुनीत उद्देश्य मान्न सकिन्छ र ? जनता महङ्गी, अभाव र समस्याहरूको राप र तापमा जलिरहँदा नेताहरू भने अनदेखा गरिरहेछन् । मन्त्रीहरू विलासी गाडीमा सवार हुँदै भुइँमान्छेहरूलाई गैह्रजिम्मेदार अभिव्यक्ति दिइरहेछन् । अनि त फेरि सम्झन मन लाग्छ– तत्कालीन रोमन सम्राट नीरोलाई ।

सम्बन्धित समाचार