नवराज घिमिरे
काठमाडौं, २१ चैत ।
विगत १८ वर्षदेखि सिसडोलमा अव्यवस्थित रुपमा विर्सजन गर्दै आएको काठमाडौं उपत्यकाको फोहोरमैला केही वर्षदेखि बन्चरेडाँडामा थुपार्दै आए पनि फोहोर विसर्जन कार्य व्यवस्थित हुन सकेको छैन । स्थानीयहरू फोहरमैला व्यवस्थित रूपमा विसर्जन गराउने कार्यमा महानगर चुकेको र यसले भविष्यमा नयाँ समस्या निम्त्याउन सक्ने भन्दै गुनासो पोख्ने गर्छन् ।
काठमाडौं उपत्यकाको फोहोरमैलाको उत्पादन बर्सेनी एक सय टनभन्दा बढीले बढिरहेको छ । काठमाडौंमा दिन प्रतिदिन आबादी बढ्ने गरेको र आसपासका ग्रामीण बस्तीहरु पनि सहरमा परिणत हुँदै गएपछि त्यहाँबाट निस्कने फोहर पनि बृद्धि भएको हो । काठमाडौं र ललितपुरमा उत्पादित फोहोरमैला व्यवस्थापन गर्न बन्चरेडाँडामा निर्माण गरिएको ल्याण्डफिल साइटको अस्तव्यस्ताले अबको ४-५ वर्ष धान्न पनि गारो हुने देखिन्छ । यसरी बन्चरेडाँडो फोहोरहरूका पहाडमा परिणत हुँदै गइरहेकोले यसले चाँडै वैकल्पिक ठाउँको खोजी गर्न महानगरहरूलाई घचघच्याइरहेको भान हुन्छ ।
सरकारले बन्चरेडाँडा साइट निर्माण गर्दा ५०औं वर्षसम्म प्रयोग गर्न सकिने भनेको थियो । तर सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको लापरर्वाही र असक्षमताका कारण बन्चरेडाँडा पनि सिसडोलजस्तै फोहोरको पहाड बन्दै छ ।
फोहोर थुर्पान शुरु गरेको ८ वर्ष नपुग्दै बन्चरेडाँडा साइटको सेल १ भरिइसकेको छ भने सेल २ को अवस्था पनि त्यस्तै छ । बन्चरेडाँडामा २०७२ साउनदेखि फोहोर फाल्न थालिएको हो । त्यति बेला काठमाडौंबाट दैनिक ११ सय टनको हाराहारीमा फोहोर निस्कन्थ्यो । हाल आएर १४ सय टन उत्पादन हुन पुगेको छ । श्रोतमै कुहिने र नकुहिने फोहर छुट्याउने भने पनि सबै प्रकारका फोहोरहरु बन्चरेमा नै लगिँदा यति चाडै भरिने अवस्था आएको फोहोरमैला व्यवस्थापन संघको भनाइ छ ।
त्यहाँको अवस्था हेर्दा बन्चरेमा पनि सिसडोलकै नियति दोहोरिनेमा कुनै शङ्का छैन । अव्यवस्थित फोहरमैलाका कारण पीडित स्थानीयहरु बाँच्न पाउने अधिकार खोज्दै सिंहदरवार धाउन थालेको पनि दशकौ भइसक्यो तर पनि सिंहदरवारले उनीहरुको आवाज सुनेको छैन । बरु उल्टै प्रहरी प्रशासन लगाएर दमन गर्नतिर लाग्छ । आफ्नो दुखेसो सुनाउन सिंहदरबार पुगेका पीडित नागरिकलाई राहतको प्याकेज दिनुको साटो पानीका फोहोरा र अश्रुग्यास प्रहार गरी घाइते बनाउँछ । नागरिकले दैनिक भोगिरहेको पीडालाई सरकारले नसुने उनीहरू आफ्नो पीडा सुनाउन कहाँ जाने त ?
पहिलेको सिसडोलजस्तै अहिले बन्चरेडाँडाको अवस्था पनि दिनानुदिन विकराल बन्दै गएको छ । ल्यान्डफिल साइट बरपर चिल—गिद्ध घुमिरहन्छन् । तिनीहरुले बन्चरेडाँडा वरपरका घरको कौसी, बरण्डा र आगनहरुमा मरेका जनावरहरुको सिनो झार्ने समस्याले स्थानीयबासीहरू हैरानी बनिसकेका छन् । गर्मी सिजन शुरुभएसँगै हैजा तथा महामारी फैलिने डरले स्थानीयवासी त्रसित छन् । स्थानीय ठाकुर घिमिरे भन्छन् ‘फोहोरको दुर्गन्धले घरमा बसेर खानाखान समेत सकिँदैन । बाहिर हिँड्डुल गर्न पनि मुस्किल छ । मर्नु न बाच्नुको अवस्था भोगिरहँदा पनि राज्यले देखेन । राज्यले नै हाम्रो मानव अधिकार हनन् गर्यो । नागरिकको जिउ–धनमाथि खेलवाड गरियो ।’
लिचेडको समस्या र स्थानीय निकायको आरोप प्रत्यारोप :
बन्चरेडाँडामा थुप्रिएको फोहोरको रस (लिचेड) ले कोल्पुखोला प्रदूषित हुँदैछ । लिचेड जम्मा गर्न कोल्पुखोला नजिक दुईवटा पोखरी बनाइएका थिए तर ती पोखरी पनि भरिइसकेका छन् । पोखरी भरिएपछि लिचेड खोलामै मिसिँदै छ । त्यही खोलाको पानी धान, गहुँ तथा तरकारी खेतीहरुमा लगाइन्छ साथै पशु चौपाएहरुलाई समेत खुवाइन्छ । यसले भयानक रोगको निम्त्याउँदैै छ । त्यतातिर राज्यको ध्यान पुगेको देखिँदैन ।
