अनाम शर्मा
काठमाडौं, २ साउन ।
देशमा राजनैतिक माहौल बदलिएसँगै सदनका परिदृष्यहरू पनि परिवर्तित भएका छन् । ‘काङ्ग्रेस बूढो भयो’ भनेर काङ्ग्रेस नेतृत्वको परिहास गर्ने एमाले अध्यक्ष खड्गप्रसाद ओली बूढो काङ्ग्रेसकै बुई चढेर प्रधानमन्त्री बनेका छन् भने ओलीलाई ‘किर्तेप्रसाद’ भनेर व्यङ्ग्य गर्ने गगन थापाहरू उनै ओलीलाई महान् देखेर उनलाई प्रधानमन्त्रीको रूपमा स्वागतका लागि करकमल जोडेर ओली हिँड्ने मार्गमा उभिन बाध्य बनेका छन् । अब यी दुबै खाले खेलाडीहरूको अग्निपरीक्षा आरम्भ भएको छ ।
निवर्तमान प्रतिपक्षी नेपाली काङ्ग्रेस प्रतिपक्षमा रहेका बेला गगन, विश्वप्रकाश र लेखकहरूले देश बर्बाद हुनुको कारक, देश समृद्धशाली नहुनुको कारक, देशमा भ्रष्टाचार र बेथिति बढ्नुको प्रमुख कारक केवल रवि लामिछानेलाई ठाने र उनका विरुद्धमा धावा बोले । उनीहरूले सदनमै रविलाई गृहमन्त्रीको सामान्य मर्यादाको पनि ख्याल नगरी र्याखर्याख्ती पारेर आफ्नो भडास पोखे । उनीहरूले रविलाई बोल्नै नदिई राजीनामाको माग गर्दै लामो समयसम्म सदन अबरुद्ध गरेर गरिमामय सदनको गरिमालाई ठट्टाको विषय बनाए । लोकतान्त्रिक व्यवस्थामा जहाँ प्रश्न उठाइयो, त्यहीँ जवाफ दिन्छु भन्दा पनि त्यो अवसर दिइएन । एउटा जनप्रतिनिधिलाई काङ्ग्रेसले सदनमा उभिएर बोल्न समेत दिएन । बोलेपछि उनका कुरामा असहमति राख्ने अधिकार त काङ्ग्रेससँग थियो नि, बोल्नै नदिनु कस्तो लोकतान्त्रिक पद्दति हो यो ?
अब समय बदलिएको छ । अब लामिछाने सत्तामा छैनन् । देशले मुलुकको विकास र समृद्धिलाई पाँचौं गियरमा गतिशील गराउने प्रधानमन्त्री पाएको छ । अब लामिछानेले अबरुद्ध गरेको समृद्धिको बाटो खुलेको छ, देश विकासको मूल फुटाउनलाई कसैले पनि रोक्ने–छेक्ने छैनन् । अब उनीहरूले सत्ताको बागडोर समातेर दाहाल र लामिछानेले गर्न नसकेका के के काम गरेर देखाउने हुन्, नेपाली जनता जिज्ञासु भएर उनीहरूतिर हेरिरहेका छन् । उनीहरूको हैसियतको मापन गरिरहेका छन् ।
गगन र विश्वप्रकाशहरू सत्तामा पुगेका छन् भने रविहरू प्रतिपक्षमा विराजमान भएका छन् । अब रविहरूसँगै आम नेपाली जनताहरू पनि सरकारलाई प्रश्न गर्नेछन् । हिजो गगन, विश्वप्रकाश, लेखक र पौडेलहरूले सदनलाई नै स्तब्ध हुनेगरी उठाएका प्रश्नहरूको जवाफ अब उनीहरू आफैंले दिनु पर्नेछ । जिबी राई समातिनु पर्ने छ, सहकारीका तमाम समस्याहरू समाधान हुनुपर्ने छ, गिरीबन्धु, बाल मन्दिर, बाँसबारी, नक्कली भुटानी शरणार्थीलगायत खुलेका फाइलहरूमाथि निष्पक्ष रूपमा सूक्ष्म अनुसन्धान आरम्भ हुनुपर्ने छ र भ्रष्टाचारसँग जोडिएका अन्य सबै फाइलहरू पनि खोलिनुपर्ने छ । भ्रष्टाचारमा संलग्न भएको भनेर सार्वजनिक रूपमा नाम आएकाहरू, आम जनताका नजरमा जेलमा कोचिनुपर्नेहरू सरकारमा पुगेका छन्, अब रविहरूले संसदमा उनीहरूका विरुद्धमा आवाज उठाए भने गगन, विश्वप्रकाश, लेखक र पौडेलहरू कस्तो प्रतिक्रिया देखाउलान्, समयको सुई उनीहरूतर्फ फर्किएको छ ।
र, उनीहरूले हिजो सदनभित्र वा बाहिर उठाएका प्रश्नहरू कसैको इर्ष्याबस् वा आग्रहबस् उठाएका थिएनन्, केवल सुशासन र कानुनी राज्यको प्रत्याभूति दिलाउन मात्र गरिएका थिए भनेर उनीहरूले नै प्रमाणित गर्नु पर्ने छ । नत्र हिजो उनीहरूले उठाएको आवाज आर्यघाटको विरक्ति क्षणिक भएझैं प्रतिपक्षमा रहँदा देखाएको देशभक्ति र जनसरोकारका सन्दर्भहरू सरकारमा नपुगुञ्जेलसम्मका लागि मात्रमा सीमित हुनेछन्; र, सत्ताको रसस्वादन गरेपछि उनीहरूको बोली मात्र होइन, प्राथमिकताहरू पनि फेरिने छन् । उनीहरू पराले बेरामा सिमेन्टको लिउन लगाउने प्रयास गर्नेछन् ।
मनोवैज्ञानिक यथार्थ के हो भने, जसलाई मृत्युको सर्वाधिक डर हुन्छ, उही पटक पटक ‘मलाई मृत्युको भय छैन’ भनेर दोहोर्याइरहेको हुन्छ । त्यस्तै, जोजसलाई सत्तामा पुग्नुबाहेक गर्नु केही छैन, उनीहरू नै सुशासन, विकास र समृद्धिका गफ दिइरहेका हुन्छन् । गर्नु नै थियो र गर्ने क्षमता थियो भने त पटक पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका देउवा, दाहाल र ओलीलाई हिजोका दिनमा पनि विकास र समृद्धिका मार्गमा गतिशील हुन केले रोकेको थियो ? र अब चाहिँ यिनीबाट के होला भनेर आशा गर्ने ? आजअगाडि यिनीहरूले पाएको अवसरलाई मूल्याङ्कन गर्नेे हो र प्रमको कुर्सीलाई म्युजिकल चेयर खेलको कुर्सी मान्ने हो भने यसमा जो बसे पनि नेपाली जनताका लागि कागलाई बेल पाके सरह नै हुने हो ।
तथापि, माथिका आरोपहरू मिथ्या सावित गर्ने अवसर ओलीले पुनः पाएका छन् । इच्छाशक्ति भए रत्नाकरलाई कालिदास बन्ने सुअवसर हो यो । चौथो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्न सफल केपी शर्मा ओलीलाई हार्दिक शुभकामना !