स्थानीयहरूको अनुरोधमा स्थलगत अध्ययन गर्ने क्रममा सञ्चारकर्मीहरु बन्चरेडाँडा पुग्दाँ त्यहाँको सशस्त्र प्रहरीले माथिको आदेश भन्दै गेटबाट प्रवेश गर्न नै दिएन । अव्यवस्थित रुपमा थुपारिएको फोहोरको फोटो खिच्न र बगिरहेको कोल्पुखोलाको लिचेडको भिडियो बनाउन पनि रोक लगाइयो । स्वयम् म पनि सञ्चारकार्मीहरुलाई रिपोर्टिङ् गर्न नदिई गेटबाटै फर्काएको साक्षी बन्न पुगेँ ।
सञ्चारकर्मीलाई नै ल्याण्डफिल साइटमा प्रवेशमा रोक लगाइएपछि बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारेमा धेरैलाई थाहा नहुन सक्छ । फोहोरको पहाड चुलिँदैै गएको र अनुमान गरिएभन्दा निकै चाँडो भरिने हालतमा पुगेको भने परैबाट प्रस्ट देखिन्छ । यसबारे काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरसँग बुझ्न टेलिफोनमार्फत् कुरा गर्न खोज्दा आफू व्यस्त भएको भन्दै मिडियासँग बोल्न चाहेनन् ।
अहिलेको कानुनी व्यवस्थाअनुसार फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई भएकोले समन्वय गर्न नसकेको उल्लेख गर्दे उनले भने ‘ल्याण्डफिल साइटको जिम्मा काठमाडौं महानगरपालिकाले लिएको छ । तर त्यहाँ काठमाडौं महानगरको मात्र फोहोर जाँदैन । अरु स्थानीय तहसँग समन्वय गर्नपर्ने हुन्छ । यसको निम्ति संयन्त्रको अभाब देखिन्छ ।
आफनो कमजोरी छल्न एकअर्कोलाई दोष लगाउने प्रवृत्तिले काठमाडौं उपत्यकाको फोहोर समस्या छिट्टै समधान हुने छाटकाट देखिँदैन । बन्चरेमा अव्यवस्थित ढंगले थुपारिएको फोहोरले सिसडोलकै नियति दोहोर्याउँदै छ ।
ककनी गाउँपालिको वडा न २ स्थित बन्चरेडाँडाको प्रदूषणबाट बन्चरेडाँडासँग जोडिएका धुनिबेसी नगरपालिकाका केही वडाहरु पनि फोहोरबाट प्रभावित छन् ।
ककनी गाउँपालिकाले सार्वजनिक गरेको पाँच महिना अघिको रेकर्डअनुसार यहाँ ५९ जना दीर्घरोगी छन् । यस्ता दीर्घरोगीहरु ककनी गापाको वडा नं. १, २ र ३ मा बढी भएको जानकारी गराएको थियो । यी वडाहरु ल्याण्डफिल साइटका अति प्रभावित क्षेत्र हुन् । यस क्षेत्रका दीर्घ रोगीहरूमध्ये धेरै जसो क्यान्सरपीडित छन् । पििडतमध्ये ३९ जनामा क्यान्सर प्रमाणित भइसकेको छ । फोहोर थुपारेदेखि हालसम्म क्यान्सरबाट मात्र १० जना भन्दा बढिको निधन भइसकेको तथ्याङ्कले बताउँछ । त्यस्तै १२ जना मिर्गौलापीडित छन् । अन्य जटिल रोगका बिरामीहरु प्नि दिन प्रतिदिन बढ्दैछन् ।
यस बाहेक पनि फोहोर बोकेका ट्रिपरले किचेर १२ जनाभन्दा बढीको ज्यान लिइसकेको छ । ‘हामीले यो नियति कहिलेसम्म भोग्नु पर्ने हो ?’ पत्रकारहरुमार्फत स्थानीयहरु सिंहदरबारलाई प्रश्न गर्छन् ।
कोल्पुखोला आधारक्षेत्र बनाएर बन्चरेडाडाँ ल्याण्डफिल साइट सरोकार समिति निर्माण गरी स्थानीयहरु निरन्तर संघर्ष गर्दै आइरहेका छन् । सरोकार समितीका अध्यक्ष श्रीराम ढुङ्गाना भन्छन् ‘यहाँका जनताको जिउधनको सुरक्षाको लागि निरन्तर लागिरहने बताउँछन् । फोहोर र मान्छे एकै ठाउँमा बस्न नसक्ने भन्दै चैत्र २४ गतेदेखि वार कि पारको आन्दोलन गर्ने जानकारी लिखित रुपमै सरोकारवाला निकायलाई गराएको सरोकार समितिका अध्यक्ष ढुङ्गाना बताउँछन् ।
यहाँका नागरिकप्रति राज्य उदार हुनुपर्नेमा बन्चरेडाँडालाई नजिकबाट नियाल्नेहरू बताउँछन् । नुवाकोटका सांसद अर्जुननर्सिङ्ग केसी पनि फोहरमैलाबाट प्रभावित नुवाकोट र धादिङ्गका जनताको अवस्था अत्यन्तै जर्जर बनेको भन्दै राज्यको ध्यानार्कषण गराउन ससंदमा कुरा उठाए । सांसद केसीले भने– राज्यले त्यहाँका जनतामाथि खेलवाड गरेकोले चैत्र २४ गतेदेखि हुने भनिएको आन्दोलनमा आफू पनि सहभागी हुने बाध्यात्मक अवस्था नआओस् ।’